शनिबार, अशोज ८, २०७९

पूर्वाधार अभावबीच खेलाडी उत्पादन गरिँदै


कान्तिपथ



बनेपा, ११ भदौ : आगामी असोजमा कास्कीको पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि काभ्रेपलाञ्चोकका खेलाडी अभयासमा जुटेका छन् । भर्खरै जिल्ला स्तरीय छनोट सम्पन्न भएको छ । विभिन्न खेलका खेलाडी प्रदेश स्तरीय प्रतियोगिताका लागि छनोट भएका छन् । बागमती प्रदेशमा उत्कृष्ट हुने खेलाडीले नवौँ राष्ट्रिय प्रतियोगिता खेल्न पाउने छन् ।

जिल्लाबाट विभिन्न विधामा प्रदेशमा छनोट हुँदाको सकस खेलाडी र प्रशिक्षकलाई खपिनसक्नुको छ । खेल सामग्री र पूर्वाधार अभावमा खेलाडी र प्रशिक्षकले धेरै हन्डर खाए । खुलाचौरमा घाम पानी नभनीकन उनीहरुले अभ्यास गरे । “विभिन्न समस्याबीच प्रदेशका लागि खेलाडी छनोट ग¥यौँ”, काभ्रेपलाञ्चोक तेक्वान्दो एकेडेमीका अध्यक्ष एवं तेक्वान्दो प्रशिक्षक राजमन्दिर श्रेष्ठले भन्नुभयो । उहाँ पाँच वर्षदेखि खेलाडी उत्पादन गर्दैआउनुभएको छ ।

सुरुआतमा बनेपा नगरपालिका–५ भिमसनेस्थानस्थित एभरेष्ट एकेडेमी परिसरबाट प्रशिक्षण थाल्नुभएका श्रेष्ठले अहिले पनि निरन्तरता दिँदैआउनुभएको छ । “करिब एक सय प्रशिक्षार्थीलाई खेल प्रशिक्षणसँगै हाइकिङ गराएर आकर्षित गराउँदै आएको छु”, उहाँले भन्नुभयो । खेल मैदान अभावले प्रशिक्षार्थीलाई चाहेअनुसारले खेलाउन नपाएको बताउनुहुन्छ । “सबैभन्दा ठूलो समस्या खेल मैदानको छ”, उहाँले भन्नुभयो, “बनेपा नगरभरिमा नै व्यवस्थित खेलमैदान छैन, त्यस्तो समस्याको बावजुद पनि अभ्यास गरायौँ ।” विद्यालयको प्राङ्गण मागेर तथा पार्टी प्यालेस प्रयोग गरेर अभ्यास गराएको श्रेष्ठ बताउनुहुन्छ ।

नगरपालिका र वडासँग खेलमैदानका लागि सहयोग माग्दै आएको उहाँले बताउनुभयो । कुनै व्यक्तिले दान गरेका खण्डमा खेल मैदानका लागि सहयोग गर्न सकिने प्रतिक्रिया दिएको श्रेष्ठले बताउनुभयो । “अहिले आफ्नै जग्गामा टहरा बनाएर खेलाडीलाई प्रशिक्षण दिँदैछु”, उहाँले भन्नुभयो । जिल्लाका विभिन्न स्थानमा शाखा सञ्चालन गरेर श्रेष्ठले करिब पाँच सय तेक्वान्दो खेलाडी उत्पादन गर्नुभएको छ ।

यस्तै काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको भकुण्डेवेशीमा करिब सात वर्षदेखि नेपाल क्योकुशिन कराते डो सङ्घ बज्र शाखा सञ्चालन गरेर प्रशिक्षण दिँदै आउनुभएका दिल दोर्जे लामा पनि बिना पूर्वाधार र सामग्रीका भरमा खेलाडी उत्पादन गर्दै आउनुभएको छ । “व्यक्तिको खाली जग्गालाई सम्याएर खेलमैदानका रुपमा प्रयोग गर्दै आएका छौँ”, उहाँले भन्न्ुभयो । बागमती प्रदेश सरकारको पहलमा भकुण्डेबेशी बजारदेखि दुई किलोमिटर टाढा अभ्यास गराउन एउटा हल निर्माण गर्दै छ । “हल निर्माण भएपछि प्रशिक्षण दिन सहज हुनेछ”, लामाले भन्नुभयो ।

खासमा सबै खेलको प्रशिक्षण गराउन राज्यले सहयोग गर्नुपर्ने उहाँ बताउनुहुन्छ । “खेललाई राज्यले प्राथमिकता दिएको देखिँदैन”, उहाँले भन्नुभयो, “जिल्ला, प्रदेश र राष्ट्रियस्तरका प्रतियोगिताका लागि खेलाडी उत्पादन र प्रतियोगितामा सहभागी गराउन आफैले लगानी गर्नु परिरहेको छ ।” खेलाडीले खल्तिबाट खर्च गरेर प्रतियोगितामा सहभागी हुनुपर्ने अवस्थाको अन्त्य हुन जरुरीरहेको लामा बताउनुहुन्छ ।

स्थानीय तहसँग व्यवस्थित खेलमैदानका लागि माग गर्दै आएको उहाँको भनाइ छ । जिल्लाका विभिन्न स्थानमा प्रशिक्षकले खुल्ला चउरमा नै प्रशिक्षण दिँदै आएका छन् । जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष रघुवर चौप्रधानले भौतिक पूर्वाधारको व्यवस्था नहुँदा खेलाडी उत्पादनमा समस्या हुने गरेको बताउनुभयो । “आर्थिक अभावका कारण खेलाडी इच्छा हुँदाहुँदै पनि खेल्न सकिरहेका छैनन् ।”

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर वाइबाले पछिल्लो समय स्थानीय तहहरुले ‘एक पालिका, एक खेलमैदान’ को अवधारणाका साथ बजेट व्यवस्थापन गर्दै आएको बताउनुभयो । पूर्वाधार निर्माणमा ध्यान जान थालेको उहाँको भनाइ छ । प्रदेश सरकारसँग खेलमैदानको माग गर्दैआएको वाइबाले बताउनुभयो । “खेलाडी आफ्नै प्रयासमा प्रतियोगिता खेल्दैआएका छन्” उहाँले भन्नुभयो ।

प्रदेश सरकारले आफ्नो नीतिमा ‘एक वडा, एक कभर्ड हल, एक पालिका, एक खेल मैदान’ समेटेको छ । आगामी दिनमा पूर्वाधार निर्माणले तीव्रता पाउने वाइबाले आशा गर्नुभयो । चालु आवमा पनि विभिन्न स्थानीय तहले खेलकुदका लागि बजेट छुट्टयाएका छन् । व्यवस्थित खेलमैदान र कभर्ड हल नहँुदासम्म खेलाडी घामपानीको पर्वाह नगरी व्यक्तिको जग्गामा खेल्नुपर्ने देखिन्छ

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत