बिहिबार, मंसिर २१, २०८०

मेलाबाट पाँच हजारलाई रोजगारी


कान्तिपथ


मोरङ । मोरङको कटहरि गाउँपालिका–१ स्थित फलफूल तथा कृषि थोक बजारमा आज लागेको एक दिने रोजगार मेलाबाट पाँच हजार जनाले रोजगार पाउने सुनिश्चित भएको छ ।

मेलामा सहभागी मोरङ, सुनसरी, झापामा सञ्चालित विभिन्न उद्योगका लागि उक्त रोजगार उपलब्ध हुने नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं १ कार्यकारी निर्देशक श्याम भण्डारीले बताउनुभयो । निजहरूलाई नेपाल सरकारले तोकेको पारिश्रमिकमा विभिन्न जुट मिल, रियायन्स स्पिनियङ, तारे होटल, विद्युतीय, खाद्यान्न उद्योगमा रोजगारी उपलब्ध हुने जनाइएको छ ।

यस क्षेत्रमा सञ्चालित जुट उद्योगलाई विइङवर, स्पिनर, कोप्यान्डर, ड्राइङ र अपरेटर लगायत कामका लागि आवश्यक जनशक्ति, निर्माण व्यवसायीलाई दुई हजार, तार होटललाई सात सय, जुट उद्योगलाई चार हजार, विद्युतीय सामग्री उद्योग, कृषि, खाद्यान्न उद्योगलाई दक्ष एवं अदक्ष एवं सुरक्षा गार्ड गरी १० हजार जनशक्तिको आवश्यक रहेको निर्देशक भण्डारीले बताउनुभयो ।

उद्योगलाई आवश्यक पर्ने जनशक्तिको मागअनुसार तालिम, सीपको व्यवस्था कटहरि गाउँपालिकाले उपलब्ध गराउने रोजगार संयोजक रामकुमार राजवंशीले बताउनुभयो ।

कटहरी गाउँपालिका, उद्योग वाणिज्य महासङ्घ र हेल्भेटासद्वारा संयुक्त रुपमा आज आयोजित एक दिने मेलामा पालिकाको अध्यक्ष देवराज चौधरीले वैदेशिक रोजगारबाट फर्केका, उच्च शिक्षा अध्ययन गरेका दक्ष तथा अदक्ष युवायुवतीलाई स्वदेशमा रोजगारीको आकर्षण जगाउन मेलाको आयोजना गरिएको बताउनुभयो । उहाँले पालिकाले उद्योगको आवश्यकता अनुसारको सीप तथा तथा तालिमको व्यवस्थापन गर्ने जानकारी दिनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशिराज दाहालले युवालाई दक्षता प्रदान गरी स्वदेशमा रोजगारी व्यवस्था भएमा मुलुकको समृद्धिमा टेवा पुग्ने धारणा राख्नुभयो । महासङ्घका केन्द्रीय सदस्य अविनाश बोहराले युवालाई स्वदेशमा रोजगार उपलब्ध गराउन आवश्यक पर्ने दक्षता प्रदान गर्न महासङ्घको साथ र सहयोग उपलब्ध हुने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा अन्य पालिकामा मेलाको आयोजना गरी थप रोजगार उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत