• गृहपृष्‍ठ
  • ब्लग
  • जनार्दन शर्मा: देउवा, दाहाल र राणाको वित्तिय गठबन्धनका ‘भू:उपग्रह’ !

जनार्दन शर्मा: देउवा, दाहाल र राणाको वित्तिय गठबन्धनका ‘भू:उपग्रह’ !


कान्तिपथ


विनोद घिमिरे । सभामुख अग्नी सापकोटाद्वारा गठित संसदीय विशेष समितिले तत्कालीन अर्थमन्त्री शर्माबाट कर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गराएको पुष्टि हुन नसकेको निष्कर्ष दियो । यो निष्कर्षलाई कतिपयले शर्मालाई चोख्याएको अर्थमा बुझेका छन् । कतिपयले एमालेले अर्थमन्त्रीसँग ‘हटकेक’ एम. अधिकारी साटेको अर्थमा बुझेका छन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेको भनि संचारमाध्यममा सार्वजनिक भएसँगै त्यस रातिको सीसीटिभी फुटेज खोजी भएको थियो । सोही दिनकै फुटेज चाहिं रहस्यमय तरिकाले गायब थियो । सामान्यतः यस्ता फुटेज तीन महिनासम्म कायम रहन्छन् । दुई साता पनि नबित्दै त्यो फुटेज कसरी गायब भयो ? त्यसले अर्थमन्त्री सम्बद्ध यो अनुसन्धान प्रभावित भएको प्रष्ट हुन्छ ।

अनुसन्धानका क्रममा जोडिएका व्यक्तिहरूको तत्कालको मोबाइल लोकेसन समेत हेर्न दिइएन । त्यो हेर्न दिइएको भए अहिले जसको बारेमा आम रूपमा प्रश्न उठेका छन्, तिनले समेत आफू राजनीतिक र प्राविधिक दुवै रुपमा निर्दोष छु भनी प्रमाणित हुने अवसर पाउँथे । अर्थमन्त्रीमाथि छानबिन गर्दा किन कल डिटेल नहेरिएको भन्ने आमचासो छ। कतिपयले कल डिटेल हेर्दा गोपनीयताको हक हनन् हुने तर्क गरिरहेका छन्। समितिको पहिलो बैठकले तयार पारेको कार्यविधिको दफा ११ को उपदफा ४ मा आवश्यक देखिए छानबिनको दायरामा परेका व्यक्तिहरूको कल डिटेल माग गर्ने उल्लेख थियो।

छानबिन प्रतिवेदनमा एमाले तर्फका सदस्यहरू खगराज अधिकारी, प्रदीप ज्ञवाली, विमला विक र भानुभक्त ढकालले प्रतिवेदनमा फरक मत राखेका छन् । बजेट निर्माणका मन्त्रालयमा प्रवेश गर्ने अनधिकृत भनिएको व्यक्तिलगायत छानबिनको दायरामा रहेका व्यक्तिहरूको कल डिटेल र मोबाइल लोकेसन उपलब्ध नगराएको, बजेट निर्माणको रातिको सम्पूर्ण दृश्य संग्रहित दुरुस्त अवस्थाको सीसीटीभी फुटेज उपलब्ध नगराएको लगायत असन्तुष्टि फरक मतमा राखिएको छ ।

शर्मालाई फेरि मन्त्रीमा फिर्ता गराउने मिलिभगतका मूल रचनाकार भने पार्टी अध्यक्षको हैसियतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै हुन् । देउवा, दाहाल र आरजु राणाको वित्तिय गठबन्धनको आशिर्वादमा चोख्याईएका शर्मा माथि प्रश्न उठ्न्ने थुप्रै ठाउँ छन्: उनले पृथ्वी शाह, उनको परिवार र कम्पनीका नाममा विदेशबाट आएको शंकास्पद रकम निकासा दिन राष्ट्र बैंकलाई शर्माले अनधिकृत निर्देशन दिएका थिए । उक्त निर्देशन पालना नभएको भन्दै गभर्नरमाथि छानबिनको प्रक्रिया अघि बढाएका थिए । उनले सिमेन्टदेखि स्टिलसम्मका उद्योगमा आउने ठूला लगानीको आयस्रोत नखोजिने व्यवस्था गरे । जुन व्यवस्था विवादास्पद छ । ठूला स्टिल उद्योगले प्रयोग गर्ने ‘स्पन्ज आइरन’ आयातमा शून्य करको व्यवस्था गरेपछि साना उद्योगी मर्कामा परेका छन् । निजी जलविद्युत् आयोजनालाई विभिन्न शीर्षकमा २१ वर्षसम्म कर छुटको प्रावधान ल्याए ।

कानुनका छिद्रबाट उम्के पनि नैतिक वैधता गुमाएकाहरूलाई जनताले राजनीतिक रुपमा बुझ्न सक्नु पर्छ । शर्माको नियुक्ति देउवा, वर्तमान सरकारलाई मात्र नभएर माओवादी पार्टी स्वयंलाई पनि ब्याक फायर हुने सम्भावना छ । फलत: माओवादी प्रचण्डले ‘खाएको विषमात्रै लाग्ने’ भनेर गम्भीर महत्वको विषयलाई भावनात्मक रंग दिन खोजेका छन् । उनले शर्मालाई कार्यकर्ता मात्रै ठान्नु अनुचित छ । तत्काल शर्मा दोषी देखिएनन् भन्नु अन्यथा नहोला तर यही नाममा शर्मालाई उनले फेरि अर्थमन्त्रीका रूपमा सिफारिश गर्नु परिस्थितिको गम्भीरता नबुझ्नु हो ।

माओवादी कै कतिपय शिर्ष नेताहरु जेठ १४ गते मध्यरातको सीसीटीभी फुटेज कतिपय दूतावास र शक्तिकेन्द्रमा पुगेको आशंका गर्दै चुनावको मुखमा वा माओवादीलाई अप्ठेरो पार्नका लागि कुनै पनि बेला सार्वजनिक गरिन सक्ने आशंकासमेत गर्छन । ‘देउवा-प्रचण्ड-आरजुको स्वेच्छाचारी’ राज्यले पूर्णरूपमा सफाइ दिएको जगजाहेर छ । ओलीलाई प्रतिगामी संज्ञा दिंदै बनेको यो सरकार र आर्थिक नेक्ससको ‘भू:उपग्रह’ बनेका जनार्दन आफैं कति अग्रगमनको बाटोमा छन् त्यो भयङ्कर प्रश्न हो । जनयुद्धकालको एउटा क्रान्तिकारी पार्टी र त्यही आन्दोलनका शीर्ष नेताहरू शान्ति प्रक्रियापछि दिनदिनै ओरालो यात्रामा हिँडिरहेको पछिल्लो प्रमाण हो जनार्दनको पुनःनियुक्ति । लडाकू जीवन त्यागेर सांसद, मन्त्री, सभामुख, प्रधानमन्त्री बने पनि माओवादी नेताहरूले युद्धको धङ्गधङ्गी भने अपनाइरहेका छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत