शुक्रबार, अशोज २१, २०७९

सिन्धुपाल्चोक २ मा को बन्ला गठबन्धनको उम्मेदवार ? १ को झगडाले २ लाई असर !


कान्तिपथ


अशोक दुलाल । सिन्धुपाल्चोकमा प्रतिनिधिसभाको २ र प्रदेशसभाको चार सीटका लागि राजनीतिक दलहरुबीच चुनावी प्रतिस्पर्धा रोचक र घोचक हुने देखिएको छ । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ जस्तै २ पनि प्रमुख दलका हेभीवेट नेताहरुकै क्षेत्र हो । राप्रपा नेता पशुपतिशमशेर राणा, एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, माओवादीका पोलिटब्युरो सदस्य युवराज दुलालदेखि राप्रपाबाट कांग्रेसमा प्रवेश गरेका पूर्वमन्त्री विष्णुविक्रम थापाको क्षेत्र यही हो । त्यस्तै पूर्वसासंद तथा एकीकृत समाजवादीका नेता सुवास कर्माचार्यको क्षेत्र पनि यही हो । राणा भने समानुपातिकको बन्दसुचीमा बसिसकेका छन् ।

राप्रपाले सोमवार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा राणाको नाम अग्रस्थानमा छ । राणाले पञ्चायतको समयदेखि गणतन्त्रसम्म सिन्धुपाल्चोकबाट चुनाव लड्दै आएका थिए । २०५६ सालमा चुनाव जिते पनि त्यसयता उनी पराजित हुँदै आएका थिए तर पनि उनले चुनाव लड्ने हिम्मत जारी राखेका थिए ।

पञ्चायतदेखि बहुदलीय व्यवस्थाका धेरै निर्वाचनमा यो क्षेत्रबाट राप्रपा नेता पशुपतिशमशेर राणााले जित्दै आएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा भने यो क्षेत्रबाट पहिलोपटक राप्रपा अध्यक्षसमेत रहेका राणालाई माओवादी उम्मेदवार दावा तामाङले हराए ।

संविधानसभाको अर्काे निर्वाचनमा एमाले नेता शेरबहादुर तामाङले पुनः राणालाई हराए भने एमाले र माओवादीबीच गठबन्धनबाट २०७४ को प्रतिनिधिसभा निर्वाचनमा राप्रपा नेता राणालाई तामाङले नै दोस्रोपटक हराए ।

सिन्धुपाल्चोक प्रतिनिधिसभा २ मा चौतारा साँगाचोकगढी नगरपालिका, मेलम्ची नगरपालिका, हेलम्बु, पाँचपोखरी थाङपाल र इन्द्रावती गाउँपालिका गरी ५ स्थानीय तहका ४९ वडाहरु रहेका छन् ।

भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा पाँचपोखरी थाङपाल गाउँपालिका र इन्द्रावती गाउँपालिका एमालेले जितेको छ । चौतारा साँगाचोकगढी नगरपालिका माओवादी र मेलम्ची नगरपालिका कांग्रेसले जितेको छ ।

वडाध्यक्षले पाएको मतअनुसार एमाले ३१ हजार ७७७, कांग्रेस २९ हजार ३०२, माओवादी १६ हजार ७९, राप्रपा ५ हजार ९३२ र समाजवादीको १ हजार ६६३ मत रहेको छ ।

केन्द्रमा पाँच दलको गठबन्धन भए जस्तै यो क्षेत्रमा प्रमुख तीन दलबीच गठबन्धन हुँदा एमालेमाथि भारी पर्नेछ । किनभने कांग्रेस, माओवादी र समाजवादीको मत जोड्दा ४७ हजार देखिन्छ । एमाले एक्लैको मत जम्मा ३१ हजार छ ।

राप्रपासँग एमालेको सहकार्य भयो भने मत केही बढ्छ । तर, गठबन्धनलाई जित्ने अवस्था रहन्न । माओवादीबाट यो क्षेत्रमा विकासको लहर चलाएका पुर्वमन्त्री युवराज दुलाल र कांग्रेसबाट विष्णुविक्रम थापाको पनि चर्चा छ । समाजवादीका केन्द्रीय सदस्य सुवास कर्माचार्य पनि दाबेदारको रुपमा देखिएका छन् ।

सिन्धुपाल्चोक–१ मा सभामुख अग्निप्रसाद सापकोटा र कांग्रेस नेता मोहन बस्नेतको हानथाप परेका कारण २ कांग्रेस या माओवादी कसले पाउने भन्ने टुंगो लागेको छैन ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत