आइतवार, अशोज ९, २०७९

दाङमा माओवादी र एमालेका ‘पावर सेन्टर’ चुनावमा आमनेसामने हुँदै !


कान्तिपथ


प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दाङमा पनि उम्मेदवार चयनका लागि प्रमुख तीन दलका नेताहरूले गृहकार्य शुरू गरेका छन् । दाङ एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला र नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महरा चुनाव लड्दै आएको जिल्ला हो । अर्का प्रभावशाली नेता लड्ने भएकाले महरा रोल्पा जाने स्थिति छैन ।

प्रदेशसभा सदस्य निर्वाचित भएर लुम्बिनी प्रदेशको मुख्यमन्त्रीसमेत बन्न सफल पोखरेल हाल पार्टीको महासचिव छन् । त्यसैले पनि उनी अब प्रदेश छाडेर प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने तयारीमा जुटेका हुन् । महरा माओवादीको उपाध्यक्ष बन्ने लगभग पक्कापक्की जस्तै छ ।

अघिल्लो निर्वाचनमा तत्कालीन नेकपा हुँदा क्षेत्र नम्बर २ बाट महरा प्रतिनिधि सभा र पोखरेल प्रदेश सभामा चुनाव लडेका थिए । दाङ क्षेत्र नम्बर २ (क) बाट २०७४ सालको स्थानीय निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित पोखरेल आसन्न निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने बताइएको छ ।

क्षेत्र नम्बर २ नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको चुनाव क्षेत्र हो । २०७४ को निर्वाचनमा महरा सो क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । त्यतिबेला एमाले र माओवादी केन्द्रबीच गठबन्धन थियो । अहिले अवस्था फरक छ ।

महराले कांग्रेस उम्मेदवार राजु खनाललाई १४ हजार १४५ मतान्तरले हराएका थिए । महराले ४० हजार ४२ मत पाएका थिए भने खनालले २५ हजार ८९७ मत पाएका थिए । पोखरेलले प्रतिस्पर्धीभन्दा ९ हजार ५२५ मत बढी प्राप्त गरेका थिए । उनले २० हजार ६९४ मत ल्याउँदा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलकिशोर घिमिरेले ११ हजार १६९ मत मात्रै ल्याएका थिए । अर्को क्षेत्रबाट प्रदेश सभातर्फ एमालेकै अमरबहादुर डाँगी निर्वाचित भएका थिए । डाँगी प्रदेश सांसदबाट राजीनामा दिएर माओवादी प्रवेश गरिसकेका छन् ।

क्षेत्र नम्बर २ मा घोराही उपमहानगरपालिका, बंगलाचुली गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका ४ वटा वडा पर्छन् । बंगलाचुली गाउँपालिकामा माओवादी केन्द्रले जितेको छ भने घोराही उपमहानगरपालिका एमाले जितको छ । स्थानीय तह निर्वाचनमा दाङ क्षेत्र नम्बर २ भित्रका वडाहरुमा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारले ३३ हजार ५९३ मत ल्याएका छन् । यस्तै, नेपाली काँग्रेसका उम्मेदवारले २३ हजार ३०१, माओवादी केन्द्रका उम्मेदवारहरुले १० हजार ४७८ मत र नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुले २ हजार ९४२ मत ल्याएका छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत