शनिबार, अशोज ८, २०७९

हुन्डी र बिटक्वाइन कारोबार अब फौजदारी अपराध, ५ वर्ष कैद प्रस्ताव


कान्तिपथ


हुन्डीको कारोबारलाई पनि अब फौजदारी अपराध मानिने भएको छ। राष्ट्रिय जोखिम मूल्यांकन सन् २०२० को रिपोर्टले सम्पत्ति शुद्धीकरण अन्तर्गत हुन्डीको कारोबारमा जोखिम अत्यधिक देखिएपछि सरकारले सो हुन्डी कारोबारलाई फौजदारी अपराधसरह मानेर कारबाही गर्ने प्रस्तावित व्यवस्थासहितको विधेयक संसदमा दर्ता गराएको हो।

शुक्रबार कानुनमन्त्री गोविन्द शर्मा (कोइराला)ले संसदमा केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयक दर्ता गराउँदै उक्त व्यवस्था गर्न प्रस्ताव गरेका हुन्। विधेयकमा ‘मुलुकी अपराध संहिता २०७४’ मा संशोधन गरी हुन्डी कारोबारलाई पनि सोही संहिताअन्तर्गत कारबाही चलाउनुपर्ने व्यवस्था उल्लेख छ।

हुन्डीको कारोबार राजस्व छली अन्तर्गत राखिएको र सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गर्दै आएको थियो। उक्त व्यवस्था पारित भएमा अब उक्त मुद्दा प्रहरीले हेर्नेछ। सरकारले संहिताको दफा १२५ पछि १२५ ‘क’ थपी हुन्डी सम्बन्धी व्यवस्था थप गर्न प्रस्ताव गरेको छ। ‘१२५ क’ १ मा हुन्डी सम्बन्धी कारोबार गर्न नहुने उल्लेख छ।

संहितामा दफा १२५ मा (ख) थप्दै भर्चुअल मुद्रामा लगानीलाई पनि फौजदारी मुद्दामा नै समावेश गर्न प्रस्ताव गरिएको छ। यदि कुनै पनि व्यक्तिले भर्चुअल कारोबार गरेको पाइएमा फौजदारी मुद्दा लगाई कसुरको बिगो र सोबाट बढे/बढाइएको सम्पत्तिसमेत जफत गर्न प्रस्ताव गरिएको छ। त्यस्तै बिगो बमोजिम जरीवाना र ५ वर्षसम्म कैद हुने व्यवस्था पनि प्रस्ताव गरिएको छ। पछिल्लो समय बिटक्वाइनलगायतका भर्चुअल मुद्रामा विदेशिएका नेपालीले लगानी गर्न थालेपछि रेमिट्यान्समा कमी आएको भन्दै नेपाल राष्ट्र बैंकले विदेशबाट समेत यस्तो लगानी गरे कारबाही गर्ने चेतावनी दिएको थियो।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत