आइतवार, अशोज ९, २०७९

विन्ध्यवासिनी मन्दिर एकः सेवाका क्षेत्र अनेक


कान्तिपथ



गण्डकी, ३१ भदौ : पर्यटकीय नगरी पोखराको जीवन्त इतिहासको साक्षी यहाँको विन्ध्यवासिनी मन्दिर हो भन्दा फरक पर्दैन । पोखरा आउने जो कोहीले नछुटाउने गन्तव्यका रुपमा विन्ध्यवासिनी स्थापित भइसकेको छ । मनले चिताएको पुग्ने जनविश्वाससँगै पुगेका दर्शनार्थी एवं पर्यटक यहाँबाट देखिने हिमाली दृश्यमा मोहित हुने गर्दछन् । मन्दिर निर्माणबारे यकिन तथ्य फेला नपरे पनि कुनै अज्ञात कालखण्डदेखि शक्तिस्थलका रुपमा पुजिँदै आएको छ । हालको मन्दिर आजभन्दा अढाइ शताब्दी पुरानो भएको अनुमान गरिएको छ । मन्दिर स्थापना कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहका पालामा भएको हो ।

कास्की जिल्लाको मध्यभागमा २७ रोपनी क्षेत्रफलमा फैलिएको मन्दिर वरपरको समथर भू–भागबाट केही उच्च थुम्कामा अवस्थित रहनाले पनि यहाँको शोभा बढाएको छ । थुम्कामा मन्दिर रहेका कारण दर्शनार्थीले सिँढी चढेर माथि उक्लनुपर्छ । मन्दिरमा हिडेर उक्लन नसक्नेहरुका लागि लिफ्टको प्रबन्ध छ । धार्मिक महत्वका साथै पोखराको दृश्यावलोकन एवं मन्दिर परिसरबाट विभिन्न ११ वटा हिमशिखर देख्न सकिन्छ । यहाँबाट आठ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम, सात हजार नौ सय ३७ मिटरको अन्नपूर्ण दोस्रो, सात हजार पाँच सय ५५ मिटरको अन्नपूर्ण तेस्रो, सात हजार पाँच सय २५ मिटरको अन्नपूर्ण चौथो, सात हजार चार सय ८५ मिटरको खाङसारकाङ र सात हजार दुई सय ९१ मिटरको अन्नपूर्ण दक्षिण हिमाल देख्न सकिन्छ । त्यस्तै छ हजार नौ सय ९७ मिटरको माछापुच्छ्रे, छ हजार नौ सय ८३ मिटरको लमजुङ, छ हजार चार सय ४१ मिटरको घान्द्रुक हिउँचुली र पाँच हजार सात सय ८१ मिटरको मर्दी हिमाल अवलोकन गर्न सकिन्छ ।

मन्दिरलाई सुविधा सम्पन्न बनाउने लक्ष्यअनुरुप विभिन्न काम अघि बढिरहेको समितिका कार्यबाहक अध्यक्ष सूर्यप्रसाद सुवेदीले जानकारी दिनुभयो । गुम्बज शैलीमा सेतो रङको अष्टभुजाकार रहेको मन्दिरको गजुरबाट तामाको श्रीबन्दी लतारिएको छ । मन्दिरको चारैतर्फ विसं १८९६ यताका विभिन्न मितिमा राखिएका घण्टा छन् । पित्तलको द्वार अघि राखिएका पित्तलबाटै निर्मित दुई सिंहका आकृतिले मन्दिरको शोभा बढाएको छ । मन्दिर वरपर गणेश, हनुमान, सरस्वती, राधाकृष्ण, शिव, नवग्रह तथा अष्टचीरञ्जीवीका मन्दिर छन् ।

मन्दिर परिसरमा समितिले बाटिका बनाएको छ भने मन्दिरको परिक्रमा गर्न प्रदक्षिणा पथ बनाइएको छ । परिसरमा अष्टभुजाकार कुण्डमा साढे चार फिट उचाइको शिवलिङ्ग, पूर्वबाट पश्चिम फर्केका पञ्चधारा, फलैँचालगायत संरचना निर्माण गरिएको छ । मन्दिरको मूल प्रवेशद्वार, खानेपानी व्यवस्थापनलगायत व्यवस्था गरेको समितिले आउँदो दशैँदेखि मन्दिर परिसरमा नै दर्शनार्थीका लागि शुद्ध पिउने पानीको व्यवस्था मिलाउन लागेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।

विन्ध्यवासिनी मन्दिरलाई केबल धार्मिक क्षेत्रका रुपमा मात्र नभई यसैका माध्यमबाट सामाजिक सेवाका विभिन्न क्षेत्रमा पनि काम पनि गरिएको सचिव श्रेष्ठले जानकारी दिनुभयो । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिकै सक्रियतामा २०५१ सालमा स्थापित विन्ध्यवासिनी गुरुकुल विद्याश्रममा कक्षा ६ देखि १० सम्म निःशुल्क आवासीयरुपमा अध्यापन कार्य सञ्चालन हुँदै आएको छ । गुरुकुललाई कक्षा १२ सम्म विस्तार गर्ने योजनाअनुरुप मन्दिरको गुठीको हक–भोग स्वामित्वको पोखरा महानगरपालिका वडा नं १८ स्थित २६ रोपनी जग्गामा भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको समितिले जनाएको छ । सेवा कार्यलाई प्राथमिकतामा राख्दै ज्येष्ठ नागरिकका लागि दिवा सेवा उपलब्ध गराउने उद्देश्यले २०७२ सालदेखि विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्रसँगै एम्बुलेन्स पनि सञ्चालन गरिएको सचिव श्रेष्ठले जानकारी दिनुभयो । ज्येष्ठ नागरिक मिलन केन्द्रका लागि सुविधा सम्पन्न भवन निर्माण सुरुआत गरिसकिएको छ । समितिले प्राकृतिक चिकित्सा पद्धतिका आधारमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ विन्ध्यवासिनी प्राकृति चिकित्सालय स्थापन गर्न लागेको छ । उक्त चिकित्सालयका लागि भौतिक पूर्वाधार निर्माण कार्यमा ७५ प्रतिशत काम सम्पन्न भइसकेको उहाँले बताउनुभयो ।

आश्विन शुक्ल पक्ष, चैत्र शुक्ल पक्ष र महत्वपूर्ण तिथि एवं पर्वका बेला यहाँ भीड लाग्ने गर्छ । यसैबीच समितिले विसं २०६४ देखि आश्विन शुल्क पक्ष (वडा दशैँ) का अवसरमा सञ्चालन गर्दै आएको नवदुर्गा महोत्सव यस वर्ष पनि गरिने भएको सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

मन्दिरमा पूजाआजाका क्रममा सङ्कलित भेटीलाई व्यवस्थित र पारदर्शी बनाउँदै आएको समितिका कोषाध्यक्ष इन्द्रप्रसाद अधिकारीले जानकारी गराउनुभयो । उहाँका अनुसार मन्दिरमा दैनिक रु ५० हजारभन्दा बढी भक्तजनबाट गरिने दान तथा सहयोग सङ्कलन भइरहेको छ । मन्दिरमा देवीमा चढाइएको भेटीका साथै दानपेटिकामा सङ्कलित रकम प्रत्येक दिन अद्यावधिक गर्ने गरिएको कोषाध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

मन्दिर दैनिक सञ्चालन तथा व्यवस्थापनका लागि ४५ कर्मचारी छन् । मन्दिरमा हाल १० पुजारी रहेको र तिनको पारिश्रमिक, सरसफाइ, विन्ध्यवासिनी गुरुकुलका विद्यार्थीको आवाश आदिको व्यवस्थापनका लागि मासिक रु १४ लाखसम्म खर्च हुने गरेको उहाँको भनाइ थियोे ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत