बहालवाला र भूपू अधिकारीहरुमा पदीय र सांगठनिक आचरणविपरितका गतिविधि बढ्न थालेपछि सेनाको टाउको दुख्न थालेको छ । केहि समय अगाडी जुम्लाका जर्नेलले ब्यारेकभित्र फिल्मी शैलीमा कुदेर आएर श्रीमतीलाई गुराँसको फूल दिँदै प्रेमभावको टिकटक बनाएका थिए । अर्का अवकाशप्राप्त जर्नेलले पनि नाबालक छोरालाई जर्नेलको पोशाक लगाएर टिकटिक बनाउन दिएपछि सेनाको थप आलोचना भएको थियो ।
यी सबै आलोचना पार लाउन सेनाले ‘सैनिक आचारसंहिता कार्यक्रम, २०७९’ आयोजना गरेको थियो तर केहि अधिकारीले भन्ने उक्त कार्यक्रमलाई पनि टेर पुछार लाएको देखिएन । जंगी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डपमा सेनापति प्रभूराम शर्मापछिका लेफ्टिनेन्ट जनरल बालकृष्ण कार्कीले कार्यक्रमको शुभारम्भ गरेका थिए ।
सकलदर्जालाई पदमा बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने व्यवहारिक आचरणका बारेमा सु–सूचित गरी अनुशासित, आचरणयुक्त र जिम्मेवारपूर्ण सैनिक बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै बलाधिकृत रथी कार्कीले सैनिक आचारसंहिता कार्यक्रमले नेपाली सेनाका सकलदर्जालाई अझै अनुशासित,नैतिकवान र व्यवसायिक फौजको रुपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।
केहि समय अगाडी भूतपूर्व एक तारे जर्नेल धर्म बानियाँले उमेर नपुगेको छोरालाई आफ्नो बर्दी भिराएर टिक टक बनाउन लगाएका थिए । बर्दी लगाएर पदिय दुरुपयोग गर्दै टिकटक स्तर बन्ने होडमा सहायक रथी संजय सिंह भण्डारी पनि मिसिएका छन् । सिङ्घम देखिन खोज्ने भण्डारी लामा-लामा दारी पालेर जिउमा ट्याटु हान्न छुट पाएका थोरै सेनाका अधिकारी भित्र पर्छन ।
अमेरिकी आर्मीले कार्यालय प्रयोजनका लागि उपयोग हुने मोबाइल फोन निरन्तर चर्चित हुँदै गएको एप्लिकेशन टिकटक प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । सुरक्षाको कारण देखाउँदै कार्यालय प्रयोजनमा प्रयोग हुने मोबाइलमा टिकटक प्रतिबन्ध लगाएको हो । चिनियाँ कम्पनी बाइटेडान्सको स्वामित्वमा रहेको टिकटक पछिल्लो समय अमेरिका र अरु देशमा निगरानीको घेरामा आएको छ । नेपाल प्रहरीले पनि टिकटक चलाउन केहि हदसम्म रोक लगाएको छ ।
केहि समय प्रहरी बर्दीमा पेस्तोल देखाएर टिकटक बनाउने प्रहरी सईलाई महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले कारबाही गरेको थियो । भक्तपुरमा कार्यरत प्रहरी सई रत्नबहादुर थापा र उनकी श्रीमतीले बर्दीमै टिकटक बनाएको भिडिओ सार्वजनिक भएपछि उनको आलोचना भएको थियो।
नेपाली सेनाका सहायक रथी (अ.प्रा.) संजय सिंह भण्डारीले केही समय अघि पूर्वप्रधान सेनापति पूर्णचन्द्र थापालाई सोल्टी होटलमा अपमानजनक व्यवहार गरे । मानार्थ उपरथी रमिन्द्र क्षेत्रीको ४० औं वैवाहिक समारोहमा उपस्थित भएका पूर्वप्रधान सेनापति थापालाई भण्डारीले अपशब्द प्रयोग गरी अपमान गरेका थिए । क्षेत्रीले सोल्टी होटलमा ४० औं वैवाहिक समारोह आयोजना गरेका थिए । त्यही समारोहमा आफूलाई उपरथीमा बढुवा हुन नदिएको भन्दै भण्डारीले पूर्व महारथी थापालाई अश्लिल शब्दबाट अपमान गरेका हुन् ।
थापा प्रधान सेनापति हुँदा भण्डारी सहायक रथी थिए । जानकारका अनुसार शैक्षिक प्रमाण पत्र र उमेर विवादले उपरथीमा बढुवा हुन नसक्ने बुझेपछि उनले सहायक रथीबाट राजीनामा दिएका थिए । तर, अहिले भने प्रधान सेनापति थापाकै कारण आफ्नो बढुवा हुन नसकेको भन्दै भण्डारीले उनलाई अपमान गरेका छन् ।
स्रोतका अनुसार भण्डारीको शैक्षिक प्रमाणपत्र अनलाइन स्नातकको छ । त्यो प्रमाणपत्र खुला विश्वविद्यालयको पनि होइन । पुतलीसडकको कन्सल्टेन्सीबाट बनाइएको हो । भण्डारीको जन्म मिति एउटा नागरिकतामा २०२३–०३–१५ छ । तर, अर्को नागरिकता, एसएससी, प्रमाणपत्र तहको लब्धाकं पत्रमा फरक–फरक छ । आर्थिक रुपमा पनि भण्डारीको व्यवहार शंकास्पद थियो । उनी बर्दीमै १० तोला भन्दा बढी सुनको सिक्री, बाला पहिरिएर कार्यालय आउँथे ।
सैनिक स्रोतका अनुसार सशस्त्र द्धन्द्धकालमा भण्डारी रोल्पाका गणपति थिए । तर, उनले गणपतिको जिम्मेवारी बहन गर्न नसकेपछि त्यहाँबाट हटाइएको थियो । पछि भण्डारी ‘सोर्सफोर्स’ लगाएर इटहरीको गणपति भए । भण्डारी इटहहीको गणपति भएका बेला तत्कालीन माओवादीहरुले मोरङको जाँतेमा गस्तीमा रहेको सेनाका आधुनिक हतियार कब्जा गरेका थिए । गस्तीको कमाण्ड भण्डारी स्वयंले गरेका थिए । माओवादीहरुले जाँतेबाट ८१ एमएम मोटार समेत कब्जा गरेका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ