शुक्रबार, अशोज १८, २०८१

टिकटको हानाथाप सुरु : दोलखा प्रदेश ‘ख’ मा को-को छन् आकांक्षी ?


कान्तिपथ


कान्तिपथ संवाददाता। निर्वाचनको मिति घोषणासँगै केन्द्रीय राजनीतिमा प्रभावशाली जिल्लाको पहिचान बनाएको दोलखामा प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका सम्भावित उम्मेदवारहरुको चर्चा सुरु भएको छ । आफू निरन्तर प्रतिस्पर्धा गर्दै आइरहेको क्षेत्रमा गठबन्धनको नाममा अन्य उम्मेदवारलाई रोक्ने प्रयास समेत नेताहरूले गरिरहेका छन् ।

विगतका चुनावी परिणाम हेर्दा जिल्लामा कम्युनिष्ट मत प्रभावी देखिन्छ। अघिल्ला चुनावमा प्रतिस्पर्धा गरेका राजनीतिक दलका पुरानै अनुहारका नेतादेखि केही नयाँ उम्मेदवारहरू पनि चुनाव लड्न अघि सरेका छन् । दोलखामा प्रतिनिधि सभाको एक र प्रदेश सभाका २ निर्वाचन क्षेत्र छन् । २०७४ को निर्वाचनमा एमाले र माओवादी मिलेर बाम गठबन्धनको तर्फबाट चुनावी प्रतिष्पर्धा गर्दा देशभरकै सबैभन्दा धेरै मतान्तर ल्याएर एमालेका पार्वत गुरुङ निर्वाचित भएका थिए ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनबाट जिल्लामा ७ पालिका जितेको एमाले २ पालिकामा खस्किएको छ । दाह्रानंग्रा फुकालिएको जस्तो भएको एमालेलाई यसपटक विगतको विरासत जोगाउने चुनौती थपिएको छ ।

यो अंकमा कान्तिपथले दोलखाको प्रदेशसभा ‘ख’ को चुनावी अंकगणितको हिसाबकिताब निकालेको छ । अघिल्लो पटक बाम गठबन्धन गरेका एमाले र माओवादी अहिले चुनावी सहकार्यमा छैनन् । माओवादी, कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पाँच दलिय गठबन्धन बनाएर चुनावी मोर्चामा छन् ।

दोलखाको प्रदेशसभा ‘ख’ मा जिल्ला सदरमुकाम रहेको भिमेश्वर नगरपालिकासहित कालिन्चोक, शैलुङ्ग र बिगु गाउँपालिका रहेका छन् । ४ पालिका मध्ये बिगु र शैलुङ्ग माओवादीले जितेको छ भने भिमेश्वर र कालिन्चोक कांग्रेसले जितेको छ । एक्लाएक्लै प्रतिष्पर्धा भएको खण्डमा यो क्षेत्रमा एमाले बलियो देखिन्छ तर अन्य दलहरुले गठबन्धन गरेर जाने सहमति गरिसकेका छन् ।

गठबन्धनको निर्णय भए पनि सिट बाँडफाँटको निर्णय भने भैसकेको छैन । पालिका प्रमुखका उम्मेदवारको मतलाई आधार मान्दा यो क्षेत्रमा एमाले गठबन्धन भन्दा ३४७४ मतान्तरले पछाडी देखिन्छ । यी ४ पालिकामा एमालेका उम्मेदवारको मत २०८०७ रहेको छ भने गठबन्धनका उम्मेदवारहरुको २४२८१ मत देखिन्छ ।

अघिल्लो निर्वाचनमा यो क्षेत्रमा एमालेका पशुपति चौलागाईं २३०५८ मत ल्याएर विजयी भएका थिए भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका केशवराज चौलागाईंले १०८८० मत ल्याएका थिए । यो क्षेत्रमा एमाले कै नेता लालकुमार केसी माले प्रवेश गरेर उम्मेदवारी दिएका थिए उनले ३४०४ मत ल्याए भने मंगोल नेशनल अर्गनाइजेसनका साङ ठिलेन शेर्पाले १०४५ मत ल्याएका थिए । यी मध्ये पशुपति चौलागाईंको कोरोनाका कारण निधन भैसकेको छ भने लालकुमार केसी एमाले फर्किसकेका छन् ।

स्थानीय निर्वाचनमा एमालेका वडा अध्यक्षको मत ३९०५०, कांग्रेसको ३३४३९, माओवादीको १७३७५ र समाजवादीको ३१५१ मत रहेको छ । प्रदेश सांसदका लागि एमालेबाट भिमेश्वर नगरपालिकाका पुर्व मेयर भरत केसी, पुर्व जिल्ला समन्वय समिति प्रमुख डबल पाण्डे, पुर्व जिल्ला सचिव भरत दुलाल, पुर्व जिविस सभापति लालकुमार केसी, माओवादीबाट प्रवेश गरेका कृष्ण भुजेल, बिनकुमार थामी लगायत प्रमुख दाबेदार हुन् । यो क्षेत्रमा क मा जस्तो एमालेका लागि नेतृत्वको खडेरी भने छैन । यहाँको उम्मेदवार छनोटमा पार्वत गुरुङ्ग र आनन्द पोखरेलको टसलले काम गर्ने देखिन्छ ।

कांग्रेसबाट प्रदेश सांसदको लागि केन्द्रिय सदस्य अजयबाबु शिवाकोटी, अघिल्लो पटकका उम्मेदवार केशवराज चौलागाईं, पुर्व जिल्ला सचिव सन्तोष रिमाल लगायत आकांक्षी छन् ।

माओवादीको तर्फबाट बैकल्पिक केन्द्रिय सदस्यद्वय गोपाल पाण्डे, नरबहादुर पाख्रिन, पुर्व संबिधानसभा सदस्य हेम श्रेष्ठ लगायत दाबेदार हुन् । पाख्रिनलाई जिल्ला समन्वय प्रमुखमा ल्याउनका लागि वडा सदस्यमा उठाईएको थियो भने श्रेष्ठ एकपटक संसद छिरिसकेका छन् त्यसो हुँदा भागबण्डामा माओवादीलाई यो क्षेत्र पर्दा पाण्डे निर्विकल्प जस्तै देखिन्छन । यो क्षेत्रमा उनका प्रतिष्पर्धी देखिने कुलबहादुर बुढाथोकी गाउँपालिका उपाध्यक्ष बनिसकेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत