प्रधानमन्त्री शेरबहादुर देउवाबाट राष्ट्रिय समाचार समिति (रासस) को भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन हुँदैछ। रासस केन्द्रीय कार्यालयमा आयोजना हुने विशेष समारोहमा आज बिहान प्रधानमन्त्री देउवाबाट भवन उद्घाटन हुने कार्यक्रम रहेको छ।
विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्प’ का कारण क्षतिग्रस्त रासस भवन तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट प्राप्त १६ करोड ८६ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो।
प्रधानमन्त्री देउवाबाटै २०७४ कात्तिक ९ गते शिलान्यास भएको ‘ब्लक ए’ र ‘ब्लक बी’ भवनमा ५४ कोठा छन्। चारतले यी भवनबाट राससको व्यवस्थापनसहित सबै सेवा सञ्चालन हुनेछ।
स्वदेश तथा विदेशका सत्यतथ्य, सन्तुलित र आधिकारिक समाचार सम्प्रेषण गरी नागरिकलाई सुसूचित गर्ने उद्देश्यले नेपाल संवाद समिति (नेसस) र सगरमाथा संवाद समिति (ससस) एकापसमा गाभिएर विसं २०१८ फागुन ७ गते राष्ट्रिय संवाद समिति (रासस) को स्थापना भएको हो।
राससका संस्थापक व्यवस्थापक आदित्यध्वज जोशीको नयाँसडकस्थित भाडाको घरबाट सुरु भएको रासस नयाँ सडकको पाको, गणबहाल हुँदै विसं २०३१ देखि रासस प्लाजा भद्रकालीमा सञ्चालन हुँदै आएको छ।
हाल राससका सातै प्रदेशका राजधानीमा कार्यालय छन् भने अन्य जिल्लामा गरी १९ कार्यालय रहेका छन्। दरबन्दीमा कार्यरत १६५ पत्रकार तथा कर्मचारी र देश विदेशमा गरी १५० स्थानीय समाचारदाताबाट हरेक दिन बिहान ६ देखि राति १० : ३० बजेसम्म नेपाली र अङ्ग्रेजी भाषामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, आलेख, तस्बिर, श्रव्यदृश्यलगायतका सेवा प्रवाह गर्दै आएको छ।