सोमवार, मंसिर १२, २०७९

सुदूरपश्चिममा प्रसिद्ध ‘देहिजात’ मेला आज


कान्तिपथ


डडेलधुरा । सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ डडेलधुरास्थित उग्रतारा भगवती मन्दिरमा आज ‘देहिजात’ मेला लागेको छ ।

उग्रतारा क्षेत्र विकास समितिका अनुसार मंगलबार रतेडी मेला लागेकामा आज दिउसेडी मेला सुरु भएको छ । समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार खनमडा, छचोडा, दुमडा र जिलोडामा रतेडी मेला लागेपछि आज बिहान ५ बजे ‘देउरो’ उग्रतारा मन्दिरमा पुगेर दिउसेडी मेला सुरु भएको हो ।

बिहानको पूजाआजापछि दिउँसो भगवती माताको गाँज मन्दिरलगायत सयौँ एकडमा फैलिएको मैदानको विशेष चार स्थानमा बाजागाजाका साथ घुमाइन्छ ।

देहिजातका रूपमा चिनिने उग्रतारा मेलामा सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी देश भारतबाट समेत श्रद्धालु पुगेका उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष साँकीले बताए ।

डडेलधुरा सदरमुकामबाट करिब चार किलोमिटर टाढा अमरगढी नगरपालिका–८, दशरथचन्द राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित उग्रतारामा लाग्ने मेलामा हजारौँ दर्शनार्थी पूजा–आराधना गर्न पुग्ने गरेका छन् ।

किंवदन्तीअनुसार २५ सय वर्ष पहिले हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएको र त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरूपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको छ । उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ति र मनोकामना पूरा हुने जनविश्वास छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत