चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले आज पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले चाँडै चलचित्र क्षेत्रका समस्याहरु सुन्न सर्वपक्षीय सम्मेलन आयोजना गर्ने बताए ।
उनले सम्मेलनबाट निस्किने निस्कर्षका आधारमा एउटा योजना बनाएर अघि बढ्ने उल्लेख गरे ।केसीलाई राजनीतिक पार्टीको सहारामा विकास बोर्डमा पुगेको आरोपबारे पत्रकारले सोधेका थिए । उनले नेपाली चलचित्र क्षेत्रको उत्थानका लागि आफू जे गर्न पनि तयार रहेको जवाफ दिए ।
‘म जहाँ गए पनि चलचित्र क्षेत्रको विकासका लागि जाने हो । मेरो तन मन धन नै चलचित्रकर्मीको उत्थान र विकासका लागि हो । त्यसैले म शहिद भएर, भिक्टिम भएर चलचित्र क्षेत्र राम्रो हुन्छ भने त्यसका लागि तयार छु ।’