बिहिबार, बैशाख ६, २०८१

समयमा पानी नपरेका कारण दाङमा धान उत्पादनमा कमी हुने


कान्तिपथ



देउखुरी, २२ भदौ (रासस) : दाङमा समयमा पानी नपरेका कारण धानखेती प्रभावित भएको छ । आकाशे पानीबाट खेती लाग्ने जमिन बाँझै रहेका छन् । ती जमिन अहिले गौचरनमा परिणत भएका छन् । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेको दाङमा यस वर्ष समयमै पर्याप्त वर्षा नभएका कारण भदौ अन्तिम साता हुँदा पनि रोपाइँ हुनसकेको छैन ।

लमही नगरपालिका–१ नर्तीका रुपलाल चौधरीको १० कट्ठा खेतमा धानखेती गर्नुभएको छ । “समयमा मल पाइएन, मल पाउँदा पानी भएन, जसोतसो मोटरको पानीले खेती गरियो”, उहाँले भन्नुभयो, “गत वर्षजस्तो उत्पादन हुँदैन, आम्दानीको स्रोत भनेको खेतीपाती मात्रै छ ।” त्यो राम्रो नभएपछि खर्च टार्न समस्या हुने उहाँ बताउनुहुन्छ ।

घोराही–६ का किसान बुद्धिराज वलीले छ कट्ठा जमिनमा लगाएको धान सबै सुकेर पहेँलो भएको छ । “साउन पहिलो साता रापेको धान महिनाभर पानी नपाउँदा आशा मरेको थियो, भदौ लागेपछि पानी परेका कारण केही आशा पलाएको छ”, उहाँँले भन्नुभयो । धानका गरामा धाँजा फाटेको थियो, पूरै धान फल्ने आशा त छैन, बीउ उठ्छ कि भन्ने लागेको उहाँले बताउनुभयो ।

दाङमा यस वर्ष पानी नपरेपछि धान खेती प्रभावित भएको छ । आकाशे पानीको भरमा खेती हुँदै आएको जग्गा बाँझै छन् भने धान रोपेका खेतका गह्रा सुकेर चिरा परेका छन् । समयमा पानी नपाएको धानले उत्पादन कम दिने किसानको भनाइ छ ।

अधिकांश ठाउँमा रोपाइ भए पनि केही ठाउँमा भने पानीको अभावमा खेत बाँझै भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । देउखुरी क्षेत्रमा धान रोपाइँ भए पनि घोराही, तुलसीपुर र त्यसभन्दा पश्चिम क्षेत्रका कृषकले धान रोपाइँ गर्न नसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मनोजकुमार सिंहले बताउनुभयो ।

उहाँका अनुसार यस वर्ष ८५ प्रतिशतमात्र धानखेती भएको छ भने बाँकी १५ प्रतिशत खेत बाँझै छ । दाङमा यस वर्ष ३९ हजार चार सय हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । मौसम प्रतिकूलताका कारण अहिले जिल्लामा सबै क्षेत्रफलमा धान रोपाइँ नभएको र धान उत्पादनमा ह्रास आउने अनुमान गरिएको छ ।

जिल्लामा ६५ हजार नौ सय ८० हेक्टर जमिन खेतीयोग्य छ । त्यसमध्ये ३० हजार चार सय हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । उन्नाइस हजार छ सय ५१ हेक्टर जमिनमा पूणरूपमा सिँचाइ सुविधा पुगेको छ भने बाँकी ३९ हजार दुई सय ११ हेक्टर जमिनमा आंशिक सिँचाइको व्यवस्था छ ।

कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार गत वर्ष नौ हजार तीन सय पाँच मेट्रिक टन बढी धान उत्पादन भएको थियो । अठतीस हजार चार सय ९७ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यसमा एक लाख ७९ हजार मेट्रिक टन धान उत्पादन भएको केन्द्रका सूचना अधिकारी सिंहले जानकारी गराउनुभयो ।

कृषकले सुक्खा–२, ३, रामधान, विन्देश्वरी, सामा मन्सुली, सावित्री, हाइब्रेड, युएस–३१२ जातका धानका बीउ रोपेका छन् । लमही, चैलाही, गोवडिया, रामपुर कर्जाही, चैनपुर, फचकपुर, गुरुवागाउ,ँ गुरगै, बिजौरी, पर्सेनीलगायतका ठाउँमा बढी धानखेती हुन्छ । कृषकले विभिन्न उन्नत तथा स्थानीय जातको धान लगाएका छन् । दाङको देउखुरी क्षेत्रमा छिटो धान रोपाइँ हुने गर्दछ । जिल्लाका विभिन्न स्थानमा मकैजोन कार्यक्रम मात्र नभई तोरीजोन, स्मार्ट कृषिगाउँजस्ता कार्यक्रम पनि सञ्चालन भइरहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत