आइतवार, अशोज ९, २०७९

रोशनीले उत्पात मच्चाउन थालेपछि महरा समानुपातिकको सहज बाटोमा !


कान्तिपथ


नेकपा माओवादी केन्द्रले समानुपातिक उम्मेदवारको सूची टुंग्याएको छ। सूचीमा पदाधिकारीबाट उपाध्यक्ष कृष्णबहादुर महराको नाम समेत समावेश भएको माओवादी केन्द्रका एक पदाधिकारीले जानकारी दिए ।

महरा दाङ–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका थिए । उनले २०७४ सालमा त्यही क्षेत्रबाट चुनाव जितेका थिए । यसपटक भने उनी आफैंले प्रत्यक्ष चुनाव लड्ने इच्छा नदेखाएपछि उनलाई समानुपातिकमा राखिएको ती पदाधिकारीले बताए ।

२०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चाबाट उम्मेदबार बनेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका महरा २०६४, २०७० र २०७४ को चुनावमा लगातार निर्वाचित भए । महरा २०४८ मा रोल्पा– २, २०६४ मा दाङ–३, २०७० मा रोल्पा–१ र २०७४ मा दाङ–२ बाट उनी निर्वाचित भएका थिए । माओवादीबाट सबैभन्दा धेरै अवसर लिने नेतामा उनी पर्छन । सभामुख समेत भएका महरा ५ पटक मन्त्री बनिसकेका छन् ।

महरा समानुपातिकमा बस्नुलाई रोशनी शाहीसंग पनि जोडेर हेरिएको छ । तत्कालीन सभामुख तथा माओवादी प्रवक्ता कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएर जेल पठाएकी रोशनी शाहीले समानुपातिकको बन्दसुची बुझाउने दिन माओवादी मुख्यालयमा अरु नेतालाई समेत आरोप लगाईन । आगामी निर्वाचनमा टिकटको दावी गर्दै आएकी उनले आफूलाई पुरानो माओवादी भन्दै समानुपातिक टिकटको लागि बबाल मच्चाईन । उनै शाहीले दाङमा समेत बबाल मच्चाउने र एमालेले प्रयोग गर्न सक्ने भयले गर्दा महराले समानुपातिकको सहज बाटो रोजेको हुन सक्ने लख काट्न थालिएको छ ।

हिजो उनले के कारण र आधारले म माओवादी कार्यकर्ता होइन ? भन्दै उनी चिच्याइन्, ‘तिमी सबै नेता बलात्कारी हौ । सबका बारे एक एक थाहा छ । दूधले नुहाएका कोही छौ भने हात उठाऊ र मलाई टिकट देऊ । होइन भने तिमीहरु सबैको पोल खोल्छु ।’ शाहीले बबाल गरेपछि २ बज्ने बस्ने भनिएको पदाधिकारी बैठकको केही समयअघि उनलाई गलहत्याएर गेटबाट निकालिए पछि सुरु भएको थियो ।

सोमबार निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीमा खस आर्य समुदायबाट महरा एक नम्बर रहेका छन् । दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेलसँग प्रतिस्पर्धा गर्न नसकिने र रोल्पामा अरु नेताहरुलाई छाड्न परेकाले उनले समानुपातिकको सहज बाटो रोजेको माओवादी नेताहरुको भनाइ छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत