नेकपा एकीकृत समाजवादी पार्टी राष्ट्रिय पार्टी बन्न समानुपातिकतर्फ सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाउन कठिन संघर्ष गरिरहेको बेला अहिलेसम्म दुई लाख ९४ हजार मत प्राप्त गरेको छ। निर्वाचन आयोगले पछिल्लोपटक सार्वजनिक गरेको विवरण अनुसार नेकपा (एस)को समानुपातिकतर्फ दुई लाख ९४ हजार १८ मत प्राप्त गरेको छ।
राजनीतिक दलसम्बन्धी ऐनमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा ३ प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ।
नेकपा एसलाई अहिलेकै अवस्थामा थ्रेसहोल्ड कटाउन १७ हजार ३ सय भन्दा धेरै मत अपुग देखिन्छ। सबैभन्दा धेरै मत पाएर नेकपा एमाले अग्रस्थानमा छ। एमालेले २७ लाख ७२ हजार ९ सय ८५ मत पाएको छ भने नेपाली कांग्रेसले २६ लाख ४३ हजार २९६ मत प्राप्त गरेर दोस्रो स्थानमा छ।
नेकपा माओवादी केन्द्रले ११ लाख ६१ हजार १ सय ७३ मत पाएका छ। चौथोँ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ४ सय १६ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँचौँ स्थानमा ५ लाख ८५ हजार ८ सय ८७ मत पाएको छ।
यो निर्वाचनमा जम्मा १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता थिए। त्यसमध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड ९ लाख हाराहारीमा मत खसेको थियो।