आइतवार, अशोज ९, २०७९

प्रशासन र नगरपालिकाको कमजोरीले सयौँको नागरिकतामा त्रुटि


कान्तिपथ



कालीकोट जिल्ला प्रशासन कार्यालय र तिलागुफा नगरपालिकाको कमजोरीका कारण दुई हजारभन्दा बढीको नागरिकताको प्रमाणपत्रमा त्रुटि भएको पाइएको छ । विसं २०७४ वैशाख १ गतेदेखिका नागरिकता बाहक तिलागुफाका नागरिकको नेपाली नागरिकता एउटै भए पनि अङ्ग्रेजी अनुवादमा भने त्रुटि पाइएको हो ।

नगरपालिकाले जन्म, विवाह, मृत्युदर्ता, नाता प्रमाणित, नागरिकता बनाउनेलगायत अन्य सबै कामका लागि सेवाग्रहीलाई सिफारिस लेटरप्याडमा एउटा र प्रशासनले दिने नागरिकताको अङ्ग्रेजी भाषामा अर्को अक्षर हुँदा सेवाग्रहीलाई सरकारी कामकाज गर्न समस्या भएको हो । नगरपालिकाले २०७४ वैशाख महिनादेखि सेवाग्रहीलाई दिएका हरेक सिफारिस कागजपत्रमा तिलागुफाको ‘फा’ अक्षरको अङ्ग्रेजीमा ‘पिएचए’ छ तर स्थानीय प्रशासनले दिएको नागरिकतामा ‘एफए’ भएर फरक पर्दा सेवाग्राही समस्यामा परेका हुन् ।

उक्त नगरपालिकाको वडा नं ३स्थित कालीकोट फोइमहादेव गाउँका दीक्षा हमालले नागरिकता र शैक्षिक तथा अन्य महत्वपूर्ण कागजमा अक्षर फरक पर्दा समस्या भएको बताउनुभयो । “राहदानी विभागमा पासपोर्ट बनाउँदा नगरपालिकाले दिएको कागजपत्र र मेरो शैक्षिक प्रमाणपत्रअनुसार ‘पिएचए’ नै आधिकारिक हुन्छ भनेर उल्लेख ग¥यो,” हमालले भन्नुभयो,“यता नागरिकताको अंग्रेजी भर्सनमा ‘एफए’ छ ।” काठमाडौँबाट कालीकोट पुगी साउन ९ गते नागरिकता बनाएर फर्केको बताउँदै उहाँले नागरिकता र अन्य कागजमा फरक परेको अक्षर सच्याउन फेरि कालीकोट पुगेको जनाउनुभयो ।

उहाँले भन्नुभयो,“नागरिकता बनाएको एक महिनाभित्रै नागरिकता सच्याउने प्रावधान छ भनेपछि साउन २९ गते नागरिकतामा ‘एफए’ अक्षर विस्थापन गरी ‘पिएचए’ बनाइदिन भनेर काठमाडौँबाट पुनः कालीकोट फर्कँे तर साउन ३१ गते कालीकोट प्रशासनले अक्षर नसच्याएर ‘एफए’ र ‘पिएचए’ अक्षर भएको ठाउँ (पालिका) एउटै हो भन्ने थप कागज दिएपछि काठमाडौँ फर्कनुको विकल्प रहेन ।”

प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले गृह मन्त्रालयको सफ्टवेयरले ‘एफए’ नै देखाउने भएकोले त्यही अनुसारको नागरिकता दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “तिलागुफा नगरपालिकाले ‘पिएचए’ नै बनाउन भनेर प्रशासनमार्फत गृह मन्त्रालयमा निर्णय गरेर पठाएमा सफ्टवेयर त्यही बनेर आउँछ र त्यही अनुसार नागरिकता बन्छ ।” यो त्रुटि हुनुमा नगरपालिका मुख्य जिम्मेवार रहेको प्रजिअ शर्माले बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीका अनुसार विसं. २०७४ वैशाख १ गतेदेखि हालसम्म ‘एफए’ अक्षरबाटै प्रदान गरिएका प्रतिलिपि र नयाँ नागरिकताको सङ्ख्या दुई हजार २२० रहेको जानकारी दिनुभयो । विसं २०७२ माघ यतादेखि भने जिल्ला प्रशासनले तिलागुफाका दुई हजार ७३५ जनालाई नागरिकता प्रदान गरेको उहाँले बताउनुभयो ।

हमालका बुबा चित्रबहादुर हमालले यत्रो सङ्ख्यामा नागरिकता बनाउँदासमेत ध्यान नदिनु स्थानीय प्रशासन र नगरपालिका दुवैको लापरबाही भएको बताउनुभयो । “आधिकारिक निकायले लामो समयदेखि गरेको त्रुटिले धेरैलाई समस्या भएको छ,” उहाँले भन्नुभयो, “यसले गर्दा हामीले भौतिक दुःखका साथै बिना कारण दोब्बर पैसा खर्च गर्नुपरेको छ । ती निकायको बेलैमा ध्यान जाओस् ।” यता नगर प्रमुख शङ्करप्रसाद उपाध्यायले पहिलेका पदाधिकारीले त्यसमा ध्यान नदिएकाले यो समस्या आएको बताउनुभयो । उहाँले आज कार्यपालिकाको बैठक बसी ‘एफए’ अंगे्रजी अक्षर हटाएर ‘पिएचए’ कायम हुनुपर्ने निर्णयप्रति संलग्न राखी गृह मन्त्रालयलाई अनुरोध पत्र पठाउने जनाउनुभयो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत