सोमवार, जेष्ठ १५, २०८०

पहिरोका कारण ६ घरपरिवार विस्थापित


कान्तिपथ



म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा एक परिवार विस्थापित भएका हुन् ।

मालिका गाउँपालिकाका कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीले घर जोखिममा परेकालाई सुरक्षित ठाउँमा सारिएको जानकारी दिनुभयो । “छिपछिपेका केशबहादुर गोतामे, नरवीर गोतामे, तिर्खबहादुर गोतामे, तुलाराम गोतामे र रमेश गोतामेको परिवारलाई आफन्तकोमा राखिएको छ”, उहाँले भन्नुभयो, “महभिरका टेकबहादुर विकका परिवारलाई सामुदायिक भवनमा अस्थायी बसोबासको व्यवस्था मिलाएका छाँै ।”

छिपछिपेमा छाप जाने मोटरबाटोबाट पहिरो आएपछि विस्थापित भएका हुन् । सिद्धार्थ आमा समूह, परिवर्तन युवा क्लब च्युरीबोटका पदाधिकारी, सदस्य र स्थानीयवासीले विस्थापितका घरका सामान सारेका छन् ।

दुखखोलाको पुल बन्द

म्याग्दीको मङ्गला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखुखोलाको सडक पुलमा आवतजावत बन्द गरिएको छ । दुखुखोलामा आएको बाढीले कटान गरेर पुल, पिलर र पहुँचमार्ग संरक्षणका लागि निर्माण गरिएको ग्यावियन पर्खाल बगाएको छ । पुलको मालिकातर्फको पिलरको जगभन्दा गहिरो भएर खोला बग्न थालेको छ ।

मालिकातर्फको पहुँचमार्ग साँघुरिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले जोखिम भएकाले दुखुखोलाको पुलमा आवतजावत बन्द गरिएको बताउनुभयो । पुलका बारेमा थप अध्ययन गर्न मन्त्रालयबाट विज्ञ टोली बोलाएको अधिकारीले बताउनुभयो ।

पुलमा आवतजावत बन्द गरिँदा मालिका र धवलागिरि गाउँपालिका सिधा यातायात सम्पर्क विच्छेद भएको छ । पुल संरचनाका लागि मालिका गाउँपालिकाले डोजर परिचालन गरेर नदी कटान नियन्त्रणको काम थालेको मालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो ।

बेनी–दरवाङ मङगला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक हो । पूर्वाधार विकास कार्यालयले २०७६ सालमा दुखुखोलामा रु दुई करोड २५ लाख ६० हजारको लागतमा २२ मिटर लामो पुल निर्माण गरेको होे । पुल तल दुखुखोलाको बाढीले मङ्गला गाउँपालिका–२ सहश्रधाराको बस्तीतर्फ कटान गर्न थालेको छ । करिब २५ घर रहेको सहश्रधाराका बासिन्दाले कटान नियन्त्रणको माग गरेका छन् । बेनी दरवाङ सडकको फापरखेत घुमाउनेभिर र बाङ्गापहिरोको पहिरो पन्छाएर सो क्षेत्रमा यातायात सञ्चालन गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत