आइतवार, अशोज ९, २०७९

काठमाडौँ ५ को चुनावी चर्चा: ईश्वर पोखरेलसँग सुदेश पराजुली भिड्ने !


कान्तिपथ


आगामी मङ्सिर ४ गते प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन हुने भएसँगै राजनीतिक दलहरूलाई चुनावी चटारोले छोएको छ । २०७२ सालमा संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक पार्टी तथा स्वतन्त्र उम्मेदवार समेत चुनावी नतिजा आफ्नो पक्षमा पार्ने कसरतमा जुटेका छन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनले प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि सिट बाँडफाँट गर्न कार्यदल नै गठन गरेर गृहकार्य थालिसकेको छ भने प्रमुख प्रतिपक्ष नेकपा एमालेले भदौ दोस्रो साताभित्र पार्टी कमिटीका बैठक राखेर चुनावी रणनीति, कार्ययोजना र उम्मेदवार तय गर्ने तयारी थालेको छ ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल यो पटक पनि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाटै चुनाव लड्न तयारीमा छन् । पोखरेल २०७४ को निर्वाचनमा काँग्रेस उम्मेदवार प्रकाशशरण महतलाई हराउँदै निर्वाचित भएका थिए । पोखरेलले २३ हजार २९ मत ल्याउँदा महतले १३१६९ मत मात्र पाएका थिए । तर यो पटक पाँच दलीय गठबन्धन हुँदा पोखरेललाई जीत निकाल्न कठिन हुने देखिन्छ ।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ५ मा एमाले स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारहरूले १९ हजार ७ सय ३ मत पाएका छन् । तर काँग्रेसले १४ हजार ८ सय ५३, माओवादीले ११ सय ६८ र एकीकृत समाजवादीले १८ सय २७ मत पाएको छ । राप्रपाको २८ सय २२ मत छ, यो क्षेत्रमा राप्रपाको मत निर्णायक समेत मानिन्छ । त्यस्तै यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारले समेत उम्मेदवारी दिने र प्रभावले पोखरेललाई चुनाैती हुनसक्छ ।

२०५६ सालमा निर्वाचन प्रचारकै क्रममा तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारीको निधन भएपछि ईश्वर पोखरेललाई सोही क्षेत्रमा उम्मेदवार बनाइएको थियो । त्यसबेला पनि उनले चुनाव जितेका थिए । २०६४ र २०७० सालमा भने पोखरेलले चुनाव हारेका थिए । त्यसबेला कांग्रेसका नरहरि आचार्य विजयी भएका थिए ।

२०७४ सालमा कांग्रेसले नेता डा. प्रकाशशरण महतलाई एमालेका नेता ईश्वर पोखरेलसँग भिडाएको थियो । डा. महतले करीब १० हजार मतान्तरले चुनाव हारे । डा. महत काठमाडौंको क्षेत्र छाडेर आफ्नो गृहजिल्ला नुवाकोट फर्किने मनस्थितिमा छन् ।

डा. महत नुवाकोट फर्किएको अवस्थामा गठबन्धनले काठमाडौं क्षेत्र नम्बर ५ मा नयाँ उम्मेदवार अघि सार्नुपर्ने हुन्छ । महत गृह जिल्ला फर्कने चर्चा भएपछि एकीकृत समाजवादीका नेता तथा अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले चुनाव लड्न कै लागि राजनीतिक गतिविधि बढाएका छन् । विद्यार्थी आन्दोलनबाट आएका पराजुलीले दाबी गर्दा माधव नेपाललले पनि नकार्न नसक्ने स्थिति छ । पराजुली यो क्षेत्रमा लोकप्रिय उम्मेदवार पनि हुन् । स्रोतका अनुसार समाजवादीले काठमाडौँमा जीवनराम श्रेष्ठ र पराजुलीलाई सुरक्षित गर्न खोजेको छ ।

पराजुलीले उक्त निर्वाचन क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू, सामाजिक अभियन्ता, गठबन्धन दल भित्रका नेता कार्यकर्तासँगको भेटघाट बढाएका छन् । पुर्व प्रधानमन्त्रीहरुलाई हराउनका लागि बनेको नो नट अगेन क्याम्पेनको निशानामा पटक मन्त्री बनेका, सो क्षेत्रका लागि केहि गर्न नसकेका तथा ठुला ठुलो काण्डमा डामिएका भन्दै पोखरेल पनि निशानामा परेका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार पराजुलीलाई युवा र केहि स्वतन्त्र अभियन्ताको पनि साथ् हुने देखिएको छ । सो क्षेत्रमा कांग्रेसबाट नैनसिंह महरको पनि दाबी छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत