बिहिबार, अशोज २०, २०७९
  • गृहपृष्‍ठ
  • राजनिति
  • नुवाकोट १ क बाट प्रदेश सांसदका लागि कांग्रेसबाट संजिव गुरुङ उम्मेदवार सिफारिस

नुवाकोट १ क बाट प्रदेश सांसदका लागि कांग्रेसबाट संजिव गुरुङ उम्मेदवार सिफारिस


कान्तिपथ


मध्ये नेपालको प्रमुख राजनीतिक केन्द्र मानिने नुवाकोटमा आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रभाव देखाउन दलहरू तयारीमा जुटेका छन् । स्थानीय निर्वाचनमा ‘क्लिन स्वीप’ भएको नेकपा एमाले धूलो टक्टक्याउँदै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जीत निकाल्ने तयारीमा लागेको छ ।

सत्तारुढ दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी गठबन्धनको बलमा एमालेलाई रोक्ने गरी निर्वाचनमा जानुपर्ने आन्तरिक गृहकार्यमा केन्द्रित देखिन्छन्। यो जिल्ला एमाले उपमहासचिव विष्णु रिमालको जिल्ला हो ।

केन्द्रमा गठबन्धन दलहरु भागबण्डाका लागि कसरत गरिरहँदा जिल्लास्तरमा दलहरु उम्मेदवारको टुंगो लगाउन कस्सिएका छन् । यसै अन्तर्गत नेपाली कांग्रेस नुवाकोटको क्षेत्र नं १ ‘क’ ले उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । सिफारिस हुनेहरुमा प्रदेशसभा ‘क’ का प्रभावशाली युवा नेता संजिव गुरुङदेखि अन्य नेताहरु रहेका छन् । विद्यार्थीकालदेखि नै कांग्रेसमा जोडिएर काम गरेका गुरुङ तरुण दलको जिल्ला कार्यसमिति सदस्य हुँदै हाल सल्लाहकारको भूमिकामा छन् । गुरुङ विशेष गरि जिल्लाभर नै युवा माझ निकै लोकप्रिय मानिन्छन ।

राजनीतिमा नीति मात्र फेरेर भएन नेतृत्व नै फेरौं भन्ने भाष्य निर्माण गर्न जरुरी रहेको भन्दै प्रदेशसभामा बलियो दाबेदारी प्रस्तुत गरेका गुरुङ पार्टीमा निरन्तर क्रियाशील छन् । राजनीतिमा पुस्तान्तरण र हस्तान्तरण आवश्यक रहेको उनले ठम्याए । राजनीतिलाई फोहोरी खेलको संज्ञा दिएर पन्छिनु भन्दा यसलाई सफा गर्न चेतनशील र सचेत युवाहरु राजनीतिमा आउनुपर्छ भन्ने सोच आफुमा पलाएको उनले बताए ।

गुटमा सिमित रहेको नुवाकोटको राजनीति सांगठानिक तहमा विस्तार हुनु पर्ने उनले बताए । कान्तिपथसँग बोल्दै उनले आफु निर्वाचित भएपछि नुवाकोटलाई विकासको मोडेलको रुपमा अघि सार्ने बताए । नुवाकोटको सर्वाङ्गिन विकासको लागि जल, जंगल, जमिन, जडिबुटी, जलविद्युतमा आन्तरिक र वाह्य लगानी आवश्यक रहेको र ति स्रोतको पहिचान आफुले गर्ने बताए ।

राजनीतिमा स्वार्थ केन्द्रित आर्थिक समूह र ब्यापारिक घरानाहरुको हालीमुहाली चलेको भन्दै स्वच्छ र निष्कलंक छवि भएका व्यक्तिको हातमा नीति निर्माणको कलम हुनुपर्ने उनले बताए । राजनीतिक संस्कारसहितको सम्मान पनि आवश्यक रहेको उनले औंल्याए । आफु ले ७० भन्दा बढी देशहरुमा लिएको विकासको अनुभवलाई अवसरमा बदल्ने दिन आएको उनको भनाई छ ।

२०७४ सालमा नुवाकोट-१ मा वाम गठबन्धनको तर्फबाट माओवादी नेता हितबहादुर तामाङले ३६ हजार ४७३ मत ल्याएर विजयी भएका थिए। उनका प्रतिद्वन्द्वी बनेका कांग्रेस नेता डा. रामशरण महतले २७ हजार ९२० मत पाएर निर्वाचन हारे। नुवाकोट-१ मा स्थानीय तहको चुनावमा वडा अध्यक्षले पाएको मतलाई हेर्ने हो भने कांग्रेसका वडाध्यक्ष उम्मेदवारले २८ हजार ९६२, माओवादीका उम्मेदवारले २३ हजार २००, एमालेका उम्मेदवारले १८ हजार २६७, राप्रपाका उम्मेदवारले ४ हजार ७८, नेकपा एसका उम्मेदवारले २ हजार २४५ मत पाएका छन्। यसलाई आधार मान्दा गठबन्धनका पक्षमा ५४ हजार ४०७ मत देखिन्छ। यो एमालेकोभन्दा ३६ हजार १४० ले बढी हो।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत