जुम्ला । गत असोज दोस्रो साता भएको अविरल वर्षापछि आएको बाढी पहिरोले कर्णाली राजमार्ग क्षतविक्षत भएको छ । सुरुमा विश्व बैङ्कको सहयोग र पछि सडक डिभिजन सुर्खेत तथा जुम्लाको लगानीमा सुर्खेत-खिड्की-ज्युला हुँदै जुम्लासम्म कर्णाली राजमार्ग कालोपत्रे भएको थियो । भने दैखोलादेखि जुम्ला तर्फको केही खण्डमा दुई लेनको समेत सडक निर्माणको थियो । तर गत असोजमा आएको बाढीले राजमार्गको पिच मात्रै उप्किएको छैन । केही खण्डमा सडकको नाम निसान नै नरहने गरी भत्किएको छ ।
सडक डिभिजन जुम्ला, नेपाली सेना र प्रशासनको जोडतोडले अवरुद्ध भएको सडक २० दिनपछि खुलेर हाल सञ्चालनमा भएपछि यात्रा जोखिम पूर्ण र कष्टकर छ । जोखिम मोलेर यात्रा गर्न नागरिक बाध्य छन् । नजिकिँदै गरेको संघ र प्रदेश सभाको निर्वाचनमा उठेका उम्मेदवारको चुनावी घोषणा पत्रमा कर्णाली राजमार्ग स्तर वृद्धि प्राथमिकतामा पर्ने कर्णालीवासीको अपेक्षा थियो ।
तर साविक कर्णाली प्रदेशका पाँच वटै जिल्लाबाट उठेका कुनै पनि उम्मेदवारको चुनावी एजेण्डामा बाढी पहिरोले क्षतविक्षत कर्णाली राजमार्गको स्तर वृद्धि मुद्दा प्रथामिकतामा परेको छैन ।
सुर्खेत, दैलेख, कालीकोट, मुगु र जुम्लाका उम्मेदवारले २०६४ साल यताका सबै निर्वाचनमा कर्णालीको विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्गलाई दुई लेनको बनाउने, जोखिम ठाउँमा स्तर वृद्धि गरिने भन्दै भोट माग्न झुट्टा आश्वासन नदिएका हैनन् । तर नेताको पहलकदमीबाट भने राजमार्गको स्तर वृद्धिमा कुनै काम हुन सकेन ।
जुम्लाका नागरिक अगुवा राज बहादुर महत भन्छन्,“आगामी निर्वाचनमा उठेका कर्णालीका उम्मेदवारले भर्खर बाढी पहिरोबाट दुरावस्था भएको राजमार्गको स्तर वृद्धिलाई चुनावी एजेण्डामै प्राथमिकता दिने आशा थियो । तर अधिकांश दलका घोषणा पत्र हेर्दा स्वास्थ्य, शिक्षा, खानेपानी, पर्यटनका पुरानै कुराको निरन्तरता देखियो ।”
भगवान् भरोसामा यात्रा गर्नु पर्ने कर्णाली राजमार्गको स्तर वृद्धिको सवाल भोलिका सम्भावित मन्त्री हुने सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगुका उम्मेदवारको चुनावी एजेण्डामा नपर्नु दुखद पक्ष भएको जुम्लाका स्थानीय जग्मने दमाई बताउनुहुन्छ ।
जुम्लाका गोमा कुँवर, कालिकोटका महेन्द्र बहादुर शाही, सुर्खेतका पूर्ण बहादुर खड्का, दैलेखका राज बहादुर शाही लगायतका उम्मेदवार जितेको खण्डमा संघका सम्भावित मन्त्री हुन् । तर उल्लेखित लगायत कुनै पनि उम्मेदवारको चुनावी एजेण्डामा कर्णाली राजमार्ग स्तर वृद्धि प्राथमिकतामा छैन ।
यता जुम्लाबाट प्रतिनिधि सभाकी उम्मेदवार गोमा कुँवरले कर्णाली राजमार्ग र नाग्म–गमगडी राजमार्गको स्तर वृद्धि लाई जुम्लाको तीन दलीय गठबन्धनको साँझा घोषणा पत्रले प्राथमिकता दिएको बताउनुभयो ।
उता कालिकोटका महेन्द्र बहादुर शाहीका घोषणा पत्रमा जलविद्युत उत्पादन, सडक विस्तारका मुद्दा उठाए पनि राजमार्ग स्तर वृद्धिको ठोस मुद्दा छैन । तर कर्णालीका सबै उम्मेदवारहरू भने मौखिक रुपमा कर्णाली राजमार्ग स्तर वृद्धि मात्र नभई दुई लेनको बनाउने,अन्तर जिल्ला जोड्ने सडक निर्माण गर्ने लगायतका आश्वासन दिँदै आएका छन् । विगतकै जस्तो झुट्टा आश्वासन भएकाले कर्णाली बासीले पत्याइ हाल्नु पर्ने अवस्था छैन ।
सडक डिभिजन जुम्लाका प्रमुख राजीव श्रेष्ठका अनुसार गत असोजको बाढी पहिरोले जुम्ला कार्यक्षेत्रको दैखोला देखी जुम्ला तर्फको १ सय ४ किमी मध्य ६५ प्रतिशत सडक ध्वस्त भएको बताउनुभयो । पिच सबै ठाउँमा उप्किसकेको छ । भने कतै नयाँ सडकको ट्याक खोल्नु पर्ने अवस्था रहेको कतै भिड नै फुटाउनु पर्ने स्थिति रहेको प्रमुख श्रेष्ठको भनाई छ । कर्णालीका जनप्रतिनिधिको पहल कदमी बिना अपेक्षा अनुसार राजमार्ग स्तर वृद्धि नहुने भएकोले चुनावी एजेण्डा नपर्नु विडम्बनाको कुरा भएको उल्लेख गरे ।
कर्णाली राजमार्ग सँगै नाग्म–गमगडी सडकको अवस्था पनि दयनीय रहेको छ । हुम्लामा अझै राष्ट्रिय सडक सञ्जाल पुगेको छैन । कर्णाली करिडोर अलपत्र अवस्थामै छ । भने जुम्लाको धौलिघाट खानेपानी आयोजना पनि निर्माणाधीन अवस्थामै रहेपनि तीव्रता पाएको छैन । प्रदेश राजधानी सुर्खेतबाट कर्णालीका जिल्लामा हवाई सेवा अझै सञ्चालन छैन ।
भेरी करिडोर (नेपालगन्ज–छिन्चु–जाजरकोट, डोल्पा–धो मोरिम्ला–तिब्बत र सुर्खेत–जुम्ला–सिन्जा–मुगु–नाग्चेनाग्ला–तिब्बत सडक) को काम लामो समयदेखि कछुवा गतिमा अघि बढिरहेको छ । उल्लेखित योजनाहरूलाई सञ्चालन गर्न, चुस्त सेवा दिन, कर्णालीका सम्भावनालाई अवसरमा बदल्न उम्मेदवारका चुनावी एजेण्डा समेटिएका छैनन् । नागरिकले अनुभूति गर्ने कार्यान्वयन हुने ठोस एजेण्डा नभएकै कारण कर्णालीका मतदाता नयाँ अनुहारको पर्खाइमा रहेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ