आइतवार, अशोज ९, २०७९
  • गृहपृष्‍ठ
  • समाज
  • चोलेन्द्रलाई केरकार : महाभियोगको प्रक्रिया नमिलेको जिरह, कामुलाई व्यंग्य वाण !

चोलेन्द्रलाई केरकार : महाभियोगको प्रक्रिया नमिलेको जिरह, कामुलाई व्यंग्य वाण !


कान्तिपथ


महाभियोग सिफारिस समितिको बैठकमा आफूमाथि लागेको महाभियोगबारे जवाफ दिन पुगेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले कुनै पनि काम कानुनभन्दा बाहिर गएर नगरेको दाबी गर्दै भनेका छन् ‘ममाथि लागेको अभियोगका विषयमा कुनै दिन लेखौँला बोलौँला, तर मैले कानुन र संविधानभन्दा बाहिर गएर कुनै काम गरेको छैन ।’ राणाले महाभियोगको प्रक्रिया नै नमिलेको भन्दै नियमावलीअनुसार यो प्रस्ताव नआएको दावी गरेका छन् ।

राणाले कायममुकायम प्रधानन्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउनका लागि मात्रै न्यायालयमा गुटबन्दी भएको आरोप लगाए । उनले दीपक कार्कीजीलाई पनि प्रधानन्यायाधीश बन्ने इच्छा होला नि भन्दै व्यंग्य हानेका छन् । उनले संसद्ले आफूविरूद्ध लगाएको महाभियोग निष्क्रिय भएको बताउँदै संसद्ले बोलाएपछि सम्मानका लागि बैठकमा आएको बताए । उनले आफूले विधि पद्धति अनुसार काम गर्दा मिडिया र राजनीतिक दलले आफू अनुकूल हुन दबाब सिर्जना गरेको र आफू त्यस्तो दबाबमा काम गर्न नसक्ने भन्दै समितिलाई न्याय दिन आग्रह गरे ।

महाभियोग सिफारिस समितिले निलम्वित प्रधानन्यायाधीश जबरालाई ४३ वटा प्रश्न सोध्ने भएको छ । जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरिएको समितिले जनाएको छ । महाभियोग सिफारिस समितिले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासँग सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बयान लिएको हो । समितिको बैठकमा जबरा उपस्थित भएको फोटो र भिडियो खिचिसकेपछि पत्रकारहरुलाई बाहिर पठाइएको थियो ।

राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधि सभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए। त्यतिबेलै महाभियोग सिफारिस समिति गठन भएको भए पनि अन्य प्रक्रिया अगाडि बढेका थिएन। साउनमा सो प्रस्तावलाई महाभियोग सिफारिस समितिमा पठाइएपछि छानबिन अगाडि बढेको हो।

नेपालको संविधानको धारा १०१ (२) मा संविधान र कानुनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमानदारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालना नगरेको वा आचार संहिताको गम्भीर उल्लंघन गरेको कारणले आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको आधारमा महाभियोग प्रस्ताव पेस गर्न सकिने र त्यो प्रतिनिधि सभाको तत्काल कायम सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा प्रधानन्यायाधीश पदमुक्त हुने उल्लेख छ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत