मङ्लबार, अशोज ११, २०७९

धार्मिक पर्यटनको गन्तव्य बन्दै टुटेश्वर


कान्तिपथ


वरिपरि सघन वनक्षेत्रको हरियाली । नजिकै मडहा नदी र खोल्सीहरुमा बग्ने कञ्चन पानी । अनि चुरे काछको पहाडी शृङ्खलामा सिँढी उक्ँिलदै पुग्नुपर्ने शिवालय । पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने टुटेश्वरचोकबाट आठ किलोमिटर घना वनक्षेत्र छिचोलेर पुग्नुपर्ने टुटेश्वर महादेवस्थान ठाउँको परिवेशले नै मान्छेको मन लोभिने ठाउँ बनेको छ । आदिकालमा महात्माहरुले स्वप्नवर्णनबाट पत्ता लगाएका प्राचीन शिवलिङ्ग हुनाले पनि यो धार्मिकस्थल श्रद्धालुको रोजाइमा पर्ने गरेको जनाइएको छ । प्रत्येक वर्षको साउन महिना, बालाचतुर्दशी र महाशिवरात्रिको अवसरमा सो स्थानमा श्रद्धालुको सघन उपस्थितिले जगमगिने गर्छ । साउनमा टुटेश्वरनाथ मन्दिर श्रद्धालुले भरिभराउ देखिन्छ ।

अहिले राता, पहेँला वस्त्रले सजिएर शिव दर्शनका लागि ‘बोलबम’को नारा लगाउँदै हिँडेका भक्तजनको भीडले शिवालय परिसर गुलजार (रमणीय, चहलपहलयुक्त) देखिँदो छ । अझ साउने सोमबार त शिवालयमा लाग्छ, मानव सागर नै उर्लंदै छ । बर्दिबास नगरपालिका–५ मा पर्ने यो धार्मिकस्थल जिल्लाकै मुख्य धार्मिक र पर्यटकीयस्थल मानिन्छ । “जिल्लाका मुख्य धार्मिक र पर्यटकीयस्थल कुन कुन हुन् ?” महोत्तरी बुझेका जोसुकैले यो जिज्ञासामा ‘जलेश्वर, टुटेश्वर….’ जवाफ फर्काउन अनकनाउनु पर्दैन । यद्यपि आम श्रद्धालु र घुमन्ते पर्यटकको रोजाइमा परे झैँ सरकारको नजरमा भने यो पुण्यधाम नपरेको टुटेश्वरवासी गुनासो गर्छन् । “यहाँ साउन लागीकन यसपालि पाँच लाखभन्दा बढीले भगवान् शिवको दर्शन गरिसकेका छन्”, टुटेश्वरनाथ साउने मेला व्यवस्थापन समितिका अध्यक्ष हरि महत भन्नुहुन्छ, “साउनका प्रत्येक दिन दर्शनार्थी आइरहे पनि सोमबार चैं थेगी नसक्नु भीड हुन्छ ।” साउन तेस्रो साता सकिँदासम्म पाँच लाखभन्दा बढीले शिवदर्शन गरेका महतको आँकडा छ । “ठाउँको प्रसिद्धि छ, मान्छे आउँछन् , तर हाम्रा तीनै तहका सरकारको भने यहाँ खासै आँखा परेको छैन”, उहाँको गुनासो छ । टुटेश्वरनाथमा दर्शन गर्नेहरु महोत्तरी, धनुषा, सर्लाही, सिरहा, रौतहट, बारा, पर्सा र सप्तरी सहितका जिल्ला र छिमेकी देश भारतको विहार र उत्तरप्रदेश प्रान्तका भक्तहरु भेटिएका छन् ।

घना वनक्षेत्रभित्र आठ किलोमिटर दूरी पैदल यात्रा गर्दा खास ठाउँ जाँदैछु भन्ने अनुभूति हुने र मन्दिर परिसर नदी किनारको पाहाडको रमाइलो थुम्कोमा रमणीय देखिनुले यो धार्मिकस्थलको आकर्षण बढेको भारतको विहार राज्यको झञ्झारपुरबाट टुटेश्वर आइपुग्नुभएका शिवभक्त मिथिलेश सरण बताउनुहुन्छ । “हेर्नुहोस्, यो ठाउँ भगवान् शिवको अत्यन्त प्यारो हुनपर्छ उहाँ भन्नुहुन्छ, “यहाँ जो आई पुग्छन्, उनलाई कुनै खास ठाउँ पुगेको अनुभूति जरुर हुनेछ ।” सोमबार दर्शन गर्न एक दिन पहिले नै टुटेश्वर पुग्नुभएका सरणले टुटेश्वरका बासिन्दा अत्यन्त सहृदयी भेटिएका पनि बताउनुभयो ।

भौगोलिक अवस्थितिले विशिष्ट मात्र नभई टुटेश्वरका स्थानीयवासीको अतिथिप्रतिको सद्भाव, स्नेह र सहयोगी भावले पनि यो ठाउँ भक्तहरुको रोजाइमा पर्ने गरेको यसपालिसमेत पाँचौँ पटक यहाँ पुग्नुभएका भारतकै शिवहर जिल्लाका प्रभुनारायण साहको धारणा छ । यसबाहेक साउने मेला पर्वले एक अर्को प्रदेशको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुगेको छ । टुटेश्वर प्रदेश–१ र बागमती प्रदेशका भक्तजन बाक्लै भेटिएका छन् ।

आफ्नो ठाउँ धार्मिक प्रसिद्धिले विशिष्ट भए पनि यस ठाउँको विकासमा सरकारका तर्फबाट खासै आँखा नपरेको मन्दिर अवस्थित बर्दिबास–५ का वडाध्यक्ष कहारमान स्याङ्वा स्वीकार गर्नुहुन्छ । टुटेश्वरधाममा सुविधासम्पन्न धर्मशाला, खानेपानी, शौचालय र आगन्तुकले पूर्ण सुरक्षित रहेको अनुभूति हुनेगरी व्यवस्था गर्नसके यहाँ बास बस्न नै पर्यटक आउने स्याङ्वाको भनाइ छ । यसपालि गत स्थानीय निर्वाचनमा वडाध्यक्ष निर्वाचित हुनुभएका स्याङ्वाले यहाँको धार्मिक पर्यटनलाई सघाउ पुग्नेगरी वैज्ञानिक योजना बनाइन नगर कार्यपालिकाको ध्यानाकर्षण गराइएको बताउनुभयो ।

यसैगरी बर्दिबासका नगरप्रमुख प्रल्हादकुमार क्षत्रीले पनि टुटेश्वरधामसहित नगरका अति प्राचीन धार्मिक सम्पदा पञ्चधुरा माई मन्दिर र राईमण्डल धार्मिकक्षेत्रको पर्यटकीय सम्भावना बढाउन विज्ञहरुको सरसल्लाहबाट काम अघि बढाइने बताउनुभयो । “ठाउँ र यसको सम्भावना, आवश्यकता र आर्थिक स्रोतको वैज्ञानिक विश्लेषणबाटै काम गरिनपर्छ”, उहाँ भन्नुहुन्छ, “हाम्रो प्रयत्न यसै दिशामा केन्द्रित भएको छ ।” नगरको आफ्नो सामथ्र्य, प्रादेशिक र सङ्घीय सरकार सबैको नजर टुटेश्वरमा पारिने क्षत्रीको प्रतिबद्धता छ । शिवालयमा हुने भक्तको जमघटलाई पर्यटन प्रवद्र्धनमा जोड्न अब टालटुले नभई वैज्ञानिक विश्लेषणबाटै विकास योजना बन्नुपर्ने र टुटेश्वरलाई धार्मिकस्थल मात्र नभई मुख्य पर्यटकीय गन्तव्य नै बनाउने गरी काम बढाउन जिल्लाका बुद्धिजीवीले पनि तीनै तहका सरकारलाई सुझाएका छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत