माछापुच्छे बैंकको सञ्चालक समिति अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् । हिजो बसेको बैंक सञ्चालक समितिको ४७२औं बैठकले डा. महतोलाई अध्यक्षमा नियुक्त गरेको हो । उनी मेडिसिटी अस्पतालका समेत मालिक हुन् ।
यसअघिका अध्यक्ष डा. वीरेन्द्र महतोले राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत गर्दै डा. महतोलाई नयाँ अध्यक्षमा चयन गरिएको हो । भाई महतो गैरआवासीय नेपालीहरुको संस्था एनआरएनएका संस्थापक अध्यक्ष हुन् ।
दाईले सिरहा ४ बाट जसपा उम्मेदवारको रुपमा प्रतिनिधि सभा सदस्य जितेका छन् । जनमत पार्टीका वीरेन्द्रप्रसाद साहलाई ७ हजार ८०८ मतान्तरले हराउँदै महतो निर्वाचित भएका हुन् । महतोको टेलिकम, मेडिकल र बैंक तथा वित्तीय संस्थाहरुमा लगानी छ ।
धनुषा ३ बाट बहिनी जुलो महतो एमाले उम्मेदवारको रुपमा विजयी भइन् । एमाले उम्मेदवार रहेका ज्वाईं रघुवीर महासेठले धनुषा ४ बाट जितेका छन् ।