सिन्धुपाल्चोकका सबै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ गरी ६ निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकका सबै सिटमा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रका माधव सापकोटा सुबोध निर्वाचित भएका छन्। उनी ३० हजार ३ सय ७४ मतसहित विजयी भएका हुन्।
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रतिनिसभा सदस्यतर्फ नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले जित निकालेका छन्। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नेता शेरबहादुर तामाङलाई ८ हजार ८९२ मतले पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।
क्षेत्र नम्बर १ को प्रदेशसभातर्फ पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन्। प्रदेशसभा (क) मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी मसिना खड्का विजयी भएकी हुन्। खड्काले १४ हजार छ सय ५२ मत ल्याएकी छन्।
क्षेत्र नम्बर १ प्रदेशसभा (ख) तर्फ सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले जित निकालेका छन्। पौडेल १७ हजार २५६ मत सहित प्रदेश सभामा विजयी भएका हुन्।
क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) तर्फ नेपाली कांग्रेसका समीर तामाङ विजयी भएका छन्। प्रदेशसभा २ (ख) तर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार युवराज दुलाल शरद विजयी भएका छन्। दुलालले २० हजार ९०६ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अमान सिं तामाङले १२ हजार १३९ मत ल्याएका थिए। दुलाले तामाङ भन्दा ८ हजार ७६७ मत बढी ल्याएका थिए। गठबन्धनका सबै उम्मेदवार विजयी भएसंगै सिन्धुपाल्चोकमा एमाले पत्तासाफ भएको छ।