शुक्रबार, अशोज २१, २०७९

बढ्यो चुनावी सरगर्मी : दोलखाको प्रदेश ‘क’ मा को को छन् दाबेदार ?


कान्तिपथ


विनोद घिमिरे । निर्वाचनको मिति घोषणासँगै केन्द्रीय राजनीतिमा प्रभावशाली जिल्लाको पहिचान बनाएको दोलखामा प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका सम्भावित उम्मेदवारहरुको चर्चा सुरु भएको छ । आफू निरन्तर प्रतिस्पर्धा गर्दै आइरहेको क्षेत्रमा गठबन्धनको नाममा अन्य उम्मेदवारलाई रोक्ने प्रयास समेत नेताहरूले गरिरहेका छन् ।

विगतका चुनावी परिणाम हेर्दा जिल्लामा कम्युनिष्ट मत प्रभावी देखिन्छ। अघिल्ला चुनावमा प्रतिस्पर्धा गरेका राजनीतिक दलका पुरानै अनुहारका नेतादेखि केही नयाँ उम्मेदवारहरू पनि चुनाव लड्न अघि सरेका छन् । दोलखामा प्रतिनिधि सभाको एक र प्रदेश सभाका २ निर्वाचन क्षेत्र छन् । २०७४ को निर्वाचनमा एमाले र माओवादी मिलेर बाम गठबन्धनको तर्फबाट चुनावी प्रतिष्पर्धा गर्दा देशभरकै सबैभन्दा धेरै मतान्तर ल्याएर एमालेका पार्वत गुरुङ निर्वाचित भएका थिए ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनबाट जिल्लामा ७ पालिका जितेको एमाले २ पालिकामा खस्किएको छ । दाह्रानंग्रा फुकालिएको जस्तो भएको एमालेलाई यसपटक विगतको विरासत जोगाउने चुनौती थपिएको छ ।

यो अंकमा कान्तिपथले दोलखाको प्रदेशसभा ‘क’ को चुनावी अंकगणितको हिसाबकिताब निकालेको छ । अघिल्लो पटक बाम गठबन्धन गरेका एमाले र माओवादी अहिले चुनावी सहकार्यमा छैनन् । माओवादी, कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पाँच दलिय गठबन्धन बनाएर चुनावी मोर्चामा छन् ।

दोलखाको प्रदेशसभा ‘क’ मा जिरी नगरपालिकासहित तामाकोशी, बैतेश्वर, मेलुङ्ग र गौरीशंकर गाउँपालिका रहेका छन् । ५ पालिका मध्ये जिरी र मेलुङ्ग एमालेले जितेको छ भने बैतेश्वर कांग्रेस, गौरीशंकर माओवादी र तामाकोशी समाजवादीले जितेका छन् । एक्लाएक्लै प्रतिष्पर्धा भएको खण्डमा यो क्षेत्रमा एमाले बलियो देखिन्छ तर अन्य दलहरुले गठबन्धन गरेर जाने सहमति गरिसकेका छन् ।

गठबन्धनको निर्णय भए पनि सिट बाँडफाँटको निर्णय भने भैसकेको छैन । पालिका प्रमुखका उम्मेदवारको मतलाई आधार मान्दा यो क्षेत्रमा एमाले गठबन्धन भन्दा ८५७८ मतान्तरले पछाडी देखिन्छ । यी ५ पालिकामा एमालेका उम्मेदवारको मत १८५१३ रहेको छ भने गठबन्धनका उम्मेदवारहरुको २७०९१ मत देखिन्छ ।

अघिल्लो निर्वाचनमा यो क्षेत्रमा माओवादी केन्द्रका विशाल खड्का २८३५० मत ल्याएर विजयी भएका थिए भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका बर्मा लामाले १२९५६ मत ल्याएका थिए । हाल एकै गठबन्धनमा रहेका उनीहरु मध्ये खड्का बागमती प्रदेशका वनमन्त्री छन् भने लामा कांग्रेसको जिल्ला सभापति ।

प्रदेश सांसदका लागि एमालेबाट जिरी नगरपालिकाका पुर्व मेयर टंक जिरेल, बागमती प्रदेश योजना आयोगका पुर्वसदस्य श्याम बस्नेत लगायत आकांक्षी छन् । एमालेबाट केशव चौलागाईं, हेमन्त चौलागाईं, बिदुर शर्मा पनि टिकटका दाबेदार हुन् । एमालेका पुर्व जिल्ला इश्वर चन्द्र पोखरेलले भने प्रदेशमा चुनाव नलड्ने बताएका छन् तर अन्तिम अवस्थामा पार्टीले निर्णय गर्दा उठ्न पनि सक्ने बताईन्छ ।

माओवादीबाट केन्द्रिय सदस्य नविन जिरेल ‘प्रतिक’, बैकल्पिक केन्द्रिय सदस्य शंकर लामा, जिल्ला सह-इन्चार्ज परशुराम रिमाल ‘कपिल’, प्रदेश सदस्य तथा क्षेत्रिय इन्चार्ज प्रभातजंग कार्की, यातायात मजदुरका केन्द्रिय अध्यक्ष रामचन्द्र कार्की लगायत प्रमुख आकांक्षीको रुपमा देखिएका छन् । कार्कीले सामाजिक संजालबाट उम्मेदवारी घोषणा नै गरिसकेका छन् ।

कांग्रेसबाट जिल्ला सभापति बर्मा लामा, केन्द्रिय सदस्य कुन्दनराज काफ्ले लगायत प्रमुख दाबेदार हुन् । गठबन्धनबाट टिकट पाएको खण्डमा समाजवादीका जिल्ला अध्यक्ष भिम दाहाल पनि चुनाव लड्ने सुरसारमा छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत