साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम चारमा पुगेको हो ।
एजुकेसन सिटी स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटको अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।
पेनाल्टीमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचले गोल गरे । पेनाल्टीमा क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिच नायक बने ।
ब्राजिलका क्यासिमेरो र पेड्रोले गोल गरे । रोड्रिगो र मार्क्विन्होस पेनाल्टीमा गोल गर्न चुके । रोड्रिगोको प्रहार क्रोएसियाका गोलकिपर लिभाकोभिचले बचाएका थिए भने मार्क्विन्होसको प्रहार पोस्टमा लागेको बाहिरिएको थियो ।
त्यसअघि अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । उनले पाक्वेटाको पासमा १०५+१ औं मिनेटमा गोल गरेका थिए ।
यस गोलसँगै नेयमारले ब्राजिलका लागि सर्वाधिक गोलकर्ता पेलेको कीर्तिमानसँग बराबरी गरेका छन् । नेयमारको यो ब्राजिलका लागि ७७ औं गोल हो । पेलेले पनि ७७ गोल गरेका छन् । खेलको ११७ औं मिनेटमा ब्रुनी पेट्कोभिचले गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
पेनाल्टीमा चुकेसँगै पाँच पटकको च्याम्पियन ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ । क्रोएसियाले भने सेमिफाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । ब्राजिलको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक टिटेले पद छाडेका छन् ।
ब्राजिल कतार विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएपछि मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका हुन् । शुक्रबार राति ब्राजिललाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४-२ ले हराएको थियो ।
६१ वर्षीय प्रशिक्षक २०१६ मा ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । डुंगाले छाडेपछि उनी ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । टिटेको नेतृत्वमा ब्राजिलले २०१९ मा कोपा अमेरिका जितेको थियो । उनको नेतृत्वमा ब्राजिलले ८१ खेल खेल्दा ६० खेल जितेको छ ।