आइतवार, अशोज ९, २०७९
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • सरकारी पैसामा पुर्व फुलिवालाको ‘रामराज्य’: यस्तो छ करोडौं घोटालाको फेहरिस्त !

सरकारी पैसामा पुर्व फुलिवालाको ‘रामराज्य’: यस्तो छ करोडौं घोटालाको फेहरिस्त !


कान्तिपथ


जंगी अड्डाभित्र घटेका काण्डको फेहरिस्त संसद् सचिवालयमा पुगेको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा गत हप्ता (६ दिन अगाडी) दर्ता गरिएको पत्रमा उच्चस्तरीय आपराधिक पृष्ठभूमिका व्यक्तिको कारण सैन्य छवि ध्वस्त हुन पुगेको उल्ल्लेख छ ।

पुर्व फुलिवाला उपरथी रघु भण्डारी, उपरथीहरू प्रेम शाही र अनन्त कार्की तथा महासेनानीहरू लक्ष्मण थापा र माधव थापाबारे उजुरी पुगेको स्रोतको भनाई छ । उनीहरूले वीरेन्द्र सैनिक अस्पतालमा कमाण्डिङ अधिकृतको जिम्मेवारीमा रहँदा औषधिसहित, विभिन्न मेडिकल उपकरण खरिद र निर्माण कार्यमा चरम घोटाला गरेर ठूलो मात्रामा आर्थिक हिनामिना गरेको उक्त पत्रको दाबी छ ।

तत्कालिन उपरथी बालकृष्ण कार्कीको अध्यक्षतामा गठित छानबिन टोलीले समेत आठ करोड रुपैयाँ सरकारी रकम हिनामिना गरेको ठहर गरेको थियो । तत्कालीन चिफ पूर्णचन्द्र थापाको आशिर्वाद पाएका उनीहरुले छुट पाएका थिए ।

उनीहरूले घोटाला गरेको रकम कहाँ प्रयोग गरे भन्नेबारे पनि उजुरीमा फेहरिस्त छ। जनआस्थाका अनुसार त्यहि रकमबाट शाही, कार्की, भण्डारी र थापाले कैलालीको बूढीतोला इलाकामा कालिज फार्म, झापामा कृषि फार्म र बारामा समेत जग्गा खरिद गरेर बाख्रापालन, माछापालन गरिएको दाबी गरिएको छ । ती जग्गाको व्यवस्थापन गर्न पूर्व प्रमुख सेनानी रामबहादुर थापालाई जिम्मा दिइएको रहेछ । त्यसैगरी ललितपुरको लुभू इलाका, महालक्ष्मीस्थानमा प्रेम शाहीले आफ्ना साली र सालोको नाममा, रघु भण्डारीले छोरीको नाममा जग्गा खरिद गरेको उजुरीमा उल्लेख छ ।

अनन्त कार्कीले मोरङ र सुनसरी इलाकामा जग्गा किनेको लेखिएको छ । अनन्त कार्कीसँगको सेटिङमा शाहीले पृतना कमाण्डमा जाँदा अत्यधिक रकम प्रचलित नीति, नियम र कानुनविपरीत निकासा गरेको समेत उजुरी छ । सोही रकम खर्च गर्दा टुक्रा–टुक्रामा टेण्डर निकाल्ने, बिल बनाउने गरिएको पाइएको थियो । शाही सेनामा भर्ना हुँदा उमेर ढाँटिएको दाबी गरेका छन् । भर्ना हुँदा स्वयंले आफ्नो जन्ममिति ०२२ साल रहेको प्रमाणपत्र पेश गरेका थिए । हालसालै निजले सेनाको बेइज्जत हुने गरी सेनाविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दर्ता गरेका छन् ।

उजुरीमा लेखिएको छ, ‘प्रेम शाही डिजिएमओमा रहँदा प्रधानसेनापतिको कार्यालय (भूकम्पपश्चात् बनाइएको, सभाहलनजिकको) लाई पुनर्निर्माण गर्न पाँच करोडको ठेक्का लगाएका हुन् । तर, एक करोडको काम मात्र टेण्डरबाट गराई बाँकी आफूअनुकूलको ठेकेदारलाई प्रयोग गरेर अत्यधिक महँगोमा सकाइएको थियो ।

सम्भवतः सेनाको इतिहासमा पहिलो पटक तालिम केन्द्र, पाँचखाल नै नदेखेकी छोरीलाई संस्थागत चुनौती दिएर मिसनमा पठाइयो । यो कार्यमा तत्कालीन सैनिक सचिव विनयविक्रम राणाको पनि महत्वपूर्ण भूमिका रहेको बताइन्छ ।

नेपाली सेनाका अधिकृत, पदिक तथा अन्य दर्जाको तर्फबाट हालिएको उजुरीमा सबैभन्दा महिलासम्बन्धी गम्भीर विषय पनि उजागर गरिएको छ । उनै कार्की, शाही, भण्डारी र थापाले अनुशासनहीन काम गर्ने प्रयोजनको निम्ति सेनाका हरेक युनिटमा महिला सैलुन हुँदाहुँदै अन्य कार्य हुने गरेको आरोप लगाइएको छ । सिद्धार्थ होटलसँगको मिलेमतोमा सिद्धार्थ रेष्टुरेण्टलाई जंगी अड्डाभित्र छिराइएको, सोबापत निजहरूले चेन होटलमा आफूले चाहेका महिला मगाएर अनैतिक कार्य गरेको हुँदा छानबिन गरी हदैसम्म कारवाहीको निम्ति उनीहरूले विधायकहरूसँग अनुरोध गरेका छन् ।

पछिल्ला दिनमा उनीहरूले सबैभन्दा धेरै कैलालीको चिसापानीस्थित सिद्धार्थ होटलमा रेकर्ड नराखी महिला मगाएर अनैतिक कार्य गरेको दाबी गरिएको छ । सबैभन्दा धेरै विवादमा आएका भण्डारी छोरी रक्षालाई डा. अधिकृतको प्रवेश परीक्षामा अनुत्तीर्ण हुँदाहुँदै प्रचलित नियम र कानुनविपरीत अनैतिक तरिकाले भर्ना गराएकोमा पनि छानबिनको माग गरिएको छ । छोरी अनुत्तीर्ण भएकीले भर्ना छनोट बोर्डमा रहेका मेडिकल अधिकृत महासेनानी कुमार रोकालाई अनेकौँ दुःख दिइएको पत्रमा उल्लेख छ । त्यसपछि डा.अधिकृतलाई बोर्डबाट हटाएर डंगोल थरका डाक्टरलाई राखी काम फत्ते गरिएको थियो ।

भण्डारीले नियमविपरीत छोरीलाई डाक्टरको जागिर खुवाएपछि नियमविपरीत शान्ति सेनामा पठाएको सन्दर्भ पनि उल्लेख छ । लेबनान मिसनमा नियमपूर्वक छानिएका दुई जना अधिकृत डा. प्रणय कार्की र डा. बरुणा पौडेललाई तालिम समाप्त भई अन्तिम प्रवचनमा समेत बसिसकेकोमा जबर्जस्ती निकालेर छोरी र ज्वाइँ (डा.रक्षा भण्डारी र डा.दिभांश जबरा) लाई मिसनमा पठाइएको थियो ।

उजुुरीकर्ताले दाबीका साथ भनेका छन्, ‘सम्भवतः सेनाको इतिहासमा पहिलो पटक तालिम केन्द्र, पाँचखाल नै नदेखेकी छोरीलाई संस्थागत चुनौती दिएर मिसनमा पठाइयो । यो कार्यमा तत्कालीन सैनिक सचिव विनयविक्रम राणाको पनि महत्वपूर्ण भूमिका रहेको बताइन्छ । निज राणा बाहिनीपति हुँदा डा.रक्षा भण्डारी पनि निजसँगै फि.ए.मा थिइन् । त्यसबारे तत्कालीन प्रधानसेनापति थापालाई विभिन्न माध्यमबाट चार पटक उजुर हालिएकोमा कुनै छानबिन नै नभएको, उजुरी बुझ्न नमानेको तथा प्राप्त उजुरीलाई लुकाइएको थियो ।’

उनले काठमाडौँका सिंह थरका व्यक्तिको नाममा ११ करोड र महराको नाममा १२ करोड गरी सेयर बाँडफाँड गराएका हुन् । उक्त रकममध्ये आठ करोड स्वयं भण्डारीको अग्रसरतामा कल्याणकारी र संभाररथीबाट मिलाइएको र बाँकी तीन करोड सिंह थरका व्यक्तिको भएको गाइँगुइँ त्यतिबेलै चलेको थियो ।

‘उक्त काण्डमा विनयविक्रमलाई पनि हदैसम्मको कारवाही गरिपाऊँ,’ उनीहरूले माग गरेका छन् । छोरी–ज्वाइँ तैनाथ रहेको मिसनका कन्टिन्जेण्ट कमाण्डर महासेनानी कृष्णराज आचार्यलाई सेना दिवसमा खर्चका लागि निकासा भएको १५ सय अमेरिकी डलर खर्च गर्न पर्दैन भनियो । नक्कली बिल बनाइयो, खत्री थरका एक जना क्याप्टेनलाई गोप्य रुपमा लेबनानबाट चार सय डलरका तीन थान गलैँचा र बाँकी रकमको केही प्लेट नजराना चढाइयो । सहसेनानी खत्रीले नमुनाका लागि भनी बनाएका बिल र बोर्डको कागजातलाई नै किर्ते बनाएर प्रयोग गरियो । निजहरूलाई सोधेमा पनि सत्य तथ्य निस्कन्छ ।’

उक्त उपहार आचार्यले आफू सहायक रथीमा बढुवा हुन भण्डारी, कार्की र राणालाई टक्र्याएका थिए । यसरी खर्च नगरी नक्कली बोर्ड र बिल बनाएर चाकडी गर्ने आचार्य र गर्न लगाउने चारै जनालाई पनि कारवाहीको माग गरिएको छ । रघु भण्डारी संभाररथीमा रहँदा ४० हजार थान बुट खरिदको निम्ति बढी कबोल गरेको कम्पनीलाई दिइएको थियो भने केसी ट्रेडर्सलाई छालाको बुट खरिद गर्न नियम विपरीतको जिम्मा दिँदा पनि ती बुटहरू तोकिएको समयमा प्राप्त हुन सकेनन् ।

‘सेनाका सबै युनिटको लागि वाटर ट्रिटमेण्ट प्लान्ट केन्द्रबाट खरिद गर्ने बहानामा सेटिङ मिलाएर करोडौं रकम घोटाला गरियो । राई स्टिमर खरिद गर्दा पहिला बालाजुमा बनेको नमुना देखाएर पास गराइयो, तर पछि चिनियाँ खरिद गरेर करोडाँै रकम घोटाला गरियो, शान्ति सेनाको लागि आवश्यक सवारी तथा अन्य सामान सेनापति थापाको सालो रायमाझी थरको व्यक्तिमार्फत ठेक्का लगाई अकुत रकम हिनामिना गरियो, बुट खरिदमा भएको अनियमिततामा प्रधानसेनापतिद्वारा साढुभाइलाई उन्मुक्ति दिइयो,’ उनीहरुको भनाइ छ । उनकै पालामा टेण्डर गरिएको परिचयपत्रमा समेत घोटाला भएको आशंका छ । कार्डमा नमुनाविपरीत चिप्स र कार्डको घेरा राखिएको दाबी छ । भण्डारीले उक्त कार्य फत्ये गर्न सम्भाररथीको कार्यालयमा कार्यरत सहायक रथी रामनाथ ढुंगानालाई प्रधानसेनापतिलाई कुरा लगाएर २४ घण्टामा पश्चिम पृतनातिर लघारेका थिए ।

भण्डारीको अग्रसरतामा चार वर्षअघि धनगढीस्थित कृष्णबहादुर महराको नाममा रहेको एक होटलको सेयर बाँडफाँड भएको बताइन्छ । उनले काठमाडौँका सिंह थरका व्यक्तिको नाममा ११ करोड र महराको नाममा १२ करोड गरी सेयर बाँडफाँड गराएका हुन् । उक्त रकममध्ये आठ करोड स्वयं भण्डारीको अग्रसरतामा कल्याणकारी र संभाररथीबाट मिलाइएको र बाँकी तीन करोड सिंह थरका व्यक्तिको भएको गाइँगुइँ त्यतिबेलै चलेको थियो । यसबारे पनि संसदीय समितिले छानबिन गर्नुपर्ने उनीहरूको माग रहेको छ ।

उजुुरीमा भनिएको छ, ‘कमाण्ड तथा स्टाफ कलेजतर्फ सि.सं. १९ मा तालिमरत विशेष फौजका मेजरद्वय सुभाष खड्का र मदनजंग राणालाई कम नम्बर ल्याउँदा ल्याउँदै जबरजस्ती अगाडि ल्याए । उक्त विषय सिनियर शिक्षकसँग रहेको फाइल हेर्दा प्रष्ट देखिन्छ ।’ सोही विषयमा प्रष्ट पार्दै उनीहरूले प्राप्तांकमा सेनानी चन्दन सिंह थापा र दिनेश गौतमले जिते पनि चाकडीका कारण खड्का र राणालाई अगाडि पारिएको ठहर गरेका छन् । तत्कालीन सिनियर शिक्षक महासेनानी सन्तोष ढकाललाई प्रभाव र दबाबमा पारेर आफ्ना मानिसलाई अगाडि ल्याउँदा कूल प्राप्तांक मिलाउन नभ्याएको बताइन्छ । ‘तसर्थ उक्त कुरा गोप्य रूपमा छानबिन गरी हदैसम्मको कारबाही गरिपाऊँ,’ उनीहरूको माग छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत