रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ए ग्रेडको आईसियूसहितको एम्बुलेन्सको शुभारम्भ गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारले आ.व. २०७८÷०७९ को विनियोजित १ करोड बजेटबाट ए ग्रेडको आइसियुसहितको सुविधा सम्पन्न एम्बुलेन्सको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले शुभारम्भ गर्नुभयो ।
उद्घाटन कार्यक्रममा सचिव डा.देवकोटाले ए ग्रेडको एम्बुलेन्स बिरामीलाई एक ठाउँदेखि अर्को ठाउँसम्म उपचारको लागि ट्रान्सफरटेशन मात्रै नभएर उपचारसमेत प्राप्त हुने बताउनुभयो । ए ग्रेडको आइसियुसहित दक्ष स्वास्थ्यकर्मीको रोहबरमा एम्बुलेन्सभित्रै बिरामीले स्वास्थ्य सेवा पाउने भएकाले सरकारी अस्पतालमा न्यूनतम रकममा बिरामीलाई सेवा दिनुपर्ने उहाँले बताउनुभयो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.इन्द्र ढकालले कोभिडको समयमा बिरामीलाई काठमाडौँ लैजानका लागि एम्बुलेन्सको अभावको महसुस भएपछि प्रदेश स्वास्थ्य मन्त्रालयको सहयोगमा मूर्तरूप लिएको बताउनुभयो ।
उहाँले ए ग्रेडको एम्बुलेन्सभित्र स्वास्थ्यकर्मीसमेत रहने भएकाले डेलिभरीको अप्रेसनसमेत गर्न सकिने बताउनुभयो ।
अस्पतालका फिजिशियन डा.पुष्पराज जोशीले प्रादेशिक अस्पतालमा विशिष्ट क्षमताको आईसियूसहितको एम्बुलेन्सले धेरै समयको आवश्यकता पूरा भएको बताउनुभयो । यो एम्बुलेन्स ९२ लाखमा खरिद भएको हो ।