सोमवार, मंसिर १८, २०८०

सुरुङमार्गबाट तेल लिंदै, सरकारी तेल झ्वाम पार्दै थानकोटका डिएसपी !


कान्तिपथ


धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा जोड्ने सुरुङमार्ग निर्माणको जिम्मा लिएको कम्पनीबाट लाभ लिएर अख्तियारको दुरुपयोग गरेको आरोपमा थानकोटका डिएसपी विवादमा तानिएका छन् ।

यसरी विवादमा तानिनेमा गृहमन्त्री बालकृष्ण खाँड रिझाएर आकर्षक मानिएको थानकोट चौकी पुगेका डिएसपी डिल्लीनारायण पाण्डे रहेका छन् । खाँडको शक्ति दुरुपयोग गर्दै थानकोट पुगेका पाण्डेको कामले स्वयम् गृहमन्त्रीको छविमा धक्का लागेको छ ।

पाण्डे कै एक जुनियर अधिकृतका अनुसार सुरुङमार्ग निर्माण सम्झौता भएको जापानी कम्पनी हाज्मा/आन्दो जेभीले थानकोट प्रहरीलाई एउटा गाडी उपलब्ध गराएको छ । उक्त कम्पनीले दैनिक खपत भएको पेट्रोल/डिजेल को खर्च पनि व्यहोर्दै आएको छ । तर पाण्डेले भने हाज्मा/आन्दो जेभीले उपलब्ध गराएका बाहेक अन्य गाडी प्रयोगमा रोक लगाएका छन् ।

थानकोट प्रहरीसँग थुनुवा बोक्ने गाडी, सिआरभीसहित नेपाल सरकारले उपलब्ध गराएका ४/५ वटा गाडी रहेका छन् । थुनुवा बोक्ने गाडी भने प्रयोग हुने गरेको छ ।

गाडी बाहेक प्रहरीसँग केहि थान बाईक पनि रहेका छन्। हाज्मा/आन्दोले उपलब्ध गराएको तेल नै पर्याप्त हुने हुँदा उनले नेपाल सरकारले दैनिक उपलब्ध गराउने सवारी इन्धन खर्च झ्वाम पार्ने गरेको ति अधिकृतको भनाई छ । उनले आफु मातहतका पोष्टहरुमा महिनावारी रकम नै माग्ने गरेका छन् ।

थानकोट क्षेत्रमा हुने जग्गा प्लटिङ्गमा त पाण्डेले रकम नानी तोकेर असुली गर्दै आएको जग्गा व्यवसायीहरुको गुनासो छ । पाण्डेले घुमुवा गाडी प्रयोगमा रोक लगाउंदा केहि समय पहिले फाईनान्समा चोरी हुँदा प्रहरी समय मै पुग्न सकेको थिएन । प्रहरीले समय मै रेस्पोन्स नगरेको फाईनान्सको गुनासो थियो । पाण्डे विरुद्धको गुनासो प्रहरी प्रधान कार्यालयको कानसम्म पुगिसकेको बताईन्छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत