चीनले ताइवाननजिकै आफ्नो सैन्य अभ्यास सुरु गरेको छ। बुधबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सामाजिक सञ्जाल ट्वीटरमार्फत सैन्य अभ्यास सुरु गरेको जानकारी दिएका हुन्।
उनले लेखेका छन्, ‘पीएलएले ताइवाननजिकै एक संयुक्त सैन्य अभ्यास सुरु गरेको हो। चीनले आफ्नो सम्प्रभुता र क्षेत्रीय अखण्डताको दृढतापूर्वक रक्षा गर्छ।’
समाचार एजेन्सी एएफपीका अनुसार ताइवानले २७ चिनियाँ लडाकु विमान ताइवानको हवाइ क्षेत्रमा प्रवेश गरेको बताएको छ।
ताइवानले चिनियाँ विमानलाई चेतावनी दिन आफूले पनि लडाकु विमान उडाएको उल्लेख गरेको छ।
चीनले सैन्य अभ्यास सुरु गरेसँगै जी७ मुलुकको समूहले चीनको आक्रामक सैन्य अभ्यास कुनै पनि हिसाबमा जायज नभएको बताएको छ।
अमेरिकी संसदकी सभामुख नेन्सी पेलोसीले ताइवान पुगेकी थिइन् र बुधबार दक्षिण कोरिया प्रस्थान गरेकी थिइन्। चीनले निरन्तर पेलोसीको ताइवान भ्रमणको विरोध गर्दै आएको थियो। उसले यो भ्रमणको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिँदै आएको थियो।
पेलोसीको ताइवान भ्रमणले चीन-अमेरिकाबीच तनाव बढेका बेला काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले बुधबार विज्ञप्ति जारी गरी ताइवानका सवालमा नेपालले लिएको नीतिको सराहना गरिन्। राजदूत होउले ‘ताइवान स्वतन्त्रता’ मुद्दामा नेपालले दृढतापूर्वक विरोध गरिरहेकामा प्रशंसा मात्र गरिनन्, आगामी दिनमा पनि त्यो समर्थन कायमै रहने विश्वास व्यक्त गरिन्।
अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणले चीन र अमेरिकाबीच सम्बन्ध तनावको शिखरमा पुगेका बेला चिनियाँ राजदूत होउले ताइवान मामिलामा नेपालको प्रतिबद्धता स्मरण गराएकी हुन्।