शुक्रबार, अशोज २१, २०७९

रोपाइँ गर्न पालोपर्म


कान्तिपथ



न मालिक भन्ने छुट्टै सान छ, न बस्तीमा गरिब भनेर कसैप्रति हेला । घटीबढी जग्गा हुने र भूमिहीन किसान पनि छन् बस्तीमा तर खेतीका बेला यहाँ सबैका खेतमा काम गर्न बस्तीका ‘घरलौरी’ नै पुग्छन् । यो चलनले महोत्तरीको भङ्गाहा नगरपालिका–४ को रामनगर बस्तीको ‘बभनटोली’ को धान रोपाइँ समयमै सकिन्छ ।

वरपरका बस्तीमा रोपाइँ गर्ने जनशक्ति नपाएर असारको अन्तिमसम्म खेत बाँझै देखिएका बेला ‘बभनटोली’ मा भने समयमै शाही रोप (बीउको रोप) सकिन्छ । जन (कृषि काम गर्ने श्रमिक) पाउन छाडेपछि पछिल्ला करिब एक दशकयता पर्मपालो ( अइचोपइँचो)गरेर खेती गर्न थालेका यस बस्तीका २५ घर किसानले यसपालिको रोपाइँ सक्नै लागेका छन् । टोलमा धनी गरिबको भेद छाडेर सबैका खेतमा बस्तीका सबै एकापसमा मिलेर काम गरेपछि यो बस्तीमा कृषि जनशक्तिको अभाव खट्कन छाडेको छ ।

“बस्तीको नाउँ ‘बभनटोली’ (बाहुनटोल) भनिए पनि हाम्रो टोलमा बाहुन, क्षत्री, नेवार, घर्ती र कामीसहितका पर्वते मूलका र कोइरी, बिन (मलाहा) र केही घर मुसलमान समुदायका सहित मधेसी मूलका पनि बाक्लै छौँ”, बस्तीकै पाको उमेरकी ७५ वर्षीया रुक्मिणी भुजेल भन्नुहुन्छ, “सबैले मिलेर काम गर्न थालेपछि असार निगल्दो हाम्रो रोपाइँ सकिने गरेको छ ।” केही वर्ष जन नपाएर खेत बाँझै बसेपछि टोलका सबैलाई भेला गरेर यो स्थिति बसालेपछि पछिल्ला दश वर्षयता रोपाइँ सक्न कहिल्यै गा¥हो नपरेको यस बस्तीका किसान बताउँछन् ।

जात र धनले सानो ठूलोभन्ने विभेद निमिट्यान्न नभई सके पनि रोपाइँका बेला भने टोलका सबै घरका सदस्य एकअर्काको खेतमा काम गर्न थालेपछि यहाँको रोपाइँ असार निगल्दो सकिने गरेको हो । “अब २५ घरभित्र शाहीरोप (कलम लगाउन बेर्ना रोपिने पहिलो बीउरोप) केहीमात्र बाँकी छ”, बस्तीकी मुस्लिम समुदायकी ऐसा खातुन भन्नुहुन्छ, “असार अझै पाँच÷छ दिन बाँकी छ, असारभरिमा हाम्रो टोलको रोपाइँ सकिन्छ ।” पछि साउन निगल्दो खरुवन (कलम रोप, अहिले रोपिएको बीउ रोपो गाँजिएपछि त्यही उखालेर गरिने रोप) रोपका बेला एकपटक अझै धपेडिभने हुने उहाँ बताउनुहुन्छ । “तर हामी अरुको भन्दा सजिलै रोपाइँ सक्छौँ”, खातुनले भन्नुहुन्छ ।

बस्तीमा दुई बिघादेखि दुई कट्ठासम्म जग्गा हुने किसान छन् । तीन÷चार घरपरिवारको त आफ्नो स्वामित्वको जग्गा पनि छैन, ठेक्का÷बटैया गर्छन् । यी सबैले रोपाइँ सकेपछि पर्मको हिसाब गरेर बढी श्रम गरेका परिवारका सदस्यलाई चलेको पारिश्रमिक दिने गरिएकाले किचोला कहिल्यै नभएको बस्तीका पाका किसान ७७ वर्षीय दीपबहादुर फुयाँलको भनाइ छ ।

बस्तीका २५ घरको स्वामित्वमा करिब १६÷१७ बिघा धानखेती गरिने जग्गा भएको र पछिल्ला आठ÷दश वर्षयता रोपाइँमा पर्म चलाउन थालेपछि कहिल्यै खेत बाँझो नरहेको यहाँका किसान सगर्व बताउँछन् । “हाम्रो टोलका सिडियो साँब (हाल मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल) का घरबाट पनि पालोपर्ममा काम गर्न आँमा, भाइ, बुहारी निस्कनुहुन्छ”, बस्तीकी कञ्चनिंया बिनले भन्नुभयो, “सबैको काममा बस्तीका सबै घर निस्कन्छन्, उचोनिचो भेद हामी गर्दैनौँ, खेतीपाती समयमै सक्छौँ ।”

समुचा रामनगर बस्तीमा अहिले ३० प्रतिशतमात्र रोपाँइ सकिएका बेला ‘बभनटोली’ मा भने ७० प्रतिशतभन्दा बढी रोपाँइ सकिएको भङ्गाहा–४ का वडाध्यक्ष गणेश महतोले जानकारी दिनुभयो । “अन्यटोलमा किसान जन पाइएन भनेर जिङ्राएका छन्” उहाँ भन्नुहुन्छ, “आपूmलाई धनीमा गन्ने किसान अरुका खेतमा पाइला राख्नुलाई इज्जतको सवाल ठान्छन्”, उहाँले प्रश्नात्मक शैलीमा अगाडि भन्नुभयो, “अनि कसरी चल्छ काम ?” मिलेर काम गर्दा सजिलै धान रोपाइँ सकिने र उत्पादन पनि राम्रो लिने आफ्नो बस्तीको ‘बभनटोली’ सबैका लागि सकारात्मक उदाहरण बनेको वडाध्यक्ष महतोको भनाइ छ ।

खासगरी कृषि काममा दक्ष मानिएका बस्तीका मुसहर जातिका युवा राम्रो पारिश्रमिक पाउन भारतको पञ्जाव, हरियाना जान थालेपछि बस्तीमा धान रोपाइँका बेला जनको सकस पर्दै आएको छ । बभनटोलीका किसानले समयअनुकूल आफूलाई ढाल्न सक्दा बर्सेनि राम्रो उत्पादन लिइरहेको कुराबाट शिक्षा लिन नसक्दा बस्तीकै अन्य टोलको रोपाइँ गर्न नसकिएर खेत बाँझै बस्ने गरेको रामनगरका अर्का मेहनेति किसान चन्देश्वर राय दनुवारले जानकारी दिनुभयो । “अब लाज मानेर काज चल्दैन”, उहाँले भन्नुभयो, “ बभनटोलीको सिको गर्नैपर्छ ।”

समयअनुसार नयाँ स्थिति बसाउन सकिएकाले आफ्नो टोलमा गरिबमा गनिनेको घरमा पनि खाने अन्न भने खासै बेसाउनु नपरेको अगुवा महिला सामाजिक कार्यकर्ता हीरा दाहालको भनाइ छ । “हाम्रो टोलमा सबैको श्रम सबैलाई चलेको छ” उहाँले भन्नुभयो, “केही पाका उमेरका अभिभावकमा खानेकुरामा अझै छुवाछुतको भावना भने मरिसकेको छैन, तर नयाँ पिँढीका सबै एकअर्कोको खेतमा काम गर्दा खाजा, खाना खान थालेपछि यसको टिप्पणी भने पाकाले गर्न छाडेका छन् ।”

आफ्नो रोपाइँको अत्तोपत्तो नै नहुँदा बभनटोलीमा भने रोपो लहलह हरियाएको (हरियो भएको) देख्दा आफ्नो टोलमा पनि पर्म सुरु गर्ने रामनगरका सबै टोलमा चर्चा भने चल्छ । “हामी पनि यो थिति पर्म बसाउन खोज्दैछौँ”, बस्तीका बासिन्दा पूर्ववडाध्यक्ष ७८ वर्षीय वृदेवसिंह दनुवार भन्नुहुन्छ, “अब यसमा ढिलो गरिए मुखमा माड लाग्दैन ।”

बभनटोलीका सबैजसो किसान खेतीपातीबारे सघन छलफल गर्छन् । मध्याह्नको चर्को गर्मी छल्न बस्ती माझको चौतारो यो बस्तीको थकाइ मेट्ने र सामूहिक छलफलको थलो हुने गरेको छ । सबै उमेर समूहका किसान मौसमको अनुमान, लक्षण र अब कुन खेती गर्दा राम्रो होला भन्ने छलफल गर्छन् । प्राय सबैजसोले प्राङ्गारिक खेती प्रणाली अप्नाएका छन् । जान्ने, बुझ्ने प्राविधिकसँग छलफल गर्ने र सबैभन्दा सकारात्मक पक्ष सबैले एकअर्काप्रति गर्ने समभावको व्यवहारले यहाँको खेती सजिलो भएको र प्रत्येक बालीको राम्रै उत्पादन लिने गरिएको ८० वर्षीय रामनन्दन महतोले जानकारी दिनुभयो ।
फरकफरक दल र फरक विचारका भए पनि आपसमा मिलेर खेतीको काम उकास्न बभनटोलीका किसानले बसालेको थिति अन्यटोलका सबैले अनुशरण गर्नपर्ने रामनगरका बूढापाका बताउँछन् । जनशक्तिकै अभावमा कैयौँ ठाउँका किसानले खेती गर्न नसकेर खेत बाँझै बस्ने गरेका बेला भङ्गाहाको ‘बभनटोली’ सकारात्मक दृष्टान्त बनेको छ । सुरुमा नौलो लागे पनि स्थिति बसाली सकेपछि यो आफैँ लिकमा चल्ने हुँदा यसको सिको जिल्लाका सबै भेगमा हुनसके मुख्य बाली धानको रोपाइँ निकै सहज हुने भङ्गाहा–६ सग्रामपुरका बासिन्दा राजकिशोर यादवको भनाइ छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत