आइतवार, अशोज ९, २०७९

मल ल्याउन नसकेका मन्त्री सरकारी वासिङ मेसिन लिएर फरार !


कान्तिपथ


निवर्तमान मन्त्रीहरूले सरकारी आवास गृह छाड्दा आवासका सामान घरतिर लिएर जाने गरेका छन्। मन्त्रीको प्रयोजनका लागि सरकारी सुविधामा आवासमा राखिएका भाँडाकुँडा, पर्दा, पङ्खा, टेलिफोन सेट, प्रिन्टर, वासिङ मेसिनलगायतका सामग्री बहिर्गमन हुँदा उनीहरूले लिएर जाने प्रवृत्ति यस पटक दोहोरिएको छ।

कृषि तथा पशुपक्षीमन्त्री पदबाट बिदा पाएका महेन्द्र राय यादवले पुल्चोकस्थित मन्त्रीनिवास छाड्दा वासिङ मेसिनदेखि अन्य केही सामग्री लिएर गएको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका कर्मचारीले बताएको खबर गोरखापत्रमा राधा चालिसेले लेखेकी छन्।

आवासबाट लैजान नमिल्ने सामान लिएर गएको थाहा पाएपछि सचिवालयले उनलाई ती सामग्री फर्काउन पत्राचार ग¥यो। कार्यालयका स्टोरकिपर पशुपति पोखरेलले पूर्वमन्त्री यादवलाई त्यसबारे जानकारी गराएपछि उनले ती सामान फर्काउने प्रतिबद्धता व्यक्त गरेको बताए।

पूर्वमन्त्री यादवले सरकारी आवास छाडेको एक साताभन्दा बढी भइसक्दा पनि शुक्रबारसम्म ती सामग्री फिर्ता भने गरेका छैनन्। यस विषयमा पूर्वमन्त्री यादवले भने, ‘मेरा सहयोगीले के–के ल्याए, त्यो थाहा भएन। सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयका कर्मचारीले भनेपछि त्यहाँका केही सामान मकहाँ आएको भए लिस्टअनुसार फिर्ता गरिदिनू भनेर सहयोगीहरूलाई भनेको छु।‘

उनले आफू स्थानीय तह निर्वाचनका बखत उपत्यकामा नहुँदा वासिङ मेसिन बिग्रिएर बनाउन सहयोगीले बाहिर लगेको दाबी गरे। तर त्यस्ता सामग्री बिग्रिएमा कार्यालयलाई जानकारी गराउनुपर्ने र त्यहीँबाट मर्मत गर्न लगाउने व्यवस्था रहेको छ। पूर्ववनमन्त्री रामसहाय यादवले पनि आवास छाड्दा सरकारी प्रिन्टर नभेटिएपछि सचिवालयले सोधखोज गरेको थियो।

पछि वन मन्त्रालयका स्टोरकिपरले प्रोजेक्टरसँगै लगेको थाहा पाएपछि सचिवालयमै फिर्ता गरिएको छ। मन्त्री यादवका छोरा शत्रुघन यादवले आफूले क्वार्टरमा बुझाउनुपर्ने सबै सामान रुजु गरेर बुझाएको बताए। उनी मल ल्याउन नसकेर आलोचित भएका थिए ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत