मङ्लबार, माघ २९, २०८१
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • आईजीपीको चासो डिएसपी ठगबहादुरतर्फ: प्रहरीकै बदनाम गरेको भन्दै कारबाहीको तयारी !

आईजीपीको चासो डिएसपी ठगबहादुरतर्फ: प्रहरीकै बदनाम गरेको भन्दै कारबाहीको तयारी !


कान्तिपथ


रूपन्देहीको तिलोत्तमा नगरपालिका- ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई बर्दीधारी डीएसपी ठगबहादुर केसीले पौडीपोखरीमा धकेलेको घटनामा प्रहरीका आईजीपी धिरजप्रताप सिंह र हेडक्वार्टरले विशेष चासो लिएको छ ।

आईजीपीको निर्देशनपछि रुपन्देहीका एसपी रविन्द्र रेग्मीसँग घटनाको यथार्थ विवरण तत्काल जानकारी गराउन भनिएको प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले कान्तिपथलाई बताए । ‘हामीले घटनाको यथार्थ विवरण पठाउन जिल्लालाई भनेका छौं । त्यसपछि के गर्ने हो थप प्रक्रिया अघि बढ्छ’, राईले भने ।

आइतबार इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई लतारेर पौडीपोखरीमा फ्याँकेका थिए । उक्त भिडिओ अहिले भाइरल भएको छ भने प्रहरी कै बदनाम गरेको भन्दै डीएसपी ठगबहादुर केसीको आलोचना पनि उत्तिकै छ ।

आइतबार बोलाइएको नगरसभा गणपुरक नपुगेको भन्दै मेयरले स्थगित गरेपछि विवाद बढेको थियो । नेकपा एमालेका जनप्रतिनिधिले नगरसभा स्थगितको विरोधमा प्रदर्शन गरेका थिए । एमालेले गृहमन्त्रीको आडमा प्रहरी प्रशासन लगाएर आफूहरूमाथि दमन गरेको आरोप लगाएको छ ।

यसैबीच यो विषयले सदनमा पनि चर्चा पाएको छ । नेकपा एमालेका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभामा प्रहरीबाट ज्यादती भएको भन्दै डीएसपीलाई कारबाही गर्न माग गरेका छन् ।

राष्ट्रियसभाको सोमबारको बैठकमा भट्टराईले घटनामा डीएसपीले वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पोखरीमा धकेलेको देखिएको भन्दै तिलोत्तमा प्रकरणको अनुसन्धान हुनुपर्ने र सदनलाई सत्यतथ्य जानकारी गराउनुपर्नेमा जोड दिए । संघीयतालाई बलियो बनाउनेभन्दा पनि कमजोर बनाउने गरी सरकारले गतिविधि गरिरहेको उनको टिप्पणी छ ।

वडाध्यक्षलाई स्वीमिङ पुल (पौडी पोखरी)मा धकेल्ने प्रहरी अधिकारीलाई कारबाही गर्न नेकपा एमाले रुपन्देहीले माग गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै एमालेले तिलोत्तमा–४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीमाथि दुर्व्यवहार गर्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीलाई कारबाहीको माग गरेको हो ।

सो घटनाको भत्सर्ना गर्दै एमालेका नेताहरूले डीएसपी केसी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारी समक्ष माग गरेका हुन् ।

यसैबीच, युवा संघ नेपालले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको चौथो नगरसभा स्थगन तथा वडाध्यक्षलाई पोखरीमा फाल्ने डीएसपीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेको छ । डीएसपी केसीलाई तत्काल कारबाहीको माग गर्दै युवा संघ नेपालले सोमबार रुपन्देहीमा विरोध प्रदर्शन गरेको हो ।

#UML #DSP #IGP #ThagBahadur



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत