शुक्रबार, अशोज २१, २०७९
  • गृहपृष्‍ठ
  • समाज
  • कृषि मन्त्रालयमा २०४ अधिकृतस्तरको अस्थायी दरबन्दी स्वीकृत

कृषि मन्त्रालयमा २०४ अधिकृतस्तरको अस्थायी दरबन्दी स्वीकृत


कान्तिपथ


सरकारले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको २०४ जनाको अधिकृत स्तरको अस्थायी दरबन्दी स्वीकृत गरेको छ। भदौ ६ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। सरकारले पूर्वमुख्यसचिव लीलामणि पौड्यालको नेतृत्वमा ‘उच्चस्तरीय तलव सुविधा आयोग’ गठन गरेको छ।

राष्ट्र सेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलव, भत्ता, पारिश्रमिक एवम् सुविधा पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी नेपाल सरकारलाई सिफारिस गर्ने कार्यादेशसहित सो उच्चस्तरीय आयोग गठन गर्ने निर्णय गरेको हो।

देशको आर्थिक अवस्था र खर्च बहन गर्न सक्ने क्षमता समेतको आधारमा उनीहरुको न्यूनतम तलव, भत्ता, पारिश्रमिक र सुविधा पुनरावलोकन गरी सरकारलाई सिफारिस गर्न पूर्वमुख्यसचिव पौड्यालको नेतृत्वमा सो उच्चस्तरीय आयोग गठन गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले बताए।

मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान नपाउने निर्णय पनि गरेको जानकारी दिए।

मन्त्रिपरिषद बैठकले सहसचिव नारायणप्रसाद शर्मा दुवाडीलाई सचिवमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय पनि गरेको मन्त्री कार्कीले बताए। त्यसैगरी फौजदारी कसुर दोस्रो संशोधन नियमावली २०७८, विद्युतीय सुशासन आयोग गठन तथा संचालन आदेश २०७९ स्विकृत गरिएको छ।

मन्त्री कार्कीले भने, ‘देशको आर्थिक अवस्था र खर्च बहन गर्न सक्ने क्षमता समेतको आधारमा राष्ट्र सेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलव, भत्ता, पारिश्रमिक एवम् सुविधा पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी नेपाल सरकारलाई सिफारिस गर्न पूर्वमुख्य सचिव लीलामणि पौड्यालको संयोजकत्वमा उच्चस्तरीय तलव सुविधा आयोग गठन गर्ने। आर्थिक वर्ष २०७९÷८० को लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तरगत २०४ जना राजपत्रांकित पदहरुको अस्थायी दरबन्दी स्विकृत गर्ने। विमानस्थलमा मात्र ट्रान्जिट हुनेबाहेक विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान प्रस्थान अनुमति नदिने गरी नेपाल सरकार मन्त्रीपरिषदबाट २०७८/१/१३ मा भएको निर्णय खारेज गर्ने।’

उनले थपे, ‘संयुक्त राष्ट्र संघको अनुरोधमा युनाइटेड नेशन्स मल्टिडाइमेन्सनल इन्टिग्रेटेड स्टाबिलाइजेशन मिसन इन मालीमा सशस्त्र प्रहरी बल, नेपालका १४० जना नफ्रीको फर्मड पुलिस युनिट परिचालन गर्न स्वीकृति दिने। बेलायतमा मिति २०७९ भदौ २२ गतेदेखि २४ गतेसम्म सरकारी निकायले आयोजना गर्ने द एक्सपोजर प्रोग्राम एण्ड नलेज सियरिङ रिलेटेड टु दि एयरबोन लिडर प्रोजेक्ट सम्बन्धि भ्रमण कार्यक्रममा सहभागी हुन सचिव रामप्रसाद थपलियालाई स्वीकृति दिने। फौजदारी कसुर दोस्रो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने। विद्युतीय सुशासन आयोग गठन तथा संचालन आदेश २०७९ स्वीकृत गर्ने। तत्काल समस्या समाधान निर्देशिका २०७९ स्वीकृत गर्ने। राजपत्रांकित प्रथम श्रेणीका सहसचिव नारायणप्रसाद शर्मा दुवाडीलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने।’

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत