बिहिबार, अशोज २०, २०७९

एमालेलाई चुनाव फलामको चिउरा चपाए सरह !

दोलखाको संघिय चुनाव : कुन दलबाट को आकांक्षी ?

जिल्लाका ९ मध्ये ७ पालिकामा यो गठबन्धनको नेतृत्व छ ।


कान्तिपथ


कुनै बेला दोश्रो झापा भनेर चिनिने कम्युनिस्ट ‘गढ’ मानिएको दोलखामा आसन्न चुनावको रस्साकस्सी सुरु भएको छ । प्रतिनिधि सभातर्फ एक निर्वाचन क्षेत्र रहेको दोलखामा गत निर्वाचनमा एमाले र माओवादीको साथले एमालेका पार्वत गुरुङ्गले निर्वाचन जितेका थिए । गुरुङ्गले कांग्रेसका उम्मेदवार रुद्रबहादुर खड्कालाई ३० हजार ६४४ मतान्तरले पराजित गरेका थिए ।

गुरुङ्गले ५५४५७ मत ल्याउँदा खड्काले २४८१३ मत ल्याएका थिए । प्रदेश सभातर्फ एमालेका पशुपति चौलागाईं र माओवादी केन्द्रबाट विशाल खड्का निर्वाचित भएका थिए । चौलागाईंको निधन भैसकेको छ भने खड्का हाल बागमती प्रदेशको वन तथा वातावरण मन्त्री छन्।

नेकपा फुटका कारण यसपटक पहिलेको जस्तो परिस्थिति छैन । एमाले हाल फुटसहित एक्लिएको छ भने माओवादी, कांग्रेस र एकीकृत समाजवादी एकै गठबन्धनमा छन् । जिल्लाका ९ मध्ये ७ पालिकामा यो गठबन्धनको नेतृत्व छ ।

अघिल्ला चुनावमा प्रतिस्पर्धा गरेका राजनीतिक दलका पुरानै अनुहारका नेतादेखि केही नयाँ उम्मेदवारहरू पनि चुनाव लड्न अघि सरेका छन् । दोलखामा दुई निर्वाचन क्षेत्र रहेका बेला २०५१ को मध्यावधी चुनावमा एक पटक, एक सिट बाहेक कांग्रेसले बुहदल पछिका अन्य आम निर्वाचनबाट सांसद जित्न सकेको छैन् । संघिय सांसदको टिकट गठबन्धनबाट कुन दलले पाउने निश्चित भएको छैन ।

दोलखाको प्रदेशसभा ‘क’ मा जिरी नगरपालिकासहित तामाकोशी, बैतेश्वर, मेलुङ्ग र गौरीशंकर गाउँपालिका रहेका छन् । ५ पालिका मध्ये जिरी र मेलुङ्ग एमालेले जितेको छ भने बैतेश्वर कांग्रेस, गौरीशंकर माओवादी र तामाकोशी समाजवादीले जितेका छन् ।

त्यसैगरि प्रदेशसभा ‘ख’ मा जिल्ला सदरमुकाम रहेको भिमेश्वर नगरपालिकासहित कालिन्चोक, शैलुङ्ग र बिगु गाउँपालिका रहेका छन् । ४ पालिका मध्ये बिगु र शैलुङ्ग माओवादीले जितेको छ भने भिमेश्वर र कालिन्चोक कांग्रेसले जितेको छ ।

९ वटै पालिका प्रमुखको मतलाई आधार मान्ने हो भने गठबन्धनसँग ५१ हजार ५७२ मत (कांग्रेस २२५००, माओवादी १८६६८ र समाजवादी १०४०४) रहेको छ भने एमालेको ३९ हजार ३२० मत रहेको छ । पालिका प्रमुखको मतलाई कट अफ पोइन्ट मान्दा एमाले गठबन्धन भन्दा १२ हजार २५२ मत पछाडी छ ।

स्थानीय तहमा वडा अध्यक्षले पाएको मतलाई आधार बनाउने हो भने गठबन्धनसँग ५३ हजार ९६५ मत (कांग्रेस ३३४३९, माओवादी १७३७५ र समाजवादी ३१५१) रहेको छ भने एमालेको ३९०५० मत रहेको छ । वडा अध्यक्षको मतलाई कट अफ पोइन्ट मान्दा एमाले गठबन्धन भन्दा १४९१५ मत पछाडी रहेको छ । वडाअध्यक्षमा राप्रपाको पनि १५११ मत रहेको छ ।

प्रतिनिधिसभाको लागि प्रमुख ३ राजनीतिक दलबाट प्रखर रुपमा देखिएका ३/३ जना उम्मेदवारलाई यहाँ प्रस्तुत गर्न खोजिएको छ। एमालेबाट वहालवाला सांसद तथा पुर्व मन्त्री पार्वत गुरुङ, पुर्व मन्त्री आनन्दप्रसाद पोखरेल र नेता बालकृष्ण शिवाकोटी सशक्त दाबेदार हुन् । दोलखा एमालेभित्रको सत्ता भनेर चित्रित पार्वत गुरुङ प्रतिनिधिसभाको टिकटका प्रमुख दाबेदार हुन् । विगतमा पनि उनी पशुपति चौलागाईं जस्ता सिनियरलाई पन्छाएर टिकट लिन सफल भएका थिए। ओली सरकारको प्रवक्ता भएर काम गरिसकेको, बाम गठबन्धन हुँदा देशभरमा तेश्रो धेरै मत र सबैभन्दा धेरै मतान्तरले जितेका कारण उनले आफुलाई प्रबल दाबेदारको रुपमा चित्रित गर्ने गरेका छन् । उनी एमालेमा जनजातीको सिनियर नेता भित्र पर्छन भने केन्द्रिय कमिटीमा पोखरेल भन्दा अगाडी पुगेका हुन् ।

आनन्द पोखरेलले पनि अघिल्लो पटक टिकट नपाएको भन्दै यो पटक जसरी नि पाउनु पर्ने भन्दै अड्डी कस्ने बुझिन्छ । उनी पर्यटनमन्त्रीसमेत भैसकेका छन् । हाल एमालेको पोलिटब्युरो सदस्य छन् । एमालेको कार्यकर्ता पंति देखि जिल्ला कमिटी सदस्यसम्मले यसपटक फ्रेस अनुहार ल्याउनु पर्छ भन्दै गर्दा लगानी बोर्डका सदस्य बालकृष्ण शिवाकोटी बैकल्पिक नेताको रुपमा उदाएका छन् । सफल व्यवसायी तथा लगानीकर्ताको छवि बनाएका शिवाकोटी पछिल्लो समय जिल्ला कै राजनीतिक क्रियाकलापमा ब्यस्त हुन थालेका छन् । गठबन्धनको उम्मेदवार प्रदेश क बाट उठाउने हुँदा प्रदेश ख को भोट ब्यांक क्यास गर्न उनी सम्भावित दाबेदार हुन सक्छन। जिल्ला कै कतिपय नेता उनलाई पार्टी अध्यक्ष केपी ओलीको किचन क्याबिनेटको रुपमा चित्रित गर्छन । संघको नभए प्रदेशको टिकट उनको पक्कापक्की नै छ।

माओवादीकी सिनियर महिला नेता मध्ये एक हुन् जिल्ला इन्चार्ज तथा पोलिटब्युरो सदस्य देवी खड्का । २०६४ साल मै प्रत्यक्ष निर्वाचन जितेर जिल्लाका हाल रहेका समकालीन नेता भन्दा अगाडि मन्त्री भएकी थिइन् खड्का । उठ्न चाहेको खण्डमा माओवादीको खड्का नै माओवादीबाट प्रमुख दाबेदार हुन् । दोलखामा माओवादीका संस्थापक नेता गंगा कार्की पनि प्रतिनिधिसभाका आकांक्षी हुन् । हालसम्म कुनै लाभको पदमा नपुगेको सहानुभूति हुने भएपनि पछिल्लो समय कार्कीको जिल्लाका राजनीतिक क्रियाकलापमा सक्रियता घट्दो छ । हाल उनी पार्टीको पोलिटब्युरो सदस्य छन् । कार्कीलाई राष्ट्रियसभामा ल्याउने गरि पनि नेताहरुले छलफल चलाएका छन् ।

वहालवाला सांसद तथा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्का संघिय निर्वाचनको गठबन्धनको तर्फबाट चर्चामा रहेका नेता हुन् । मन्त्री हुँदा जिल्लामा ल्याएको बजेट र मन्त्रालयको सफल कार्यकालका कारण उनी गठबन्धन इत्तर खेमामा पनि उत्तिकै लोकप्रिय छन् । पार्टीले नै युवालाई प्राथमिकता दिने निर्णय गरेको हुँदा प्रचण्डको रडारमा उनी पर्न सक्छन । प्रदेशसभा जित्दा पनि उनको लोकप्रिय मत आएको थियो ।

https://kantipath.com/2022/08/14/28706/?fbclid=IwAR3DS9S8QgmRgCyWEhlfAaZM5UFKEK_JiXD2GCW0CRsZdEcIciz9dd5Stm4

पार्टीको केन्द्रिय कार्यसम्पादन समितिमा रहेका जिपछिरिङ लामा कांग्रेसका सबैभन्दा बलिया र प्रबल दाबेदार हुन् । देउवा निकट मानिने उनी जिल्लाका सबै भन्दा सिनियर कांग्रेस नेता हुन् । यसपटक गठबन्धनबाट टिकट पाए प्रत्यक्ष चुनाव जित्ने उनको धोको पुरा हुने थियो । हाल लामा समानुपातिक तर्फका संघीय सांसद समेत हुन् । अन्य दुई केन्द्रिय नेता कुन्दनराज काफ्ले र अजयबाबु शिवाकोटीले पनि आकांक्षा राखेका भएपनि सम्भावना भने न्युन छ । लामा देउवा, शिवाकोटी गगन थापा र काफ्ले कृष्ण सिटौला निकट मानिन्छन ।

निवर्तमान सभापति ताराबहादुर कोईरालाले सशक्त दाबेदारी प्रस्तुत गरेका छन् । पार्टीको चार पटक जिल्ला सभापति बनेका उनी २०५६, २०६४ र २०७० को निर्वाचनमा नेपाली कांग्रेसबाट क्षेत्र नं २ मा सांसद लडेका थिए । जनमतका हिसाबले लोकप्रिय रहेका उनी समेत कोईराला समुह निकट हुन् । कठिन समयमा पार्टी जोगाएका उनको दाबेदार स्वाभाविक रहेको कांग्रेस वृतमा चर्चा चल्ने गरेको छ।

संघीय सांसदमा सशक्त दाबेदारीका रुपमा आफुलाई उभ्याएका अर्का नेता पूर्व जिल्ला सभापति रुद्रबहादुर खड्का हुन् । २०४९ मा जिल्ला विकास समितिको सभापति पदमा निर्वाचित भएर ५ बर्ष जिविस चलाएका थिए । त्यसपछि उनी लामो समय अमेरिका पलायन भए । २०७४ को संघीय निर्वाचनमा माओवादी र एमाले बिच गठबन्धन हुँदा उनी उम्मेदवार बनेर पराजित भएका थिए। आफु निर्वाचन नलड्ने स्थितिमा जिपछिरिङ लामाले उनलाई अघि सार्ने बुझिन्छ । उनी पनि देउवा निकट हुन् ।

प्रदेश क : बढ्यो चुनावी सरगर्मी : दोलखाको प्रदेश ‘क’ मा को को छन् दाबेदार ?
प्रदेश ख : टिकटको हानाथाप सुरु : दोलखा प्रदेश ‘ख’ मा को-को छन् आकांक्षी ?

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत