सोमवार, मंसिर १२, २०७९

ओझेलमा पर्दै दार्चुलाको भगनाशेष ‘उकु महल’


कान्तिपथ



मालिकार्जुन गाउँपालिकामा रहेको ‘उकु महल’ संरक्षण नहुँदा ओझेलमा परेको छ । यहाँको मालिकार्जुन–६ मा रहेको भग्नावशेष ‘उकु महल’ संरक्षण नहँुदा ओझेलमा पर्न थालेको स्थानीयको भनाइ छ । विगतका वर्षमा उकु भग्नावशेषको अवस्थाबारे अध्ययन, अन्वेषण एवं खोजी गर्न गाउँपालिकाले प्रस्तावअनुसार टोली आए पनि संरक्षण भने अहिलेसम्म गरिएको छैन ।

स्थानीय सरकारले चासो नदेखाउँदा जिल्लामा रहेका कतिपय पर्यटकीयस्थल ओझेलमा परेका हुन् । परापूर्वकालको पुरानो दरबारको भग्नावशेषका रुपमा रहेको ठाउँको अध्ययन अन्वेषण र संरक्षण हुनुपर्ने स्थानीय धनबहादुर पालले बताउनुभयो ।

“उक्त क्षेत्र ओझेलमा पर्नुका कारण प्रचारप्रसार नहुनु पनि हो”, पालले भन्नुभयो, “ऐतिहासिक उकु महलको संरक्षणमा समेत ध्यान कसैको पुगेको छैन् ।” उहाँका अनुसार गाउँपालिकाले विगतका वर्षमा संरक्षण एवं सम्वद्र्धनमा पहल गरे पनि अहिले पनि वास्ता गरिएको छैन ।

ओझेलमा परेको उकु भग्नावशेषको विशेष उत्खनन् एवं संरक्षण गर्ने नीति ल्याउने गाउँपालिका उपाध्यक्ष कल्यानसिंह धामीले बताउनुभयो । उहाँले सांस्कृतिक तथा धार्मिक पर्यटकीय सम्भावना भएको उकु महलको थप अन्वेषण र संरक्षणका लागि पहल भइरहेको बताउनुभयो ।

पुरातत्व विभागसँग उकु भग्नावशेषको मात्रै नभई मालिकार्जुन गाउपालिका–३ मा रहेको राष्ट्रिय धाम मालिकार्जुन मन्दिर, चौड मन्दिर, शिखर धाम तथा गाउँपालिकाभित्र रहेका विभिन्न पर्यटकीयस्थलको संरक्षण र प्रचारप्रसार कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको उपाध्यक्ष धामीको भनाइ छ ।

उकु महलको भग्नावशेष स्थलमा विभिन्न शिलालेख लेखिएका चट्टान छरिएर रहेका अवस्थामा जीर्ण बन्दै गएका छन् । परापूर्वकालमा कत्युरी राजाको राजधानीका रुपमा यसलाई निर्माण सुरु गरिएको किंवदन्ती छ ।

कतुडी राजवंशको अन्त्यपश्चात् १२औँ शताब्दीमा पाल राजा भारतको अस्कोट क्षेत्रमा बसोबास गर्ने गरेको पाइन्छ । सर्वप्रथम रजबार भारती पाल सो क्षेत्रमा दरबार बनाएर बसेको हुनसक्ने जानकारको भनाइ छ ।

हालसम्म पनि उकुलाली क्षेत्र र उकुसँग सीमा जोडिएको भारतको अस्कोटमा पनि पालको बसोबास रहँदै आएको छ । इतिहासबारे जानकार मालिकार्जुन–३ का ८० वर्षीय सोबे धामीले उकु भग्नावशेष नाग पाल राजाले दरबारमा मन्दिर बनाउन उक्त क्षेत्रमा मूर्ति शिलालेख जम्मा गरेको बताइन्छ ।

अहिले सो क्षेत्रमा भेटिने सूर्यनारायणका मूर्ति, शिलालेख हेर्दा दरबारभित्रको मन्दिर बनाउन जम्मा गरिएको हुनसक्ने उहाँको भनाइ छ । उक्त क्षेत्रमा ऐतिहासिक किल्ला, ढुङ्गामा कुँदिएका विभिन्न भगवान्का मूर्ति देख्न सकिन्छ । अस्कोटको इतिहासअनुसार परापूर्वकालमा अभयपाल रणचुलाहाटस्थित कत्युरी राज्यको राजधानीबाट अस्कोट आएका इतिहास छ ।

अभयपालले वरपरका विभिन्न ८० कोटको एकीकरण गरेर ‘अस्कोट’ नामकरण गरेको इतिहासमा भेटिन्छ । विसं २०७४ यता पर्यटन पूर्वाधारअन्तर्गत उकु भग्नाशेषको संरक्षण सुरु गरिएको भए पनि त्यसपछि संरक्षण सम्वद्र्धनमा निकायले चासो नदेखिएको स्थानीयको गुनासो छ । भग्नावशेष वरिपरि विगत दुई वर्ष पहिला काँडेतार लगाएर केही संरक्षण प्रयास गरिएको थियो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत