आइतवार, फाल्गुन ४, २०८१
  • गृहपृष्‍ठ
  • ब्लग
  • सधै हेवीवेट उम्मेदवार छान्ने काठमाडौँ २ ओनसरी घर्ति कुर्दै !

सधै हेवीवेट उम्मेदवार छान्ने काठमाडौँ २ ओनसरी घर्ति कुर्दै !


कान्तिपथ


नेकपा माओवादी केन्द्रले यसपटक काठमाडौं उपत्यकामा ६ वटा निर्वाचन क्षेत्र (काठमाडौँ १० मा एकल प्रतिष्पर्धा) पाएको छ। त्यसमध्ये काठमाडौं क्षेत्र नम्बर २ बाट माओवादीले पूर्वसभामुख समेत रहेकी ओनसरी घर्ती मगरलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ। घर्ती दुई पटक समानुपातिक सांसद बनिसकेकी थिइन्। यसपटक उनले प्रत्यक्षमा चुनाव लड्न काठमाडौं २ पाएकी छन्।

एमालेबाट २०७८ साउन ९ गते विद्रोह गरी नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपाल आफूले जित्दै आएको यो क्षेत्र छाडेर रौतहट १ गएपछि काठमाडौं २ माओवादीले पाएको हो।

काठमाडौँ क्षेत्र नं २ का मतदाताको टेष्ट हेवीवेट नेताहरुमा पर्ने गरेको छ । औसत नेताहरु यहाँ चुनाव हार्ने गरेका छन् । यो क्षेत्रबाट एक समय कृष्णप्रसाद भट्टराईले चुनाव लडेका थिए । पहिलोपटक चुनाव जितेका उनले दोस्रोपटक चुनाव लड्दा एमालेकी विद्या भण्डारीसँग पराजित भए । मदन भण्डारीको नामले परिचित विद्या देवी भण्डारी चुनाव जितेर राष्ट्रपति बनिन् ।

कृष्णप्रसाद भट्टराई, विद्या भण्डारी, माधव नेपालदेखि झक्कु सुवेदीसम्मले जितेर यहाँ किर्तिमान कायम गरेका छन् । यसपटक विगत कै जस्तै काठमाडौँ २ का जनताले हेवीवेट उम्मेदवारको रुपमा पुर्व सभामुख ओनसरी घर्तिलाई पाएका छन् । घर्तिको ड्यसिङ्ग पर्सनालिटीका सामु एमालेका मणिराम फुयाल, लौरो अभियानका कोषराज सुवेदी, नेमकिपाका अनिल श्रेष्ठ, राप्रपाकी कुन्ती पोखरेललगायतका उम्मेदवार फिक्का देखिएका छन्।

सत्ता गठबन्धनले काठमाडौँ क्षेत्र नं २ ले आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न सात हजार एक सदस्यीय भीमकाय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

काठमाडौँ क्षेत्र नं २ मा विकास निर्माण नै मुख्य एजेन्डा हो। ओनसरीलाई जिताउनु पर्ने प्रमुख कारण भनेकै हेवीवेट उम्मेदवारी र सरकारसंगको सिधासिधा पहुँच नै हो । आम मानिस कै जीवन शैलीमा बाँच्न रुचाउने घर्तिसंग जनताको सिधा पहुँच र घर्तिको सरकारका काम कारबाहीमा हस्तक्षेप गर्न सक्ने हैसियतका कारण थुप्रै विकास निर्माणका काम गर्न सकिने यहाँका जनताको प्रमुख सरोकार हो ।

साँखु खण्डमा पर्ने बाटो बनाउनुपर्छ र बनाउन नसके २ वर्ष मै राजिनामा दिन्छु भन्दै घर्तिले सार्वजनिक अभिव्यक्ति नै दिएकी छन् । जब त्यो बाटो खुल्छ, पर्यटन पनि खुल्छ। काठमाडौँ क्षेत्र नं २ सँग पर्यटनको एकदम राम्रो सम्भावना छ। ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सहर रहेको साखु बजार, शाली नदी, शंखरापुरलाई पर्यटनको केन्द्रको रुपमा विकास गर्न सकिन्छ। पुरै शंखरापुरलाई साइकल मार्गका रुपमा विकास गर्न सकिन्छ। पटक-पटक सत्तामा गएर काठमाडौँ क्षेत्र नं २ लाई दोहन गर्ने आयाराम गयारामबाट त्यो सम्भव छैन ।

सांस्कृतिक ग्रामको योजना बनाएर थुप्रै विकास र उत्पादनको मोडल खडा गर्न कुनै शिखर व्यक्तित्व भएको उम्मेदवारबाट नै त्यो सम्भव छ। अधिकांश निर्वाचनमा एमालेले जित्दै आएको यो क्षेत्रमा यसपटक यहाँका जनताले इतिहास हेर्दैन, भविष्य हेरेर भोट दिन्छ । काठमाडौँ २ को वर्तमान नै एमालेको इतिहास हो जुन त्यति उज्यालो छैन । शान्ति र संबिधानको लागि सहकार्य गर्दै आएका दल हाल गठबन्धनमा छन् जुन ओनसरी घर्तिको जितको सबै भन्दा बलियो आधार हो ।

काठमाडौंलगायतका चेतना भएका शहरमा जुन तरिकाको स्वरूप परिवर्तन भएको देखिन्छ, मतदाताहरूले आफ्नो अधिकार बुझ्न थालेको प्रतीत हुन्छ । पैसा र अन्य प्रभावभन्दा पनि उसको क्षमता, दक्षता, भिजन, कार्ययोजनालगायतका मापकहरूलाई मध्यनजर गर्दै भोट हालेको देखियो । ओनसरी घर्ति गणतन्त्र, धर्मनिरपेक्षता, संघियता, समानुपातिक समावेशिता, उत्पीडित जाति, धर्म, वर्ण, लिङ्ग र समुदायको राज्यमा पहुँच स्थापना हुनुपर्छ भन्दै कलिलो उमेरमै जनयुद्धमा होमिएकी पात्र हुन् । आज उनीजस्तै सयौं हजार योद्धाको त्याग, तपस्या र बलिदानस्वरुप महिलाहरु राज्यको राष्ट्रपति, सभामुख, मन्त्री, सांसद लगायत थुप्रै पदमा आसिन छन् । घर्ति स्वयम् पनि नेपालको पहिल्लो महिला सभामुख हुन् ।

तात्कालीन नेकपा माओवादीले सशस्त्र द्वन्द्वको थालनी गर्दै पहिलोपटक रोल्पाको होलेरी प्रहरी चौकीमा हमला गर्दा सहभागी भएका दुईजना महिला लडाकू मध्येकि उनी एक थिइन्। युवा तथा खेलकुद मन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेकी घर्ती माओवादीका उपमहासचिव वर्षमान पुनकी श्रीमती हुन्।

२०७० मा पार्टीका ठूला र स्थापित नेताले निर्वाचनमा पराजय भोगिरहँदा माओवादी जनयुद्धको आधारभूमि मानिने रोल्पा क्षेत्र नं २ बाट निर्वाचन जित्ने एक्ली महिलाका रुपमा उनको सिंहदरबार प्रवेश भयो ।

घर्तीको जन्म रोल्पाको जङ्काट गाविस माडिचौरको एक साधारण किसान परिवारमा २०३४ साल कात्तिक २८ गते भएको थियो । ३८ वर्षको युवा उमेरमा नै सभामुख पदमा निर्वाचित हुने उनी नेपालको राजनीतिक इतिहासमा कान्छो सभामुख हुन् ।

विसं २०४६ देखि विद्यार्थी आन्दोलनवाट राजनीतिमा प्रवेश गर्नुभएकी घर्ती २०४८ सालमा विद्यार्थी सङ्गठनको जिल्ला कोषाध्यक्ष र महिला जिल्ला सदस्य तथा नेकपा ( एकता केन्द्र)को पार्टी सदस्यता प्राप्त गरिन् । विसं २०५४ मा नेकपा माओवादी रोल्पा जिल्ला समिति सदस्य, २०५७ मा क्षेत्रीय ब्यूरो सदस्य, २०६० मा केन्द्रीय सदस्य, २०७० सालमा पोलिटब्यूरो सदस्य हुँदै २०६४ को पहिलो संविधानसभामा समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनिन् ।

रोल्पादेखि पूर्वी पहाडसम्म माओवादी सशस्त्र सङ्घर्षलाई फैलाउन विशेष भूमिका निर्वाह गरेकी घर्तीले माओवादी सेनाको उच्च तहमा समेत पुगेकी थिइन । आफ्नो ज्यान हत्केलामा राखेर न्यायप्रेमी नेपाली जनतालाई संघियता, गणतन्त्र, वाक स्वतन्त्रता, समानुपातिक समावेशिता उपहार दिने घर्तिलाई काठमाडौँ २ का जनताले न्याय दिने बेला भएन र ?



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत