बिहिबार, अशोज २०, २०७९

पाटनको कुम्भेश्वरमा जनैपूर्णिमा मेला


कान्तिपथ



साउन शुक्लपूर्णिमा अर्थात जनैपूर्णिमाका दिन पाटनको कुम्भेश्वरमा भव्य मेला लागिरहेको छ । कुम्भेश्वरमा गोसाइँकुण्डबाट जल आउँछ भन्ने मान्यता रहेकाले आज सो स्थानमा स्नानका साथै महादेवको आरधना गर्न ठूलो सङ्ख्यामा मानिस भित्रिएका हुन् । हिजो राति ११ बजेदेखिनै कुम्भेश्वरमा भक्तजनको भीड लागिरहेको कुम्भेश्वर टोल सुधार समितिका अध्यक्ष अरोजकुरमार खड्गीले बताउनुभयो । उहाँले भन्नुभयो, “महादेवको दर्शन गर्नाका साथै पूजा तथा हातमा डोरो बाँध्न र जनै धारण गर्नका लागि थुप्रै मानिस मन्दिरमा भित्रिरहेका छन् ।” मेला भने सहज रुपमा सञ्चालन भइरहेको अध्यक्ष खड्गीले जानकारी गराउनुभयो ।

मन्दिरभित्रका साथै बाहिर डोरो तथा जनै लगाइदिने र लगाउने मानिसको पनि व्यापक सहभागिता रहेको समितिका उपाध्यक्ष वसन्त खड्गीले बताउनुभयो । उहाँले भन्नुभयो, “दर्शनार्थीको घुइँचोले हामीलाई मन्दिरभित्र हिँडडुल गर्न पनि गाहो भइरहेको छ ।” मन्दिरको भीडभाडमा हुनसक्ने चोरीलगायत अन्य घटनाका लागि भने सुरक्षा व्यवस्था कडा पारिएको उहाँले जानकारी गराउनुभयो ।

अगस्त्य ऋषिले कुम्भ अर्थात कलशमा महादेवको आह्वान गरेर उत्पति गराएकाले कुम्भेश्वर महादेव भनिएको मन्दिरका मूल पुजारी माधवश्याम शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “यस मन्दिरमा कुम्भेश्वर र सर्वेश्वरका दुई मूर्ति छन् । सजिलैसँग दर्शन गर्न सकिने देखिरहेको महादेव सर्वेश्वर हुन् ।” सर्वेश्वर महादेवलाई मृत्युञ्जय महादेव पनि भनिने गरिएको मूल पुजारी शर्माले जानकारी गराउनुभयो । सनातन हिन्दू र बौद्ध धर्म मान्ने भक्तजनले कुम्भेश्वरलाई बज्रपानी लोकेश्वर भनेर पुज्ने गर्छन् । श्री स्वस्थानीमा वर्णन भएका ६४ शिवलिङ्गमध्ये सर्वेश्वर महादेव पनि एक हुन् । मार्कण्डेय ऋषिले सर्वेश्वर महादेवको आरधना गरी आफ्नो छोटो आयुलाई चिरञ्जीवी बनाएको कुरा पुराण आदिमा उल्लेख छ । सर्वेश्वर महादेवको आरधना गरे रोगव्याधि निको भई दिर्घायु प्राप्त हुने विश्वास हिन्दू तथा बौद्ध धर्मावलम्बीमा छ ।

त्यसैगरी उक्त महादेव मन्दिरको काखमा दश महाविद्यामध्ये एक विद्याको मालिकका साथै शत्रुलाई पराजय गर्ने शक्तिका रुपमा पुुजिने बङ्गलामुखी देवीको मन्दिरसमेत छ । मुलुकमा कोभिड–१९को महामारी भित्रिएकाले विगतको दुई वर्षमा भने उक्त मन्दिरमा जनैपूर्णिका दिन मेला लागेकोे थिएन । हाल केही मात्रामा कोरोना न्यून रहेकाले मेला लागेको हो । कुम्भेश्वरमा हरेक साउनको सोमबार, बालाचतुदर्शी, शिवरात्रि आदि पर्वमा भक्तजनको ठूलो उपस्थिति हुने मूल पुजारी शर्माको भनाइ थियो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत