आइतवार, अशोज ९, २०७९

बेनीमा ‘कपडा बैंक’ स्थापना


कान्तिपथ



बेनी नगरपालिका–७ को कार्यालयमा कपडा बैंक स्थापना भएको छ । घरमा प्रयोग नभएका लत्ताकपडा सङ्कलन गरी खरिद गर्न नसक्ने गरिब परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले वडा कार्यालयमा कपडा बैंक स्थापना गरिएको हो । यसबाट प्राकृतिक विपत्तिमा परेका, बेवारिसे अवस्थामा भेटिएका, गरिब तथा अतिविपन्न परिवारलाई उपलब्ध गराउने वडाध्यक्ष रमेश श्रेष्ठले जानकारी दिनुभयो ।

“आवश्यक पर्नेले बैंकमा आएर आफूखुसी रोजेर लुगा लान सक्छन्”, उहाँले भन्नुभयो, “वडामा लैजानेको विवरण राखिए पनि गोप्य हुन्छ । दिनेको नाम सार्वजनिक गर्छौँ ।” ‘कपडा बैंक’मा प्रयोगयोग्य लत्ताकपडा सङ्कलन भइरहेको जनाइएको छ ।

म्याग्दी जेसिजले आइतबार एक सय थान कपडा उपलब्ध गराएको थियो । जेसिजका शाखा अध्यक्ष सन्दीप खत्रीको टोलीले वडाध्यक्ष श्रेष्ठलाई कपडा हस्तान्तरण गर्नुभएको थियो । जेसिजका पदाधिकारी, सदस्य र बजारका व्यापारीबाट प्रयोग गर्न योग्य तर उपयोग नभएका कपडा सङ्कलन गरिएको थियो ।

वडा कार्यालयमा एउटा कोठा कपडा व्यवस्थापनका लागि मात्रै राखिएको छ । म्याग्दी जिल्लाभित्र तथा आवश्यक परेमा बाहिरी जिल्लाका असहाय, असक्त तथा अर्थावस्था न्यून भएका व्यक्तिलाई मौसमअनुसार कपडा उपलब्ध गराउने वडा कार्यालयले जनाएको छ ।

प्रयोग गरिसकेको वा प्रयोगविहीन अवस्थामा रहे पनि सफा र प्रयोग गर्न मिल्ने कपडा उपलब्ध गराउन सकिने वडा सचिव विनिता रेग्मीले बताउनुभयो । अभियानमा नगरकार्यपालिका सदस्यहरूले प्रतिव्यक्ति रु एक हजार सहयोग गरेका छन् ।

विशेष गरेर चाडपर्वमा लगाउन सक्ने जाडो मौसमन जिकिँदै गर्दा विपन्न समुदायका मानिसले न्यानो कपडा अभावमा कष्ट व्यहोर्नु नपरोस् भन्ने उद्देश्यले लत्ताकपडा सङ्कलनलाई तीव्रता दिएका छन् । बेनी नगरपालिका वडा नं ७ ले विपन्नको मृत्युपछि अन्त्येष्टिका लागि निःशुल्क दाउरा उपलब्ध गराउन थालेको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत