शनिबार, चैत्र १८, २०७९
  • गृहपृष्‍ठ
  • ब्लग
  • सर्वोच्च नेता तेङ स्यायोपिङको जन्मदिन भव्यताका साथ् मनाउदै चिनियाँ जनता

सर्वोच्च नेता तेङ स्यायोपिङको जन्मदिन भव्यताका साथ् मनाउदै चिनियाँ जनता


कान्तिपथ


जोसेफिन मा । यो साता तेङ स्यायोपिङ जन्मेको ११८ वर्ष पुग्दैछ। त्यसैले यी दिवंगत सर्वोच्च नेताको सम्झनामा चीनमा भावुकता व्याप्त छ। जबकि उनी बितेको २५ वर्ष बितिसक्यो।

आधुनिक चीनको ‘आर्किटेक्ट’ मानिने तेङलाई सुधारवादी कार्यक्रमको जस दिने गरिन्छ। जुन कार्यक्रमले चीनलाई एक्लो र पछौटे राज्यबाट विश्व महाशक्तिको दाबेदार बनायो।

चिनियाँ सरकारी अधिकारी र जनसाधारण दुवैले सधैँ तेङको विरासतलाई उल्लासका साथ मनाउने गरेका छन्। तर, घर र बाहिर दुवैतिर चीनले अभूतपूर्ण चुनौती बेहोरिरहेको समयमा यसपटक जनतामा तेङको शासनकाललाई चीनको सुनौलो युगका रुपमा मनाउने चाहना ज्यादा देखिन्छ।

विपो, विच्याट र तौत्याओजस्ता सामाजिक सञ्जाल तेङको प्रशंसा गरिएका पोस्टले भरिभराउ छन्। अन्त्यहीन वैचारिक बहसबाट चीनलाई मुक्त गरेको र मुलुकलाई धन आर्जन र विकासमा केन्द्रित गरेको भन्दै उनको सराहना गरिएको छ।

तेङले नियन्त्रित र योजनाबद्ध अर्थतन्त्रलाई खुकुलो पारेर नौलो ठिमाहा बजार अर्थतन्त्र सिर्जना गरेका थिए। विश्वविद्यालय भर्ना तथा सरकारी जागिरका लागि प्रवेश परीक्षा लिने चलन उनैले पुनः सुरु गरेका थिए भने विज्ञान र प्रविधिमा चीनको पुनरोत्थानको आधार पनि तयार गरेका थिए।

‘चिनियाँ जनता, खासगरी जसको तार्किक क्षमता राम्रो छ, उनीहरु कमरेड तेङ स्याओपिङले सुरु गरेको खुलापनको नीतिलाई बलियोगरी समर्थन गर्छन्,’ सिङहुवा युनिभर्सिटीमा दर्शनशास्त्रका प्राध्यापक हुआङ युसेङ भन्छन्, ‘समयसँगै तेङप्रति जनताको सम्मान र सम्झना अझ बलियो भएको छ।’

केहीले तेङको व्यावहारिकता र विदेशनीतिसम्बन्धी सीपको सम्झना गरेका छन्। सानो कदका यी नेता चीनको सार्वभौमसत्ताका विषयमा कडा अडान राख्थे। सोही कारण उनले भियतनामविरुद्ध युद्ध सुरु गरे भने हङकङ फिर्तीका लागि बेलायतसामु अडिग रहे। तर, उनले चीनलाई अन्तर्राष्ट्रिय एकान्तबाट बाहिर पनि निकाले। अमेरिका र सोभियत संघ दुवैसँग सुम्बन्ध सुधारे। जापानसहित चीनका छिमेकीसँगको सम्बन्धलाई पनि सामान्य बनाए।

नेसनल युनिभर्सिटी अफ सिंगापुरका सहप्राध्यापक अल्फ्रेड वु तेङलाई खासगरी उनको खुला बजार नीति र बजार सुधारको कार्यक्रमबाट फाइदा लिएको पुरानो पुस्ताले सम्झिने गरेको बताउँछन्।

तर, चीनको सरकारी सञ्चारमाध्यम भने तेङबारे तौलिएर मात्रै बोलेको देखिन्छ। सोमबार तेङको जन्म दिवसमा कम्युनिस्ट पार्टीको मुखपत्र पिपुल्स डेलीले आफ्नो विपो अकाउन्टमा ती नेताको तस्बिर र भनाइहरु राख्यो।

‘सुधार कार्यक्रमले राजनीतिक सुधारलाई पनि समेट्नुपर्छ’ र ‘एउटा क्रान्तिकारी पार्टीले चिन्ता लिनुपर्ने विषय भनेको जनताको आवाज सुन्ने अक्षमता हो। सबैभन्दा डराउनुपर्ने कुरा मौनता हो’ जस्ता उनका भनाइ त्यहाँ राखिएको थियो।

प्रधानमन्त्री ली खछ्याङले गत साता प्रविधिको केन्द्र मानिने सेन्जेन भ्रमणका क्रममा सूक्ष्म रुपमा तेङको सराहना गरे।

तेङले खुलापनको नीति सुरु गर्दा सेन्जेन माछा मारेर जीविका चलाउने गाउँ थियो। लगत्तै उनले यो ठाउँलाई मुलुकका पाँच विशेष आर्थिक क्षेत्रमा समावेश गरे।

र, अहिले यो सहर विश्वको सबैभन्दा गतिशील प्रविधिको केन्द्रमा बदलिएको छ। प्रधानमन्त्री ली सो सहर भ्रमणका क्रममा लोटस हिल पार्क पनि पुगे जहाँ तेङको सालिक ठडिएको छ।

अनलाइन पोस्ट भएको एक भिडिओमा ली सहरका बासिन्दालाई भन्छन्, ‘सेन्जेन चीनको सुधार र खुलापनको अग्रमोर्चामा छ। हामीले सुधार र खुलापनमा जोड दिनै पर्छ। खुलापन हाम्रो देशको आधारभूत नीति हो।’

सो अनलाइन पोस्ट पछि हटाइएको थियो। जनताको यो प्रशंसा तेङको विरासतको आधिकारिक मान्यतासँग मेल खान्छ। तर, चीन सबैभन्दा संवेदनशील राजनीतिक अवधिमा प्रवेश गरेका बेला अधिकारीहरु अत्यन्त होसियार भएका छन्।

आउँदो शरदमा पार्टीले सर्वोच्च नेताको आगामी पाँच वर्षे कार्यकाललाई मान्यता दिन सम्मेलन आयोजना गर्दैछ।

तेङपछि सबैभन्दा बलियो नेताका रुपमा उदाएका सी चिनफिङले अभूतपूर्व तेस्रो कार्यकाल सुरु गर्ने अपेक्षा गरिएको छ। त्यस्तै, सीले यसैपालि बढ्दो विश्व चुनौतीमाझ आफूलाई सघाउने ‘कोर टिम’ पनि छनोट गर्नुपर्ने हुन्छ।

सीलाई संस्थापक पिता माओ चेतुङ र सुधारका ‘आर्किटेक्ट’ तेङपछिको तेस्रो प्रभावशाली नेताका रुपमा हेरिएको छ।

सीले पार्टी इतिहासको निरन्तरता महत्वपूर्ण हुनेमा जोड दिएका छन्। तर, आधिकारिक निकायहरु भने तेङको प्रशंसालाई सीका नीतिहरुको विरोधका लागि प्रयोग हुनबाट रोक्न इच्छुक देखिन्छन्।

सोमबार दुई वर्षअघि प्रकाशित एक लेखलाई विच्याट र विपोमा केहीले पुनः पोस्ट गरेका थिए। तर, केही बेरमै तिनलाई हटाइयो। सो लेखमा वर्तमान नीतिलाई तेङका नीतिसँग तुलना गरिएको थियो। जसलाई वर्तमान नीतिको घुमाउरो आलोचनाका रुपमा हेरियो।

सो लेखमा तेङलाई सामान्य मानिसका रुपमा प्रस्तुत गर्दै उनले व्यक्तिपूजाको विरोध गरेको उल्लेख गरिएको थियो।

(जोसेफिन मा को साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित लेख नेपालखबरको भावानुवाद साभार गरिएको ।)



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत