निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधि सभाको समानुपातिकतर्फ थ्रेस होल्ड कटाउने ७ वटै राजनीतिक दललाई प्राप्त गरेको सिट संख्या अनुसार नाम छनौट गरेर पठाउन पत्राचार गरेको छ । आयोगले समावेशी समूहमा संख्या तोक्दै ७ वटै राजनीतिक दललाई ११० जना उम्मेदवार छनौट गरेर पठाउन पत्राचार गरेको हो ।
आयोगको पत्राचारपछि सात वटै दलले आफ्नो तर्फबाट सांसद बन्नेको नाम आयोगलाई ३ दिन भित्र पठाइसक्नुपर्नेछ । दलले आफूले यसअघि आयोगमा बुझाएको समानुपातिकको बन्द सूचीभित्रैबाटै संविधानले व्यवस्था गरेको समावेशी सूचीसमेत मिलाएर नाम पठाउनुपर्नेछ ।
समानुपातिकतर्फ ११० मध्ये सबैभन्दा बढी नेकपा एमालेले ३४ सीट पाएको छ । जसअनुसार उसले सबैभन्दा बढी ११ जना खस आर्यबाट पठाउनेछ । त्यस्तै आदिवासी जनजातिबाट १०, दलित र मधेसीबाट ५–५, थारुबाट २ र मुस्लिम तथा पिछडिएको क्षेत्रबाट एकएक जना पठाउनुपर्नेछ । एमालेले ३४ जनाको नाम पठाउँदा हरेक समावेशी समूहबाट गरेर १९ जना महिलाको नाम भने अनिवार्य पठाउनुपर्नेछ । बाँकी रहेका १५ जनामा मात्रै पुरुष पठाउन पाइनेछ ।
एमालेले पठाउने समानुपातिक सांसदको सुचीमा आफु निकटस्थलाई पार्नका लागि तिब्र लबिङ्ग जारी छ । एमालेका उपाध्यक्ष सुवास नेम्वाङ्ग इलाम क्षेत्र नं २ बाट निर्वाचित भएका छन् । उनले ३० हजार २० मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत प्राप्त गरे। नेम्वाङ्गका भाई बसन्त नेम्वाङ्ग (साईला काकाको छोरा) पाँचथरमा नेपाली कांग्रेसका भिष्मराज आङ्देम्बेलाई ४७ मतान्तरले हराएर निर्वाचित भैसकेका छन्।
नेम्वाङ्गको परिवारमा सांसद बन्ने पालो अब उर्मिला थेबेको आएको छ । थेबे एमालेको समानुपातिकको सुचीमा छिन । स्रोतका अनुसार थेबे सुवासकी फुपू सासु हुन् । उर्मिला थेवे सिरिजंगा गाउँपालिका सिनामकी पुर्व वडाअध्यक्ष हुन् । सुवाससंगको कनेक्सन कै कारण उनले वडा अध्यक्षबाट संघिय सांसदमा फड्को हान्ने अवसर पाएकी छन् । उनी ताप्लेजुङ १ का पुर्व सांसदकी भूपेन्द्र थेवेकी पत्नी हुन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ