भेडापालनमा भोजपुरका किसानको आकर्षित


कान्तिपथ



व्यावसायिक भेडापालनमा यहाँका किसानको आकर्षण बढेको छ । भेडापालनबाट राम्रो आम्दानी हुने भएकाले किसान यसतर्फ आकर्षित बनेका हुन् ।

प्रशस्त चरण क्षेत्र भएको कारण यहाँका मैयुङ डाँडा, टेम्के डाँडा, चखेवालगायत क्षेत्रलाई भेडापालनको लागि उपयुक्त स्थान मानिन्छ । भेडापालक कृषकले भेडा, ऊन, घ्यू, महीलगायत बिक्रीबाट आम्दानी लिन गरेका छन् । त्यस्तै उनीहरुले ऊनबाट बन्ने राडी, लुकुनीलगायत पनि बिक्री गर्दै आएका छन् ।

सयसम्म भेडा भएमा वार्षिक रु चार लाखसम्म आम्दानी हुने १२ वर्षदेखि भेडापालन गर्दै आउनुभएका टेम्केमैयुङ गाउँपालिका–२ बोबोकका कृषक गोविन्द कठेतले जानकारी दिनुभयो । यहाँ एक जना कृषकसँग एक सउ ५० वटासम्म भेडा रहेको उहाँले जानकारी दिनुभयो । धेरै भेडा हुनेले वर्षमा रु आठदेखि नौ लाखसम्म आम्दानी लिने उहाँको भनाइ छ ।

कृषक कठेतले भन्नुभयो, “दुःख धेरै छ तर भेडा राम्ररी फस्टाए भने आम्दानी पनि राम्रो छ । एक सय ५० देखि दुई सयसम्म भेडा भएमा वर्षमा आठदेखि नौ लाखसम्म आम्दानी लिन सकिन्छ ।” पछिल्लो समय युवापुस्तासमेत भेडापालनमा आकर्षित भएको उहाँको भनाइ छ । विदेश गएर आएकाले पनि व्यावसायिक रुपमा भेडापालन गरिरहेको कृषक कठेतले जानकारी दिनुभयो । “युवा पुस्तामा भेडापालन प्रतिआकर्षण छ”, उहाँले भन्नुभयो, “गाउँका कतिपय युवा विदेशमा कमाइ गर्न नसकेर आएर भेडापालन गरेर राम्रो आम्दानी लिँदै आएका छन् ।”

मैयुङ क्षेत्रमा २८ बढी कृषकले व्यावसायिक रुपमा भेडापालन गरिरहेको किसान कठेतको भनाइ छ । यसमा करिब नौ जना खोटाङका र अन्य भोजपुर जिल्लाका रहेको उहाँले जानकारी दिनभयो । भेडापालन व्यवसायमा दुःख तथा समस्या भने धेरै रहेको उहाँले बताउनुभयो । भेडापालनको मुख्य समस्या चरण क्षेत्र अभाव रहेको उहाँको भनाइ छ । त्यस्तै बाघ, भालु तथा कुकुरले पनि भेडा मारीदिने समस्या छ । भेडामा देखिने धक्ने, छेर्ने, ढाडिने, माटो खानेलगायतका रोगले धेरै दुःख दिँदै आएको छ ।

“भेडापालनमा धेरै समस्या छ । पहिलो समस्या चरण क्षेत्रको हो । सामुदायिक वनले महँगो शुल्क लिन्छन्”, उहाँले भन्नुभयो, “एउटा वन क्षेत्रमा चराएबापत एक भेडीगोठको रु एक हजारदेखि रु पाँच हजारसम्म तिनुपर्छ । त्यस्तै विभिन्न समयमा देखिने रोग तथा वन्यजन्तुको आक्रमण पनि धेरै क्षति पुग्ने गरेको छ ।”

भेडालाई तातो मौसमको (बर्सात) समयमा माथिल्लो भेग र चिसो मौसमअर्थात् हिउँद समयमा तल्लो भेगमा झार्ने चलन छ । तल्लो भेगमा झारेपछि हावापानीका कारण भेडा बिरामी हुने, मर्ने समस्या रहेको भेडापालक कृषक भक्तकुमार राईले जानकारी दिनुभयो । धेरै दुःखको काम भएकाले यस्तो पेसामा लाग्ने कृषकलाई राज्यले प्रोत्साहनमूलक कार्यक्रम ल्याउनुपर्ने राईको भनाइ छ ।

उहाँले भन्नुभयो, “हामीले उधौली झारेपछि धेरै भेडा बिरामी हुन्छन् । कतिपय मर्छन् । यस्तो अवस्थामा उपचारको व्यवस्थाको लागि राज्यले सहयोग गरे हुने । धेरै दुःख कष्टका साथ पुर्खौली पेसालाई धानेका छौँ तर राज्यको ध्यान हामीमा गएको छैन ।” भेडा बिरामी हुँदा औषधि लिनको लागि टेम्केमेयुङ गाउँपालिका तथा सदरमुकाम नै पुग्नुपर्ने बाध्यता रहेको किसान राईको भनाइ छ । राज्यले किसानको पशु बीमा गरिदिए सहज हुने र किसानलाई थप लाभ पुग्ने उहाँको भनाइ छ ।

गोठवाला कृषकको हकअधिकार तथा आवश्यक सहयोग जुटाउनको लागि समितिसमेत गठन गरिएको छ । यो समितिले गोठलावा कृषकको समस्याको विषयमा ध्यानाकर्षण गराउन विभिन्न खाले गतिविधि गरिरहेको खर्क गोठ संरक्षण समितिका अध्यक्ष पावीहाङ राईले जानकारी दिनुभयो । खास गरेर गोठवाला पेसालाई हराउन नदिनको लागि सबै गोठवालालाई समेटेर समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो ।

समितिले गोठवालाको समग्र पक्षमा काम गरिरहेको भए पनि चौरीपालक, भेडापालक, भैँसीपालनलगायत अन्य समिति पनि गठन गरेर किसानका समस्याको बारेमा आवाज उठाइरहेको अध्यक्ष राईले जानकारी दिनुभयो । “हामी यो पेसालाई कसरी जीवन्त राखेर भावी पुस्तासम्म पु¥याउन सकिन्छ भन्ने लक्ष्यले एकताबद्ध भएका छौँ”, उहाँले भन्नुभयो, “गोठ सुधारका लागि काम गरिरहेका छौँ । यहाँको भेडापालन र चौरीपालन कृषकलाई लक्षित गरेर प्रदेश सरकारबाट आएको करिब रु १७ लाख गोठ सुधारको काम गरेका छौँ ।”

समितिको पहलमा प्रदेश सरकारबाट नियमित पाँचवर्षे गोठ सुधारको कार्यक्रम परेको भए पनि पहिलो वर्ष कोरोना कारण त्यो कार्यक्रम सञ्चालनमा समस्या भएको उहाँले जानकारी दिनुभयो । यसको कारण पहिलो वर्षको बजेट फिर्ता गएको उहाँको भनाइ छ ।

गोठ सुधारअन्तर्गत कम्तीमा २० जना मानिस बस्नसक्ने गरी गोठबासको अवधाराणाअनुरुप काम भइरहेको अध्यक्ष राईको भनाइ छ । त्यस्तै गोठवालाको शौचालयको समेत व्यवस्था गरिएको छ । सामुदायिक वनले अनावश्यक कर लगाएको कारण किसान मारमा परेका छन् । गोठवालाले प्रकृति संरक्षण योगदान पु¥याउँदै आएको उहाँको भनाइ छ ।

“हामीले गोठबासको अवधारणाअनुसार यहाँको गोठको सुधार थालेका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “खास गरेर यहाँ आउने पर्यटकलाई लक्षित यस्तो तरिकाबाट काम गरेका हौँ । राज्यले केही सहयोग गरेको छ तर यो मात्र यहाँको किसानका लागि पर्याप्त छैन ।”

भेडाजन्य उत्पादनको बजारमा धेरै माग रहेको किसानको भनाइ छ । औषधिको रुपमा प्रयोग हुने तथा खानमा स्वादिष्ट हुने भएकाले भेडाको घ्यूको माग धेरै रहेको कृषक शेरबहादुर कठेतले बताउनुभयो । भेडाको घ्यूलाई डढेको घाउ खतलाई हटाउनका लागि राम्रो मानिने उहाँको भनाइ छ । भेडाको घ्यू प्रतिकिलो रु चार हजारदेखि पाँच हजारसम्ममा बिक्री हुने बताइएको छ । त्यस्तै ऊनप्रति केजी रु सात सय र मासु प्रतिधार्नी एक हजार पाँच सयदेखि दुई हजारसम्म पर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “खास गरेर भेडाको घ्यूको माग धेरै छ । मागअनुसारको घ्यू पु¥याउन समस्या छ । भेडाको घ्यू औषधि पनि हुन्छ । यसलाई खास गरेर डढेको घ्यूको खाका हटाउन प्रयोगमा आउछ । धैरै पौष्टिक हुने भएकाले अन्य विभिन्न रोगको लागि उपयोगी मानिन्छ । भेडाको बल्याक्ख्रा (बोका) को पनि माग धेरै छ । यसको मासुलाई निकै स्वादिष्ट मानिन्छ ।” यहाँ उत्पादित घ्यू, राडी, लुकुनीलगायत बस्तु स्थानीय बजारसँगै धरान, विराटनगर, काठमाडौँलगायत ठाउँमा जाने गरेको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत