शुक्रबार, अशोज २१, २०७९

स्मार्ट कृषि : कृषकलाई बाख्रापालनमा सघाउँदै


कान्तिपथ


रामपुर (पाल्पा), ३० भदौ : बाख्रापालन व्यावसायलाई दीगोरुपमा सञ्चालन गर्ने उद्देश्यले पाल्पामा स्मार्ट कृषि गाउँ कार्यक्रममा जोड दिइएको छ । जिल्लाको निस्दी, पूर्वखोला, बगनासकाली गाउँपालिकामा बाख्रापालन र रैनादेवी छहरामा तरकारी तथा खाद्यान्न बालीमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालित छ ।

बाख्रापालनलाई प्रोत्साहन गर्दै उत्पादन वृद्धि गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो । यस कार्यक्रमबाट उत्पादन वृद्धि गर्नुका साथै कृषकको जीवनस्तर उकास्ने र संस्थागत विकास हुने भएकाले कार्यक्रम प्रभावकारी देखिएको भेटरिनरी तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख डा चन्द्रबहादुर राना बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “बजारमा खसी बोकाको माग बढ्दो छ, यसबाट कृषकले राम्रो आयस्रोत लिन सक्ने भएकाले स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत बाख्रापालनमा कृषकले जोड दिएका छन्, जिल्लामा उत्पादकत्व वृद्धि भइरहेको छ” ।

उहाँका अनुसार यस आर्थिक वर्षमा चार पालिकामा सञ्चालन भइरहेको सो कार्यक्रमका लागि कार्यालयले रु एक करोड १४ लाख रकम विनियोजन गरेको छ । यसभन्दा अघि तानसेन नगरपालिकाको अर्गलीमा चार वर्षसम्म चलेको बाख्रापालन कार्यक्रम अहिले सहकारीकरण गरी कार्यालयले हस्तान्तरण गरेको छ । यहाँ राम्रै हँुदै गएपछि कार्यालयले अन्य पालिकामा पनि बाख्रापालनका कार्यक्रम अघि सारेको छ ।

पूर्वखोला गाउँपालिका–२ स्थित जल्पा र बगनासकाली गाउँपालिका–१ र २ मा चौथो वर्षमा स्मार्ट कृषि गाउँ कार्यक्रम चलिरहेको छ भने निस्दी र रैनादेवी छहरामा तेस्रो वर्षमा कार्यक्रम अगाडि बढेको छ । यो कार्यक्रम सम्झौता भएपछि चार वर्षसम्म कार्यालयको सहयोगमा चल्नेछ । पाँचौँ वर्षमा सहकारीकरण गरी हस्तान्तरण गरिनेछ ।

कार्यक्रम सुरु भएको पहिलो वर्ष कार्यालयले ८० प्रतिशत र सम्बन्धित समूह तथा संस्थाले २० प्रतिशत, दोस्रो वर्ष कार्यालयबाट ७० प्रतिशत र सम्बन्धित समूह, संस्थाले ३० प्रतिशत, तेस्रो वर्षमा कार्यालयले ६० र समूह, संस्थाले ४० प्रतिशत र चौथो वर्षमा कार्यालय र सम्बन्धित समूह र संस्थाले ५०÷५० प्रतिशत रकम लगानी गरेर कार्यक्रम सञ्चालन गरिनेछ । सम्बन्धित समूह तथा संस्थाले स्थानीय सरकारसँग या संस्था आफँैले रकम व्यवस्थापन गरेर कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रावधान छ ।

बाख्रापालनको हकमा प्रत्येक कृषकले कम्तीमा १० माउ बाख्रा पालेको हुनुपर्नेछ भने तरकारी तथा खाद्यान्न बालीमा (कार्यक्रममा आवद्ध सबै कृषकको गरी एकमुष्ठ) कम्तीमा पाँच हेक्टर क्षेत्रफलमा खेती गरेको हुनुपर्ने जनाइएको छ ।

स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत निस्दी गाउँपालिका–३ को झिरुवास, मौरीया, धार्केसिङ, ढाब्रा र डुनडाँडा क्षेत्रमा गरी ६० घरपरिवारका कृषकले एक हजार ४७५ बाख्रापालन गरेका छन् । कार्यक्रम शुरु भएपछि हालसम्म यहाँ प्रतिकृषक एक÷एकवटा बाख्रा माउ बाख्रा वितरण गरिएको छ ।

संस्थाका लागि २४ उन्नत बोयर बोका, सातवटा चापकटर मेसिन, सातवटा ग्रेण्डर मेसिन, छ वटा फाइवरको डिटिङ्ग ट्याङ्क, सबै घरधुरीमा उन्नत घाँसको बीउ वितरण तथा गाउँमा एकवटा घाँसको नर्सरी स्थापना गरिएको निस्दीका पशुस्वास्थ्य शाखा प्रमुख ओमबहादुर मश्राङ्गीले बताउनुहुन्छ । बाख्रापालनसम्बन्धी चेतनामुलक चारवटा तालिम, औषधि वितरणकार्य भएको छ ।

“गाउँमा यस कार्यक्रमले बाख्रापालनमा कृषकको आकर्षण बढ्दै गएको छ, अहिले उत्पादन वृद्धि हुँदै जादा उत्पादित खसीबोका बजारीकरण सम्बन्धमा छलफल चलिरहेको छ” उहाँ भन्नुहुन्छ, “यहाँ सञ्चालन भएको कार्यक्रममा आवद्ध कृषकले कम्तिमा १४ देखि बढीमा ५५ सम्म माउ बाख्रापालन गरेका छन् भने सबैका घरमा आधुनिक खोर बनेका छन्” ।

बगनासकाली गाउँपालिका–१ र २ मा बाख्रापालनमा ईच्छुक कृषकलाई लक्षित गरी माडी चक्रपथ स्मार्ट कृषि गाउँ कार्यक्रम तेस्रो वर्षमा अगाडि बढेको छ । यहाँ ५० घरपरिवार आवद्धमध्ये ४५ घरमा बाख्रापालन र पाँच घरमा माछापालन गरिएको समितिका अध्यक्ष मथुरा ढकालले बताउनुभयो । उहाँका अनुसार ६१ बाख्राबाट शुरु भएको कार्यक्रम अहिले ४८२ माउ, खसी, बोका, पाठापाठी छन् । समितिले ४५० माउ बाख्रा पु¥याउने लक्ष्य छ ।

“यस कार्यक्रमले बाख्रापालन व्यावसायमा कृषकलाई आकर्षण गरेको छ, थोरै बाख्रापालन गर्नेले अहिले सङ्ख्या बढाउँदै जानुभएको छ, विभिन्न सेवा सुबिधा पाइदो रहेछ” उहाँ भन्नुहुन्छ ।

गतवर्ष बगनासकाली गाउँपालिकाबाट रु आठ लाख रकम सहयोग भएको थियो । यसवर्ष भने समिति आफैँले रकम व्यवस्थापन गरेर कार्यक्रम गर्ने अध्यक्ष ढकालले बताउनुभयो । यस समितिले कार्यक्रम शुरु भएपछि ७९ वटा खसी बोका विक्री गरेर रु आठ लाख ११ हजार बराबरको आम्दानी गरिसकेको छ ।

भेटरिनरी तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले चालु आर्थिक वर्षको लागि रु सात करोड छ लाख ५३ हजार बराबरको कार्यक्रम गर्नेछ । जसअन्तर्गत चालु आर्थिक वर्षको कार्यक्रममा कृषि, उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रममा रु ९० लाख ७५ हजार, पशुपक्षी पर्यटन प्रवद्र्धनमार्फत आयआर्जन सहयोगमा रु दुई लाख, बङ्गुरपालन कार्यक्रमको लागि रु १० लाख, प्रतिफलमा आधारित प्रोत्साहन अनुदान रु ३० लाख, ग्रामीण क्षेत्रमा कुखुरापालनमा रु १० लाख, डेरी तथा मासु पसल सुधारमा रु आठ लाख, अनुगमन मूल्याङ्कनमा रु ७५ हजार, स्मार्ट कृषि कार्यक्रममा रु एक करोड १४ लाख रकम विनियोजन गरेको छ ।

यस्तै मत्स्य विकास कार्यक्रमको लागि रु पाँच लाख ९५ हजार, कृषि तथा पशुपक्षी श्रोत तथा प्रविधि सेवा टेवा कार्यक्रमको लागि रु एक करोड ८६ लाख दुई हजार, पशुपक्षी विकास तथा पशु स्वास्थ्य नियमन कार्यक्रमको लागि रु ३३ लाख ८० हजार र गाईका व्यवसायिक उत्पादन केन्द्र ब्लक कार्यक्रम सङ्घीय सरकारमार्फत रु ३३ लाख बराबरको वजेट रहेको छ ।

कार्यालयले चालु आर्थिक वर्षमा कृषकसँग कृषि मन्त्री कार्यक्रमको लागि रु सात लाख ५० हजार, तिनाउ गाउँपालिकामा बङ्गुर श्रोत केन्द्र स्थापनाको लागि, रु चार लाख, तानसेन र माथागढीमा बाख्रा र बङ्गुरको ब्रिडर हर्ड स्थापनाको लागि रु आठ लाख, मागमा आधारित व्यवसायिक कृषि तथा पशुपक्षी विकास कार्यक्रमको लागि रु ३० लाख, पशु बाँझोपन निवारण सेवाको लागि रु छ लाख, पशुस्वास्थ्य तथा उपचार खोप सेवाको लागि रु छ लाख, प्रयोगशाला सेवाको लागि रु चार लाख, पशु स्वास्थ्य शिविरको लागि रु दुई लाख ५० हजार, सामुदायिक प्रजनन् केन्द्र स्थापनातर्फ रु पाँच लाख वजेट रहेको कार्यालले जनाएको छ ।

माछापालनको लागि नयाँ पोखरी निर्माण गर्न रु पाँच लाख, तानसेन नगरपालिका–७ मा गौशाला निर्माण गर्नका निम्ति रु १० लाख, बगनासकाली गाउँपालिका–८ बराङ्दीमा गाईंभैंसी प्रवद्र्धनको लागि रु १० लाख, पशुपक्षीका रोग नियन्त्रण गर्न खोप अभियान कार्यक्रमका लागि रु २० लाख बराबरको वजेटका कार्यक्रम कार्यालयबाट सञ्चालन हुने कार्यालयका पशु प्राविधिक युवराज ज्ञवाली बताउनुहुन्छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत