आइतवार, अशोज ९, २०७९

खोटाङबजारको सडक ढलान अलपत्र अवस्थामा


कान्तिपथ



खोटाङ, २२ भदौ : जिल्लाको दक्षिणी क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यापारिक केन्द्र तथा पुरानो सदरमुकाम खोटाङ बजारको सडक ढलानमा ठेकेदारको लापरबाही देखिएको छ ।

खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारको सडक ढलान तथा डिबिएसटी पिच (कालोपत्र)को काम १ नं प्रदेश सरकारको रु दुई करोड ६९ लाख २५ हजार सात सय ९७ को लागतमा धुलिखेल निर्माण सेवा कम्पनीले जिम्मा लिएको थियो । विसं २०२० सम्म जिल्ला प्रशासन तथा हाल इलाका प्रशासन कार्यालय रहेको खोटाङ बजारको सडक ढलानमा ठेकेदार कम्पनीबाट भइरहेको लापरबाहीका विषयमा स्थानीय सरकारदेखि प्रदेश र सङ्घीय सांसदसमेत बेखबर झैँ देखिएका छन् । खोटाङबजार प्रदेश सरकार, १ प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई ‘पासाङ’को निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा सदस्य एवं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईको गृह वडा हो ।

ठेकेदारको लापरबाहीका कारण सडक ढलानका क्रममा गुणस्तरहीन गिटी र बालुवा प्रयोग गरिएको, मापदण्ड अनुसारको दूरीमा रडको जाली नराखिएको, ढलान गर्नुअघि सोलिङ राम्ररी नगरिएको लगायतका त्रुटी देखिएको स्थानीय बासिन्दाले जनाएका छन् । खोटाङबजार रोड कन्ट्रक्सन आयोजनाको ठेक्का धुलिखेल निर्माण सेवा कम्पनीले विसं २०७८ असार मसान्तमा सक्नेगरी विसं २०७७ असार–३० गते लिएको थियो ।

करिब सात सय मिटर आरसिसि ढलान र करिब छ यी मिटर डिबिएसटी कालोपत्र गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सुरुमा खोटाङबजारमा डिबीएसटी कालोपत्र गर्नेगरी डिपिआर तयार पारिएको थियो । तर, डिबीएसटी गर्ने क्रममा रोलरको थर्कनले बजारका घरलाई असर गर्ने भन्दै डिजाइन परिवर्तन गरेर घर भएको क्षेत्रमा ढलान र घर नभएको ठाउँमा डिबिएसटी पिच (कालोपत्र) गर्नेगरी काम अघि बढाइएको हो ।

परिवर्तित डिजाइन अनुसार २ नम्बर धारादेखि इलाका प्रशासन कार्यालयको गेट र बजार पुछारसम्म ढलान तथा २ नम्बर धारादेखि गाउँपालिकाको कार्यालयसम्म डिबिएसटीको काम गर्नुपर्ने प्रदेश सरकारसँग गरिएको सम्झौतामा उल्लेख छ । आरसिसि ढलानको काम अन्तिम चरणमा पुगेपनि ठेकेदारको लापरबाहीले पिचको काम अझै सुरु नभएको वडा नं ७ खोटाङ बजारका वडाध्यक्ष एवं खोटेहाङ गाउँपालिकाका प्रवक्ता शिवप्रसाद फुँयालले जानकारी दिनुभयो । खोटाङ बजारको सडक ढलान आयोजनामा निर्माण कम्पनीले यसअघि थपिएको म्यादसमेत गुजारीसकेको निर्माणस्थलमा खटिनुभएका सहरी विकास तथा भवन कार्यालय, ओखलढुङ्गाका इञ्जिनीयर धीरज साहले बताउनुभयो ।

“सम्झौता म्याद नाघेको वर्षदिन वितिसक्दा बल्ल आयोजनाको करिब ७० प्रतिशत मात्र काम सकिएको देखिएको छ”, उहाँले भन्नुभयो, “गुणस्तरहीन काम भएको ठाउँमा ढलान फुटाएर पुनः काम गर्न लगाइएको छ । राम्रो नभए फुटाउने हो, गुणस्तरीय काम गराउने हो । बिग्रेछ भने उनीहरुले नै बेहोर्छ, सम्झौता गर्दा राखेको धरौटी जफत हुन्छ ।”

स्थानीयवासीका अनुसार निर्माण सुरु गर्दादेखि नै लापरबाही भएको खोटाङ बजारको सडक ढलानको काम अहिले ठप्प छ । महिना दिन अघिदेखि काम छाडेको ठेकेदार कम्पनीले ढलान गर्न विच्छ्याइएको ठाउँबाट फलामे रड तथा सिमेन्ट र बालुवासमेत उठाएर अन्यत्र लान थालेको प्रत्यक्षदर्शीले बताएका छन् ।

बजारको सडक ढलान आफूहरु निर्वाचित भएर आउनुभन्दा अगाडि गरिएका ठाउँमा समस्या देखिएको खोटेहाङ गाउँपालिका प्रमुख उदिमबहादुर राईले जानकारीदिनुभयो । “हामी निर्वाचित भएर आएपछि गुणस्तर कायम गर्न १५ दिनसम्म रोक्यौँ”, उहाँले भन्नुभयो, “अहिले पानीझरिको बहाना बनाएर काम गरेका छैनन् ।

अब हुने काममा गुणस्तर कायम गराएर तोकिएकै समयमा सम्पन्न गराउँछौँ ।”सडक ढलानमा ठेकेदारले चरम ढिलासुस्ती गर्नुका साथै काम पनि गुणस्तरहीन गरेको विषयमा जनप्रतिनिधिसमेत मौन बसेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । ठेकेदार कम्पनीले सडक ढलानका लागि निर्माण सामग्री ल्याएर जथाभावी राखेकाले आवतजावतमा समेत समस्या भएको उनीहरुले गुनासो गरेका छन् ।

सडक ढलानको काम अलपत्र भएको विषयमा जानकारी लिन खोज्दा ठेकेदार कम्पनीका व्यक्तिसँग सम्पर्क हुन सकेको छैन । अलपत्र अवस्थामा काम छाडेर हिँडेका ठेकेदारलाई दसैँ–तिहारपछि काममा फर्काउने गाउँपालिकाले जनाएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत