शुक्रबार, अशोज २१, २०७९

धर्मपुत्री राखेर पटकपटक बलात्कार : ७ लाखमा घटना राफसाफ !


कान्तिपथ


जुम्लामा धर्मपुत्रीको रूपमा राखेकी १३ वर्षीया बालिकामाथि बलात्कार भएको छ । धर्मपुत्रीको रूपमा घरमा राखेका प्रेमराजा भनिने प्रेमजंग महतले बालिकालाई पटकपटक करणी गरेको घटना बाहिर आएको हो ।

जाजरकोट स्थायी घर भएर आमासँग जुम्ला सदरमुकाम खलंगा आएकी १३ नाबालिकामाथिमाथि चन्दननाथ नगरपालिका–७ निवासी महतले एक महिनासम्म पटकपटक करणी गरेका थिए । करणी गरेको बाहिर आएपछि घटना ७ लाखको लेनदेनमा मिलापत्र गरिएको छ । स्रोतका अनुसार सामुदायिक प्रहरी केन्द्रमा कार्यरत एक स्थानीय, एकजना अधिवक्ता, मानवअधिकार आयोगमा कार्यरत सुरक्षा गार्ड, होटल व्यवसायी एक महिलालगायतका व्यक्तिको रोहवरमा ७ लाखमा मिलापत्र गरिएको हो ।

मिलापत्रमा करणी सम्बन्धी कतै उल्लेख छैन । मिलापत्रमा बालिकालाई पठनपाठन सहयोगका लागि भनेर रकम दिइएको कागज बनाइएको छ । बालिकालाई महतले पढाइदिने र घरायसी कामका लागि छोरी (धर्मपुत्री) बनाएर राख्ने बालिकाकी आमासँग सहमति गरी घरमा लगिएको बुझिएको छ । आमाले दोस्रो बिहे गरेकाले उनी पनि जुम्ला आएकी थिइन् । उनकी आमाले पस चलाउँदै आएकी छन् ।

महतले करणी गरेको कुरा अरूसँग नभन्न र सबैका अगाडि ‘बाबा’ भन्ने राति आफूलाई श्रीमान् स्विकार्न दबाब दिने गरेको ती बालिकाले बताएकी छन् । महतले आफूलाई करणी गर्ने र अरूसँग भने मारिदिन्छु भन्ने धम्की दिन थालेपछि नाबालिकाले मुसा मार्न प्रयोग हुने विष पनि खाएको बुझिएका छ ।

विष खाएपछि बान्ता भएको र उनलाई तिनै महतले साबुनपानी खुवाएका थिए । त्यसको केही समयपछि महतले नै बालिकाकी आमालाई छोरी बिरामी भएको बताएका थिए । उनकी आमाले उपचारका लागि घरमा ल्याएकी थिइन् । आमा भन्छिन्, ‘छोरीले धेरै बान्ता गर्दा शंका लागी सोध्दा महतले करणी गर्ने गरेको र कुनै उपाय नदेखेर विष खान बाध्य भएको छोरीले बताई ।’

बालिकामाथि करणी भएपछि प्रहरी र प्रशासनमा उजुरी परेको छैन । करणी गर्ने महतका दाजु सामुदायिक प्रहरी केन्द्रमा कार्यरत छन् । एकजना अधिवक्ता, मानवअधिकार आयोगमा कार्यरत सुरक्षा गार्ड, होटल व्यवसायी एक महिला लगायतका व्यक्तिको रोहवरमा ७ लाखमा मिलापत्र गरिएको छ ।

मिलापत्रमा करणी सम्बन्धी कतै उल्लेख छैन । मिलापत्रमा बालिकालाई पठनपाठन सहयोगका लागि भनेर रकम दिइएको कागज बनाइएको छ । १३ वर्षीया बालिका करण गर्ने महतबाट मिलापत्रका लागि ७ लाख रकम दिइएको एक कागज भेटिएको छ । मिलापत्र गरेको कागजातमा कालीबहादुर भण्डारी (वडा सदस्य) चन्दननाथ नपा ५, जीवन महत, चन्दननाथ–४ का नवराज भारती, तातोपानी गापा–८ का ईश्वरी आरसी, कागज बनाउन सहयोग गर्ने अधिवक्ता दिलबहादुर महत र चन्दनाथ–७ का महेन्द्रबहादुर महत छन् ।

पीडितका अनुसार जीवन महतले १५ हजार लिएको र अरू सबैले कुरा मिलाएको भन्दै १०/१० हजार लिएका हुन् । बाँकी ६ लाख रुपैयाँ पीडित बालिकाको जुम्लामा रहेको माछापुच्छ्रे बैंकको खातामा जम्मा गरिएको कागजातसमेत फेला परेको छ ।

पीडित बालिका चन्दननाथ नमुना माध्यमिक विद्यालयको कक्षा ४ मा पढ्थिन् । सोही विद्यालयकी शिक्षक बबी केसी भन्छिन्, ‘ती बालिका सुरुमा स्कुल आउँदा पढाइमा जागरुक थिइन् । केही समयपछि भने उनी विद्यालय आउँदा टोलाएर बस्ने गरेको देखेँ । मैले चासो दिएर सोधेँ । उनी बेस्सरी रुन थालिन् ।’

सोध्दै जाँदा बालिकाले आफूमाथि करणी भएको बताएकी केसीले बताइन् । घटनापछि विद्यालयमा अभिभावक भेला बोलाएर यो विषयमा छलफल भएको थियो । ‘बालिकाकी आमा समेत आइन् । उनलाई मैले नराम्ररी झपारे’, शिक्षक केसीले भनिन्, ‘बालिकाकी आमालाई कानुनी रूपमा जान सुझाएकी थिए । तर, उनी पैसामा मिलापत्र गरेको खबर सुन्न आएको छ ।’

२०७५ साल भदौ १ गतेदेखि भने मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता अलग–अलग कार्यान्वयनमा आएको छ र अलग प्रकृतिका कसुर यी कानुनले अलग–अलग हेर्ने गर्दछ। अपराध संहिताको परिच्छेद १८ मा करणी सम्बन्धी कसुर र त्यसको दण्ड व्यवस्थाबारे उल्लेख छ। जसको दफा २१९ मा जबरजस्ती करणी गर्न नहुने उल्लेख छ। त्यसरी कानुनले नगर्न भनिएको कुरा गरेमा कुन–कुन अवस्थामा के–कति दण्ड–सजाय हुने भन्ने प्रष्ट गरिएको छ।

दफा २१९ को उपदफा(२) मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिने छ। मुलुकी अपराध संहिता, २०७४ परिच्छेद– १८ करणी सम्बन्धी कसुर यस्तो व्यवस्था गरेको छ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत