आइतवार, अशोज ९, २०७९

नुवाकोटको गठबन्धनमा आकांक्षीको लर्को: टिकट मिलाउनै सकस !


कान्तिपथ


मध्ये नेपालको प्रमुख राजनीतिक केन्द्र मानिने नुवाकोटमा आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रभाव देखाउन दलहरू तयारीमा जुटेका छन् । स्थानीय निर्वाचनमा ‘क्लिन स्वीप’ भएको नेकपा एमाले धूलो टक्टक्याउँदै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जीत निकाल्ने तयारीमा लागेको छ ।

सत्तारुढ दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी गठबन्धनको बलमा एमालेलाई रोक्ने गरी निर्वाचनमा जानुपर्ने आन्तरिक गृहकार्यमा केन्द्रित देखिन्छन्। यो जिल्ला एमाले उपमहासचिव विष्णु रिमालको जिल्ला हो ।

२०७४ सालमा एमाले-माओवादीको वाम गठबन्धन भयो। जिल्लाका दुवै क्षेत्रमा वाम गठबन्धनका उमेदवारले चुनाव जिते। २०७४ सालमा नुवाकोट-१ मा वाम गठबन्धनको तर्फबाट माओवादी नेता हितबहादुर तामाङले ३६ हजार ४७३ मत ल्याएर विजयी भएका थिए। उनका प्रतिद्वन्द्वी बनेका कांग्रेस नेता डा. रामशरण महतले २७ हजार ९२० मत पाएर निर्वाचन हारे। नुवाकोट-२ मा पनि गठबन्धनका तर्फबाट उमेदवार बनेको एमाले नेता नारायण खतिवडाले ३६ हजार ८९२ मत पाएर प्रतिनिधिसभा सदस्य बनेका थिए। कांग्रेस नेता अर्जुननरसिंह केसीले २६ हजार ३३५ मात्र मत पाए।

नुवाकोट-१ मा स्थानीय तहको चुनावमा वडा अध्यक्षले पाएको मतलाई हेर्ने हो भने कांग्रेसका वडाध्यक्ष उम्मेदवारले २८ हजार ९६२, माओवादीका उम्मेदवारले २३ हजार २००, एमालेका उम्मेदवारले १८ हजार २६७, राप्रपाका उम्मेदवारले ४ हजार ७८, नेकपा एसका उम्मेदवारले २ हजार २४५ मत पाएका छन्। यसलाई आधार मान्दा गठबन्धनका पक्षमा ५४ हजार ४०७ मत देखिन्छ। यो एमालेकोभन्दा ३६ हजार १४० ले बढी हो।

नुवाकोट-२ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २९ हजार ८६१, एमालेका उम्मेदवारले २६ हजार ३७७, माओवादीका उम्मेदवारले १६ हजार ६७, राप्रपाका उम्मेदवारले २ हजार २११ र नेकपा एसका उम्मेदवारले ९६१ मत पाएका छन्। एमालेको भन्दा गठबन्धनमा रहेका दलको ६ हजार ११२ भोट बढी छ।

नुवाकोटमा कांग्रेसबाट डा.प्रकाशशरण महत, डा.रामशरण महत, अर्जुननरसिंह केसी, बहादुरसिंह लामा प्रमुख आकांक्षी हुन् भने सत्ता घटक कै माओवादी केन्द्रबाट हितबहादुर तामाङ, विमला सुवेदी, राधिका तामाङ्ग, उत्तम अधिकारी र हीरानाथ खतिवडा लगायत आकांक्षी छन् । एमालेबाट विष्णु रिमाल, नारायण खतिवडा, महेन्द्र पाण्डे र केशव पाण्डेमध्ये कोहि दुईलाई उम्मेदवारी बनाउने चर्चा छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत