जनता समाजवादीकी सांसद रेणुका गुरुङले आफ्नो घरमा बम पड्काइएको घटना सुनाएकी छिन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सोमबार राती ८ :४५ बजे आफ्नो घरको गेटमा मोटरसाइकलमा आएका व्यक्तिले बम पड्काएको उनले बताइन् । उनले आफ्नो घर परिवारको सुरक्षाका लागि पीएसओको माग समेत गरेकी छिन् ।
सांसद गुरुङले प्रतिनिधि सभा बैठकको शून्य समयमा सुनाएको विवरण यस्तो छ–‘मेरो देशलाई शीरमा बोकेर हिँड्ने म नेपाल आमाको छोरी हुँ । मेरो जिन्दगीभरि देश र जनताको सेवा गरे बापत प्रमाणपत्र र प्रशंसा पत्रको थुप्रो छ । हिजो राती ८ :२५ बजे देशलाई माया गरेको मन नपराउने देशद्रोहीहरूले मेरो घरको गेटभित्र बम पड्कायो । घरका सबै आतङ्कित भए । झ्याल खोलेर हेरेँ, दुई जना मानिस मोटरसाइकलमा गएको देखेँ तर अँध्यारो भएकोले चिन्न सकिन ।
महाराजगञ्ज थानाको फोन नम्बर खोजी गरी फोन गरेँ । माननीय गृहमन्त्रीलाई फोन गरेँ तर फोन उठेन । प्रहरी आँगनमा आएपछि म पनि ओर्लिएँ । जहाँ रकेट बमको खोल भेटियो जुन प्रहरीले लिएर गए । त्यसपछि माननीय उपसभामुख पुष्पा भुसाल दिज्यूलाई फोन गरेँ । सान्त्वना दिनुभयो । म सङ्घीय सांसद र कार्यपालिकाको सदस्य भइसकेकोले मेरो घर र परिवारको सुरक्षार्थ राज्यमन्त्री सरहले पाउने पीएसओको व्यवस्थाका लागि आग्रह गर्दछु ।’