शनिबार, साउन ३, २०८२

लुम्बिनीका ४ सय १० निर्वाचनस्थल अतिसंवेदनशील, यस्तो छ सुरक्षा तयारी


कान्तिपथ


रुपन्देही । लुम्बिनीमा १ हजार ६ सय ५० मतदानस्थल बनाइएका छन् ।

तिनमा ४ सय १० निर्वाचनस्थल अतिसंवेदनशील सूचीमा राखिएको छ । खुला सीमा क्षेत्र, साना हतियारको बिगबिगी र निर्वाचन विरोधी समूहको प्रभावले आसन्न निर्वाचनका लागि लुम्बिनी प्रदेश संवेदनशील प्रदेशमा राखिएको छ ।

७ सय १४ संवेदनशीलताको सूचीमा छन् । हिमाल, पहाड र तराई मिलेर बनेको यो प्रदेश कतिपय भौगोलिक विकटताका कारण पनि संवेदनशील छन् ।

निर्वाचन सुरक्षाका लागि लुम्बिनीमा १० हजार २ सय ९ सुरक्षाकर्मी खटेका छन् । १८ हजार ६ सय म्यादी खटाइएको छ ।

प्रदेशमा निर्वाचनलाई शान्ति र निर्भययुक्त बनाउन संवेदनशील क्षेत्रमा थप सुरक्षा संवेदनशीलता अपनाउने र जनशक्ति प्रयोग गर्ने तयारी रहेको लुम्बिनी प्रदेश प्रहरी प्रमुख नलप्रसाद उपाध्यायले बताउनुभयो ।

लुम्बिनी प्रदेशका तराईका ६ जिल्ला भारतीय सीमासँग जोडिएका छन् । खुल्ला सीमा भएकाले सीमा बन्द गरिएपनि नागरिक ओहोरदोहोर गर्ने धेरै बाटाहरु छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयले भारतीय सुरक्षाकर्मीसँग पटकपटक बैठक बसेर उताको सीमा र यताको सीमामा आआफ्ना सुरक्षाकर्मीलाई गस्ती गराउने र सीमा क्षेत्र सिल गर्ने निर्णय भएअनुसार कार्यान्वयनमा लैजाने बताउनुभयो ।

प्रदेशमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले यसअघि निर्वाचन बहिस्कारसहितका कार्यक्रम तथा केही स्थानमा विस्फोट गरेकाले केही त्रास देखिएको छ ।

यस्ता त्रासले एकातिर नागरिकलाई मतदान प्रक्रियामा जान रोक्ने र अर्कोतर्फ निर्वाचनविरुद्ध त्रास र अफवाह फैलाउने काम गर्नसक्ने चिन्ता सुरक्षा अधिकारीहरुको छ ।

यस्ता विषयमा सचेत रहन प्रदेशस्तरमा सुरक्षा कमान्ड पोष्ट निर्वाचन सेल गठन गरेर मतदानस्थल, मतदान केन्द्र र मतगणना क्षेत्रसम्मको छुट्टाछुट्टै सुरक्षा योजना बनाइएको छ ।

प्रदेशको आन्तरिक मामिला सचिव कोमलप्रसाद धमलाले जिल्ला सुरक्षा प्रमुख सदस्य रहेको समितिले हरेक जिल्लामा निर्वाचनसँग सम्बन्धित सुरक्षा एवं आचारसंहिता पालनाबारे अनुगमन र निर्देशनको काम गरिरहेको बताउनुभयो ।

निर्वाचनलाई लक्षित गरी गृहमन्त्रालयले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र, नेपाली सेना र अनुसन्धानका अधिकारीहरुलाई शान्तिपूर्ण, स्वतन्त्र र भयरहित निर्वाचन गराउन प्रतिवद्ध गराएको छ ।

गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा प्रदेशको सुरक्षा तयारी बैठक बसेर विभिन्न योजना पहिले नै बनाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत