बिहिबार, अशोज २०, २०७९

आत्मनिर्भर बन्दै थारू महिलाहरू


कान्तिपथ



वीरगञ्ज (पोखरिया), २२ भदौ : पर्साको जीराभवानीकी अन्तिमा चौधरीलाई आजभोलि एकक्षण पनि फुर्सद छैन । उहाँ बिहानै उठेर जङ्गल जानुहुन्छ र काँस लिएर आउनुहुन्छ । त्यसलाई सुकाएर विभिन्न रङ्गीन नुइला, डलिया, सुप्पा, टोपीलगायतका सामग्री बनाउनुहुन्छ । उहाँले बनाएका ती सामग्री चाडवाड, बिहेवारी, सगुन सबै कार्यमा प्रयोगमा आउँछन् ।

खासगरी थारू समुदायमा छोरीको विवाह वा गाउँलेको घरमा हुने बिहेवारी, पूजापाठ तथा आफन्तको विवाह पूजापाठमा यी बुनिएका तथा बनाइएका विभिन्न सामग्री सगुनका रूपमा दिने प्रचलन छ । उहाँ भन्नुहुन्छ, “यसले थारू समुदायको मौलिक पहिचान तथा संस्कृति झल्काउन मद्दत गर्दछ ।” फुर्सदको समयमा आफ्नो परम्परागत सीपको उपयोग गर्दै घरायसी प्रायोजन र सजावटका विभिन्न सामग्री बुन्ने कामले आयआर्जनसमेत हुन थालेपछि उहाँ एकक्षण पनि समय खेर फाल्न चाहनुहुन्न । यी सामग्री बनाउन समय मात्र होइन, इच्छाशक्ति र अभ्यास पनि चाहिने उहाँको भनाइ छ ।

निरन्तरको अभ्यासपछि थारू समुदायका महिलाहरू यस्ता सामग्री बनाएर घरको सजावटको साथै बिक्री गरेर जीविकोपार्जनतर्फ सक्रियरूपमा लागेका छन् । विभिन्न सामग्री बनाउन अझ निखारता ल्याउन सके बजारमा सजिलै बिक्री हुने स्थानीय रागिनी चौधरीको पनि भनाइ छ । काँसबाट ढकिया, नुइँया, डेलुवा तथा बाँस, जुटलगायतको प्रयोग गरेर पनि त्यस्ता सामग्री बनाउने गरिएको उहाँ बताउनुहुन्छ ।

थारू महिलाले बनाएका यस्ता सामग्रीलाई बजारको समस्या छैन । स्थानीय रन्जु चौधरी भन्नुहुन्छ, “आफूले कस्तो खालको आकर्षक ढाँचामा बनाउन सक्छौँ । आफ्नो हातको कलामा भर पर्छ । नयाँ ढाँचामात्रै दिन सके त किन्ने मानिस घरमै आएर लैजान्छन् ।” उहाँका अनुसार छोरीको विवाहका लागि घर सजावट गर्न तथा र गाउँघर आसपासका होमस्टे, होटलको सजावटको लागि यी सामग्रीको खोजी हुने गर्दछ ।

सीप, कला संस्कृतिलाई व्यवसायीकरण गर्दै आर्थिक आयआर्जनसँंग पनि जोडेर काम गरेको अनुभव सुनाउँदै पर्सा सेढवाकी सुनकली थारू भन्नुहुन्छ, “गाउँमा धेरै जनाले यस किसिमका सामान बनाउन नजानेकाले राम्रो आकर्षक फूलबुट्टा दिन सके महँगोमा बिक्री हुने गरेको छ ।” थारू समुदायका महिलाहरू परम्परागतरूपमा ढकियालगायतका सामान बुन्दै आए पनि अहिले प्रचलनमा विभिन्न सजावटका सामग्री बनाउने सीप कमैमा रहेको पाइन्छ । राम्रो र आकर्षक डिजाइन दिनसके एउटै सामग्रीको रु पाँच हजारदेखि १० हजारसम्ममा पनि बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ ।

थारू समुदायमा रहेका यस्ता मौलिक कला संस्कृतिहरू लोप हुने सङ्घारमा पुगेको अवस्थामा यहाँका अधिकांश महिलाको सक्रियतामा विभिन्न हस्तकलाका सामग्री निर्माण गर्ने कार्यले भाषा, संस्कृति र पहिचान जोगाउन मद्दत पुगेको छ । यसले आयआर्जनको विकल्प दिनुका साथै उनीहरूमा सशक्तीकरण पनि भएको सामाजिक अभियन्ता प्रकाश थारू बताउहुन्छ । जानेका महिलाले नजानेका आफ्ना सन्तान, आफन्त तथा साथीलाई सिकाउने गरेकाले सीपको हस्तान्तरण पनि भएको उहाँको भनाइ छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत