बिहिबार, अशोज २०, २०७९

काठमाडौं महानगरमा बालेनको १०० दिन कस्तो रह्यो ?


कान्तिपथ


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो एक सय दिनको कार्यउपलब्धिलाई सम्झिएका छन्। उनले ६ वटा बुँदामा सय दिनमा गरेका उपलब्धिलाई स्मरण गरेका छन्। सामाजिक सञ्जालमा मार्फत उनले आफ्नो एक सय दिन कस्तो रह्यो भन्ने बारे आफैँले मूल्यांकन गर्ने भन्दा आम मानिसले कसरी हरे भन्ने बढी अर्थपूर्ण हुने बताएका छन्।

उनले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गरेको प्रस्ट पारेका छन्। फुटपाथबाट मकैको ठेला हटाएको, ईस्पोर्टका लागि एक करोड छुट्याइएको, यमबुद्धको सालिक निर्माण गर्ने निर्णय गरेको, नर्भिक लगायतको अनधिकृत संरचना हटाउने, कार्यक्रममा मद्यपान र मुकुट परिवर्तनलगायत विषयलाई उनले सय दिनको उपलब्धिको रूपमा लिएका छन्।

यस्तो छ बालेनले सम्झिएका उपलब्धि

सन्दर्भ कार्यकाल १०० दिन पुगेको बारेमा हो।

हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैंले मूल्यांकन गर्ने भन्दा पनि आममानिसहरूले कसरी हेर्नु भयो भन्ने बढी अर्थपूर्ण हुन्छ। हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्यौँ, त्यसले आममानिसहरूमा कस्तो सन्देश दियो भन्ने कुराले हामीलाई फरक पार्छ। मानिसहरूमा सकारात्मक ऊर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुन्छ। अन्यथा, हामीले यतिका कामहरू गर्यौं भनेर सूचि बनाउदैमा हामी सफल हुन सक्दैनौं। यसैले १०० दिन पुगिसकेको सन्दर्भमा हामीलाई मनमा छोएका केही सन्दर्भहरू सम्झिन जायज हुनेछ भन्ने लाग्छ।

१. फुटपाथबाट मकैको ठेला हटाएको : यो सन्दर्भले अझै पनि सही वास्तवमा के हो भन्ने एक किसिमको धर्मसंकट महसुस् हुन्छ। तर अन्तिममा के लाग्छ भने आफुले पाएको अभिभारा पुरा गर्न भावनात्मक मात्रै भएर हुन्न। फुटपाथको आधारभूत निर्माण नै पैदलयात्रुहरूको लागि हो। सहरको वास्तविक व्यवस्थापनका लागि फुटपाथ खुल्ला हुन पनि जरुरी हुन्छ। महानगरले पहिले फुटपाथका व्यापारीहरूलाई अन्यत्र राखेर खुल्ला गर्ने कोशिस गरेको थियो, जुन पूर्णरुपमा असफल भएको थियो। दिएको ठाउँ पनि भरिने र पुन: फुटपाथमा नयाँ व्यापारीहरु आइपुग्ने क्रम देश नै समृद्ध नहुन्जेल भइरहने कुरा हो। यो चक्र तोड्न महानगरको कार्यक्षेत्र र क्षमताले भ्याउने जे थियो, त्यहि गरियो र गरिदैछ। यदि हामी महानगरमा नभएर संघीय सरकारमा भइदिएको भए हामीले गर्ने प्रयास फरक हुन सक्थ्यो। यो भन्दा अलग किसिमले राष्ट्रियस्तरमा नै यसको समाधान गर्न खोजिन्थ्यो होला। हाम्रा लागि यो सम्भावनाको कुरा मात्र हुन्छ। हामीले वास्तविकतामा उभिएर समाधान खोज्दा जे गर्नु पर्थ्यो, त्यहि गर्यौं। जसको नतिजा बानेश्वर तथा असन लगायतका क्षेत्रहरूमा सकारात्मकरुपमा देखिन थालेको छ।

२. Esports का लागि १ करोड : गीत गाउने, नाच्ने जस्ता कलाकारहरू प्रति केही पहिलेसम्म समाज अनुदार नै थियो। त्यसमा पनि महिला कलाकारहरूका लागि त सम्मान भन्दा पनि अफ्ठ्यारा बढी थिए। तर अहिले अवस्था फेरिएको छ। यतिसम्म कि यी सम्बन्धित रियालिटी सोहरूमा जित्नका लागि परिवारले नै लगानी गर्ने तथा सानै उमेरदेखि नाच्न, गाउन तालिम दिने क्रम बढेको छ। यो हामीले देख्दादेख्दै भएको परिवर्तन हो। त्यस्तै परिवर्तन खेल क्षेत्रमा पनि भइरहेको छ। इस्पोर्टस पनि खेलकारूपमा भविष्यको आम्दानीको क्षेत्र तथा राष्ट्रिय गौरवको बिषय बन्दैछ। त्यसमा हामी तयार हुने कि नहुने? त्यो परिवर्तनलाई आत्मसाथ गर्ने कि नगर्ने? यो प्रश्न प्रमुख थियो। हामीले त्यो परिवर्तनलाई समाजमा स्थापित गर्नका लागि बजेट छुट्यायौं। बजेट छुट्याउने बित्तिकै आएका प्रतिक्रिया र मानिसहरुले बुझ्दै गए पछि आएका प्रतिक्रियाहरु फरक पर्न थाले। इस्पोर्टसमा हामीले चाहे जस्तै कार्यक्रम भए पछि हामीले बजेट छुट्याउनुको उपादेयता पनि हासिल हुन सक्ला। त्यो दिन पर्खौं।

३. यमबुद्धको सालिक : एउटा कलात्मक पार्कभित्रको सानो अंगकारुपमा यमबुद्धको सालिक बनाउने सन्दर्भ थियो त्यो। बुँदा २ मा इस्पोर्टसको सन्दर्भ जस्तै हिपहप र त्यसको नेपालीकरण नेपहप संगीतमा नयाँ बिधा हो। यमबुद्ध सो बिधाका लागि अत्यन्तै सम्मानित नाम हो। आफू त्यो विधा नजिक भएकाले त्यसलाई थप सम्मानित र व्यवस्थित बनाउन भुमिका हुनु पर्छ भनेर त्यो सोच ल्याइएको थियो। बजेटमा पार्क मात्रै भनेर पछि खुसुक्क सालिक बनाइदा कसैलाई वास्ता नहुन पनि सक्थ्यो। तर बजेटमा धेरै भन्दा धेरै पारदर्शीता चाहिन्छ भनेर त्यो बेग्लै बुँदामा राखियो। आममानिसबाट आएका प्रतिक्रियाले हामीले निर्णयमा केहि फेरबदल गर्यौं। यति हुँदाहुँदै पनि समाजको एउटा पुस्ताको ठुलो संख्याले आफ्नो भविष्य र कलामा सम्भावना खोजिरहेको कुरालाई स्थापित गराउन बहस र छलफल गराउन सकेकोमा गौरवबोध नै भएको छ।

४. कार्यक्रममा मद्यपान र मुकुट परिवर्तन : मान्छे एउटै जीवनभित्र फरक फरक भूमिकामा हुन्छ। म कार्यालयमा मेयर भएर व्यवस्थित भइरहदा घरमा छोरोको रुपमा अव्यवस्थित, पतिकारुपमा प्रेमील र साथीहरुसँग जिस्किँदै फुटसलमा रमाइरहेको हुन सक्छु। यी हरेक भूमिकाका लागि अर्को भूमिका भन्दा विपरित हुनु पर्ने पनि हुन सक्छ। माहौलले पनि फरक पार्न सक्छ। कार्यक्रमको चर्चाका लागि वा माहौललाई रोचक बनाउन म छुट्टै अभिनय गरिरहेको हुन पनि सक्छु। यी सबै कुरालाई सोहीरूपमा बुझिदिनु हुन आग्रह गर्दछु। सँगसँगै, सार्वजनीक व्यक्तित्व भएको कारणले समाजमा आफ्ना कार्यहरुले पार्न सक्ने प्रभावका बारेमा भने सजग रहेको जानकारी गराउँदछु।

५. फोहोर व्यवस्थापनमा ढिलाइ : यसमा के स्वीकार्नु पर्दछ भने १०० भित्र फोहोर व्यवस्थापनका सन्दर्भमा हामीले जस्तो सोचेका थियौं, हुबहु हुन सकेन। तर झन्डै २ दशकदेखि कुहिएर रहेको समस्यालाई हामीले सतहमा ल्याउन भने सक्यौं। यसबाट वास्तविक समस्याहरुको पहिचान भएर दिगो समाधानका योजनाहरु बनाउन सक्ने भएका छौं।

६. नर्भिक लगायतको अनधिकृत संरचना हटाउने सन्दर्भमा : जे जुन प्रयोजनका लागि उपयोग गर्ने भनिएको छ, त्यो त्यहिरुपमा प्रयोग हुनुपर्छ। हामीले चाहेको यति मात्रै हो। कुनै पनि शर्तमा यो नियम लागू गर्न हामी पछि हट्ने छैनौं। यी कतिपय सन्दर्भमा हामीले सम्मानित अदालतका सन्दर्भमा बोल्यौं, सम्बन्धित व्यक्तिसामू चर्कोस्वरमा आक्रोश पोख्यौं। आममानिसहरुको आवाज हामीले सम्बन्धित ठाउँसम्म पुर्याउँने सेतुका रूपमा मात्रै हामीले ती कार्यहरू गरेका छौं। सायद जनप्रतिनिधि हुनुको औंचित्य पनि त्यहि हो।

अन्त्यमा, हामी १०० दिनको दौडमा छैनौं, हामीसँग ५ वर्षका लागि योजना छन्। हामी अझैँ केही समय गाली र आलोचनामात्रै सहन तयार छौं। तर, हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौं। विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौं।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत